२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

पोखराबाट चार गन्तव्यका हवाई उडान रोकिए

पोखरा–धनगढी उडानको पहिलो दिनमा सहभागि व्यवसायी। फाइल तस्बिरः नागरिक

पोहोर फागुन तेश्रो साता गण्डकी प्रदेशलाई सुदूरपश्चिमको धनगढीसम्म हवाइमार्गले जोड्नेगरी पोखरा–धनगढी रुटमा सिधा हवाई सेवा सुरु भयो। त्यो उडान थालनी भएसँगै त्यतिखेर गण्डकी प्रदेशको हवाई पहुँच विभिन्न चारवटा प्रदेशमा बिस्तार भएको थियो तर उडानले निरन्तरता पाउन सकेन।

धनगढीको उडान सुरु भएको केहीदिनमै पोखरालाई जनकपुरसम्म हवाईमाध्यम मार्फत जोड्ने गरी पोखरा–जनकपुर सिधा उडान पनि सुरु भएको थियो। पोखरा–जनकपुरको पहिलो उडानमा गण्डकी प्रदेशका तत्कालीन मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहितको टिम जनकपुर गएको थियो। मुख्यमन्त्रीसहितको यात्राको पोखरा–जनकपुर उडानले पनि सार्थकता दिलाएन, केही समयपछि उडान रोकियो।

अघिल्लो भदौमा पोखराको हवाई सेवा बिस्तार गर्दै पोखरा–सिमरा रुटमा उडान थालियो। पोखरा–सिमराको पहिलो उडानमा गण्डकी प्रदेशका तत्कालीन पर्यटनमन्त्री मणिभद्र शर्मासहितका पोखराका पर्यटन व्यवसायी सिमरा पुगेका थिए। भारतीय पर्यटक भिœयाउन सहज मानिएको पोखरा–सिमरा रुटको उडान पनि नियमित हुन सकेन।

केही दिनअघि पोखरालाई नेपालको पूर्वी सहरसम्म जोड्ने गरी पोखरा–भद्रपुर रुटमा पनि सिधा हवाई उडान सुरु भयो। तामझामका साथ सुरु भएको पहिलो उडानमा पोखरेली पर्यटन व्यवसायीसहित पोखरा महानगरका मेयर धनराज आचार्य पनि सहभागि थिए। निकै हल्लाखल्ला गरिएको पोखरा–भद्रपुरको उडान पनि एकसाता नबित्दै रोकिएको छ।

गौरीफन्टा हुँदै धनगढी र गड्डाचौकी नाका हुँदै महेन्द्रनगर भित्रिने भारतीय पर्यटकका लागि लक्षित पोखरा–धनगढी उडानबाट पर्याप्त पर्यटक पोखरा आउने अपेक्षासहित पोखरा–धनगढी उडान सुरु भएको थियो। त्यो अपेक्षा अनुसार पाहुुना नआएपछि उडान निरन्तर हुन सकेन। त्यस्तै जनकपुरबाट पनि भारतीय धार्मिक पर्यटक पोखरा भित्रिने अपेक्षा अनुसार पोखरा–जनकपुर उडान थालनी भए पनि त्यसले पनि गति लिएन।

वीरगञ्जको रक्सौल नाका हुँदै भित्रिएका भारतीय पर्यटकलाई सिमराबाट सिधै पोखरा उतार्नेगरी उडान थालनी भए पनि त्यसले पनि निरन्तरता पाएन। त्यसबाहेक नेपालको पूर्वी नाका काकड्भिट्टा हुँदै भित्रिएका पर्यटकलाई हवाई उडानमार्फत सिधै पोखरा ओराल्ने गरी पोखरा–भद्रपुर रुटमा उडान सुरु भयो तर त्यसले पनि गति लिन सकेन। उडान सुरु भएको एकसातामै रोकियो।

पोखरा र पर्यटन क्षेत्रले निकै आशा गरेको पोखराको विभिन्न सहरसम्मको सिधा हवाई उडानले निरन्तरता पाएन। पोखराले सिधै हवाई सञ्जाल बिस्तार गर्न चाहेको ती सहर भारतीय नाकासँग निकट छन्। ती नाकाबाट भारतीय पर्यटक पोखरा भित्र्याउन सकिने अपेक्षा पोखराका पर्यटन व्यवसायीको थियो।

