भरतपुर महानगरपालिकामा मात्रै ३ सयभन्दा बढी अटिजम भएका बालबालिका रहेको पाइएको छ। अटिजम केयर सेन्टर चितवनकी अध्यक्ष निर्मला डल्लाकोटीका अनुसार, ४४ जना बच्चा जन्मिदा १ जना अटिजम भएको बालबालिका जन्मने गरेको छन्।
आज भरतपुरमा भएको अपाङ्गता समावेशी विकास समावेशी शिक्षा परियोजनाको सञ्चारकर्मीसंग अन्तरक्रिया कार्यक्रममा डल्लाकोटीले भनिन्, ‘१० वर्ष अगाडि १५१ जना बच्चा जन्मिदा १ जनामा अटिजम हुन्छ भन्ने तथ्यांक विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको थियो। अहिले ४४ जना जन्मिदा १ जनालाई हुन्छ भन्ने छ।’
साना बालबालिकामा अटिजम भएको थाहा नहुँदा अभिभावकलाई समस्या हुने गरेको छ। सानै उमेरमा पत्ता लगाउन सके उनीहरुको आनिवानीमा सुधार गर्न सकिने डल्लाकोटीले जानकारी दिइन्। अटिजम केयर चितवन सोसाइटीले भरतपुरमा अटिजम स्कुल समेत स्थापना गरिएको छ। यहाँ ३१ जना अटिजम भएका विद्यार्थी छन्।
अटिजम केयर चितवन सोसाइटी र राष्ट्रिय बहिरा महासंघले समावेशी शिक्षा परियोजना मार्फत समावेशी शिक्षाका लागि प्रणाली तथा सेवाको सुदृढीकरण समेत गर्दै आएको छ। अपाङ्गता भएका एवम् थप सिकाई आवश्यकता भएका बालबालिकाको गुणस्तरीय शिक्षामा पहुँच अभिबृद्धि गर्नका परियोजनाले काम गरिरहेको छ।
चितवनको भरतपुर र कालिका नगरपालिमा शिक्षा एकाइ स्थापना गरेर अपाङ्गता भएका व्यक्तिहरुको शिक्षाका लागि काम काम गरिरहेको राष्ट्रिय बहिरा महासंघकी सर्मिला तामाङ्गले जानकारी दिइन्। उनका अनुसार अझै चितवनमा अपाङ्गता भएका बालबालिकाहरु विद्यालय बाहिर रहेका छन्। भरतपुर र कालिका नगरपालिकामा मात्रै १ सय ३९ जना बालबालिका विद्यालय बाहिर छन्। भरतपुरमा २४० र कालिकामा ४९ जना अपाङ्गता भएका बालबालिका रहेको राष्ट्रिय बहिरा महासंघको तथ्याङ्कमा उल्लेख छ।
प्रकाशित: ५ चैत्र २०७९ १९:३२ आइतबार