५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

लेक पुगे भेडाका बथान

यहाँका भेडीगोठमा रहेका भेडाका बथान यतिबेला पुनः लेक पुगेका छन्। चिसो छल्न बेसी ल्याइएका घुम्ती भेडीगोठ गर्मी बढेसँगै पुनः चरन क्षेत्र लेक तथा उच्च हिमाली भेग पुगेका हुन्।

यतिबेला उच्च हिमाली भेगका चरन क्षेत्रमा गोठालाले आआफ्ना भेडाका बथान पुर्‍याएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा. रुपेश श्रेष्ठले बताए। उनका अनुसार जिल्लामा तीन सयभन्दा बढी घुम्ती भेंडीगोठ रहेको र अधिकांश भेंडीगोठ लेक तथा हिमाली भेगमा पुगिसकेका छन्।

सिउरुङ, घलेगाउँ, भुजुङ, सिङ्दी, घनपोखरा, इलमपोखरी, दूधपोखरी, पाचोक, बन्सार, फलेनी, ढोडेनी, ताघ्रिङ, भुलभुले लगायतका ग्रामीण क्षेत्रमा भेडीगोठ छन्।

विशेष गरी गुरुङ समुदायको पुख्र्यौली पेसा तथा चलनका रूपमा  भेडीगोठलाई हेरिन्छ। भेडीगोठ बर्सेनि छ महिना लेक र छ महिना बेंसीमा राख्ने गरिन्छ।

लमजुङका भेडीगोठ लमजुङ, मनाङ र कास्कीको सिमाना दूधपोखरी नजिकै थुर्जु तथा लमजुङ हिमालको काख लगायत ठाउँसम्म पुग्ने गरेको भेडीगोठालाको भनाइ छ। पसगाउँको भेडीगोठ लमजुङ र कास्कीको सिमाना डाँडा तिङ्जेमा पुग्ने गर्दछ। उत्तरी लमजुङको ताघ्रिङका बासिन्दाको भेडीगोठ लके थुर्जु नजिकै पुगेको छ। अधिकांश भेडीगोठ लेकतर्फ लागिसके पनि घलेगाउँका भेडीगोठ भने बेंसीमै रहेको स्थानीय दीर्घराज घलेले बताए।

उनका अनुसार घलेगाउँको दुई भेडीगोठ रहेका छन्। ती भेडीगोठ वैशाख लागेपछि लेक जाने भएका छन्। यहाँका भेँडीगोठ लमजुङ हिमालको काखमै रहेको ठूले लेकमा पुग्ने गर्दछन्। दोर्दी गाउँपालिकामा करिब आठ घुम्ती भेडीगोठ रहेका छन्। अधिकांश भेडीगोठ बेंसीबाट यतिबेला इलमपोखरी पुगिसकेको पालिकाको पशुपन्छी शाखाका कर्मचारी पवन रेग्मीले बताए।

बेंसीमा रहेको बेलामा भेडीगोठबाट निस्किएको मल खेतबारीमा प्रयोग गर्ने गरिन्छ भने भेडाको ऊन निकालेर विभिन्न राडीपाखी, बख्खु लगायत बनाउन प्रयोग हुने गर्छ। जिल्लाभर २३ हजार भेडाबाख्रा रहेका छन्। वार्षिक १० हजार किलो ऊन निस्कने र ऊनको प्रतिकिलो तीन सय रुपैयाँ मूल्य रहेको छ। त्यस्तै वार्षिक एक सय ६० मेट्रिक टन भेडाको मासु उत्पादन हुने गरेको बताइएको छ।

मासु बिक्रीबाट आठ करोड रुपैयाँ आम्दानी हुने गरेको उक्त केन्द्रका प्रमुख डा श्रेष्ठले बताए। उनका अनुसार वार्षिक घुम्ती भेडीगोठमा रहेका बाख्राको मासु एक सय २० मेट्रिक टन तथा घुम्ती र घरमा पालिएका बाख्रा गरी वार्षिक एक हजार दुई सय मेट्रिक टन मासु उत्पादन हुँदा ६० करोड रुपैयाँ आम्दानी हुने गरेको छ। जिल्लामा रहेका अधिकांश गुरुङ बस्तीका समुदायमा अझै पनि भेडाको ऊनबाट विभिन्न सामग्री बनाएर बिक्री वितरण गर्ने तथा प्रयोग गर्ने प्रचलन कायम छ। रासस

प्रकाशित: १० चैत्र २०७९ ०६:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App