आखिर किन रोकियो त ती सहरसम्मको पोखरालाई जोड्ने सिधा उडान? पोखरा पर्यटन परिषद्् (पिटिसी) का महासचिव सञ्जयकान्त सिग्देल भन्छन्, ‘व्यवसायीको चाहना अनुसार नै ती रुटमा उडान थालनी भएका हुन्। कोभिड संक्रमणबाट जोगिन यात्रुले हवाई यात्रालाई रोज्न थालेपछि पोखराले पनि विभिन्न सहरसम्म सिधा हवाई उडानको चाहना राखेको हो। त्यसबाहेक पोखरामा भारतीय पर्यटक भिœयाउने चाहना पनि ती उडानबाट राखिएको थियो तर त्यो अनुसार हुन सकेन।’ गण्डकी प्रदेश सरकारले पनि पोखरालाई अरू ६ वटै प्रदेशसम्म सिधा हवाई उडानमार्फत जोड्ने चाहना राखेको थियो। त्यसबाहेक पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल तयार हुँदै गर्दाको क्रममा उडान थालनी भए पनि ती उडानले सोचेअनुरूप प्रतिफल दिन नसकेको उनले बताए।

‘हाई प्रोफाइलका पाहुना लगेर विभिन्न रुटमा उडान थालिएको हो। ‘हामीले ती रुटलाई पर्यटकीय हिसाबले निकै ‘पोटेन्सियल’ मानेका हौं तर त्यो अनुसार हुन सकेन, उडानले निरन्तरता पाउन सकेन,’ सिग्देलले भने, ‘नेपालगञ्ज रुटबाट जस्तै उडान हुने अपेक्षा भद्रपुरसँग पनि थियो तर त्यो पनि हुन सकेन।’

पर्याप्त यात्रु नभएपछि उडान खुम्चिन बाध्य भएको उनले बताए। ‘पर्यटन व्यवसायीले आशा गरेका गन्तव्य हुन् तर त्यस अनुुसार हुन सकेन। लखनउ, दिल्लीका भारतीय पाहुना आउने अपेक्षा गरिएको धनगढीको रुटबाट पाहुना नै ल्याउन सकिएन,’ उनले भने, ‘भारतीय र बंगलादेशीलाई लक्षित गर्दै भद्रपुरबाट पाहुना आउने अपेक्षा राखिएको थियो तर त्यो पनि पूरा भएन।’ निजी क्षेत्रले जहाज चलाएकाले बजारीकरण गर्ने जिम्मा सम्बन्धित एयरलाइन्सको भए पनि पर्यटन व्यवसायी त्यसबाट पन्छिन नमिल्ने उनले बताए।

‘पर्यटन व्यवसायीको चाहना अनुसार उडान थालनी भएकाले उडानलाई नियमितता दिलाउने दायित्व हाम्रो पनि हो,’ नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकीका पूर्व अध्यक्षसमेत रहेका सिग्देलले भने, ‘यतिसम्मकी स्थानीय तह पनि यी रुटका हवाई उडानप्रति झन् जिम्मेवार बनुन् भनेर ती तहका प्रमुखलाई समेत सहभागी गराएका हौं। त्यस अनुरूप हुन सकेन।’

उनले पर्याप्त बजारीकरण नहुँदा उडानमा केही अप्ठेरो भएको बताए। त्यसबाहेक आर्थिक मन्दीका कारण पनि हिँडडुल कमजोर हुँदा उडानलाई निरन्तरता दिन नसकेको बताए। ‘नेपालको पर्यटन क्षेत्र नै कमजोर बनेकाले उडानमा समस्या भएको हो। यतिसम्मकी पोखराको पर्यटन क्षेत्रको बजारीकरण पनि रोकिएको छ। बजारीकरण जुन रूपमा हुनुपर्ने हो, त्यो हुन नसकेकै हो,’ सिग्देलले भने, ‘जिम्मेवार निकायले बजारीकरणमा ध्यान नदिँदा त्यसको असर उडानमा परेकै हो।’

हवाई क्षेत्रका पदाधिकारी पनि प्रदेश सरकार, पर्यटन व्यवसायी सक्रिय नहुँदा कतिपय रुटमा हवाई सेवा निरन्तर हुन नसकेको बताउँछन्। त्यसबाहेक रात्रिकालीन उडान हुँदा गन्तव्यमा पुगेका पाहुनालाई होटलसम्म आउजाउको सहज सुविधा नहुँदा पनि यात्रुले यात्रा गर्नबाट हच्किने गरेको उनीहरूको भनाइ छ।

‘अन्तर प्रदेश उडान भएपछि ती प्रदेशले पर्यटन प्रवर्द्धनमा ध्यान दिनुपर्ने हो तर त्यो हुन सकेको छैन,’ एक हवाई कम्पनीका उच्च पदाधिकारीले भने, ‘यात्रुका लागि दिइने सेवा सुविधामा पनि ध्यान नदिँदा समस्या हुने गर्छ। कतिपय रुटबाट आएर रातीको समयमा विमानस्थल ओर्लेका यात्रुलाई चाहेको गन्तव्यसम्म पुग्न स्थानीय तह र प्रदेश सरकारले यातायातदेखि होटलसम्मको सेवामा ध्यान दिनुपर्छ। यात्रुको सुरक्षा निश्चिन्तता हुनुपर्छ। त्यसमा प्रदेश सरकार चुकेका छन्।’

पोखराबाट भारतका विभिन्न सिमावर्ती सहरसम्म हवाई माध्यमले जोडेको भए पनि पोखराको पर्यटनलाई बढावा दिने गरी कार्यक्रम नहुुँदा पर्यटक आकर्षित नभएको ती पदाधिकारी बताउँछन्। ‘पर्यटन प्रवर्द्धनमा पनि सम्बन्धित निकायले ध्यान दिएकै छैन। पोखराको पर्यटन प्रवर्द्धन हुने गरी कार्यक्रम ल्याउनुपर्छ,’ उनले भने, ‘हवाई मार्गबाट आउने गरी पोखराले पर्यटनमा आकर्षण थप्नुपर्ने हो, त्यो हुन नसकेको हो।’

पोखराबाट विभिन्न रुटसम्म हवाई उडान बिस्तार गरेको बुद्ध एयरका प्रवक्ता दीपेन्द्र कर्णले अहिलेको लागि केही रुटमा उडान स्थगित मात्र भएको बताए। ‘अहिलेका लागि केही रुटमा उडान स्थगित गरेका हौं तर मनसुनपछि ती रुटमा दिउँसोको समयमा गर्ने गरी उडान बिस्तार गर्नेछौं,’ कर्णले भने, ‘मनसुनपछि भद्रपुरसहितका रुटमा उडान सुचारु हुनेछन्। जहाज थपेर दिउँसोको समयमा ती रुटमा उडान गर्ने योजना हो। अहिलेका लागि केही अप्ठेरोका कारण उडान रोकेका हौं।’

हवाई सेवाको नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) पोखराकी प्रवक्ता जशोदा सुवेदी पर्यटन प्रवर्द्धनात्मक कार्यक्रम हुन नसक्दा यात्रु अभाव भएर उडानले निरन्तरता नपाएको बताउँछिन्। पर्यटन प्रवद्र्धनका त्यस्ता कार्यक्रममा स्थानीय, प्रदेश र संघीय सरकारको भूमिका महत्वपूर्ण हुने उनले बताइन।

‘हवाई कनेक्टिभिटी बढाउने भनेर गण्डकी प्रदेश सरकारले पनि चासो राखेको थियो, पोखरालाई सबै प्रदेशमा जोड्ने भनिएको पनि हो,’ उनले भनिन्, ‘पर्यटकीय सहर पोखरालाई हव बनाउने उद्देश्य राम्रो राखिएको हो तर त्यसका लागि पहल कत्तिको भयो भन्ने पनि उत्तिकै महत्वपूर्ण हुन्छ।’ अध्ययन अनुसन्धान नगरी उडान मात्र थाल्दा यो अवस्था आएको हुनसक्ने उनले बताइन। ‘प्रवद्र्धनात्मक गतिविधि गर्दा कमजोर भयो की भन्ने हो। क्यानले त उडान अनुमति दिने हो, हामीले सहजीकरण मात्र गर्ने हो, सरकारले पनि त्यसै अनुसार चासो दिनुपर्छ,’ उनले भनिन्।

प्रकाशित: ८ चैत्र २०७९ ०२:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App