१० जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

जिल्ला अदालतको फैसला: इलाम भ्युटावरको पिल्लर व्यक्तिको जग्गामा, फूलबारी र बाटो पनि व्यक्तिकै

कब्जा जग्गा भ्युटावर ‘पाताल’ भएपछि व्यक्तिको हुने

इलाम सदरमुकामको भ्युटावर। तस्बिर : भीम/नागरिक

कसैले नक्सापास नगराइ भवन वा संरचना बनाए प्रश्न उठाइहाल्ने इलाम नगरपालिका आफूले चाहिँ व्यक्तिको जग्गा हडपेर बिना नक्सापास भ्युटावर नै बनाएको खुलेको छ।

इलाम सदरमुकामस्थित पानी ट्यांकी छेउमा नगरपालिकाले बनाएको भ्युटावर व्यक्तिको जग्गासमेत कब्जा गरी निर्माण भएको इलाम जिल्ला अदालतले ठहर गरेको हो।

अदालतले भ्युटावरको एक भागले चर्चेको जग्गा भ्युटावर ‘पाताल’ भएपछि व्यक्तिले नै चलन गर्न पाउने फैसलासमेत गरेको छ। जिल्ला न्यायाधीश दीपककुमार दाहालको इजलाशले भ्युटावर वरपरको फूलबारीसहितको जग्गा नगरपालिकाले कब्जा गरेकाले त्यो पनि व्यक्तिकै भएको ठहर गरेको छ। नगरपालिकाले प्रवेशद्वारादेखि भ्युटावर पुग्ने बाटो बनाएको जग्गासमेत व्यक्तिको नाममा परेपछि प्रवेशद्वारबाट भ्युटावर पुग्न समस्या हुने देखिएको छ।

स्थानीय प्रकाश थापाले आफ्नो नाममा रहेको कित्ता नम्बर १६९० को १३ आना १ दाम जग्गा हडपेर भ्युटावर बनाइएको भन्दै इलाम नगरपालिका, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय र जलस्रोत मन्त्रालयसमेतलाई विपक्षी बनाइ २०७८ वैशाख १७ मा मुद्दा दायर गरेका थिए। यहाँको जमिनको भोगाधिकार नगरपालिकालाई दिइसकेकाले अदालतले विपक्षी खानेपानी कार्यालय र मन्त्रालयलाई यसमा ‘दोषारोपण गर्न नमिल्ने’ फैसला गरेको छ।

थापाले भ्युटावर बनेको जमिनको आधाभन्दा बढी भाग आफ्नो रहेको दाबी गरेका थिए। नापजाँच गर्दा थापाले दाबी गरेको जमिनमा भ्युटावरको दक्षिण–पूर्वमा रहेको पिल्लरको भाग र पक्की भान्साघरको भागसमेत परेको फैसलामा उल्लेख छ। निर्माणाधीन अवस्थामा नगरपालिकाकै अमिनले समेत भ्युटावर बन्दैगरेको केही भू–भाग व्यक्तिकै नाममा रहेको प्रतिवेदन नगरलाई दिएपनि निर्माण नरोकिएको वादीको दाबी थियो।

‘प्रतिवादी नगरपालिकाले वादीको कित्ता नम्बर १६९० को न.नं. २ को १३ आना १ दाम जग्गा खिचोला गरेको देखिएपनि बनेको भ्युटावरलगायतको पक्की भौतिक संरचनाउपर कानुनले तोकेको हदम्यादभित्र नालिस गरेको नदेखिँदा भौतिक संरचनाउपर वादीको दाबी अहिले कामयम हुने देखिएन,’ फैसलामा उल्लेख छ, ‘भौतिक संरचनाबाहेकको जग्गा खिचोला भएको थाहा पाएको मितिबाटै हदम्याद कायम हुने भएबाट भ्युटावरसमेतको संरचनाबाहेकको अर्थात् भौतिक संरचना (पक्की) नभएको जग्गा इलाम नगरपालिकाले खिचोला गरेको देखिएको हुँदा न.नं.२ को भौतिक संरचनाले चर्चेकोबाहेकको जग्गा वादीले प्रतिवादीको खिचोला मेटाइ चलन पाउने ठहर्छ। भौतिक संरचनाको हकमा वादीको कित्तामा परेको भाग पाताल भएका बखत वादीकै भोगाधिकार कायम भइ चलन पाउने ठहर्छ।’

खानेपानी डिभिजनले इलाम बजारका लागि निर्मित खानेपानी आयोजना सम्पन्न गरेपछि २०५५ असोज २२ मा ट्यांकीसमेत रहेको यो क्षेत्रको भोगाधिकार इलाम नगरपालिकालाई दिने सम्झौता भएको थियो। थापाकै बुबाले २०३४ सालअघि नै खानेपानी ट्यांकीका लागि यो क्षेत्रमा जग्गा दिएको र ०५२ सालमा पास गरिदिएको पनि नगरले जिकिर गरेको थियो।

नगरपालिकाले भ्युटावर बनाउँदा भवन निर्माणसम्बन्धी कानुनी व्यवस्था र मापदण्ड आफूले पालना गर्‍यो कि गरेन भन्ने प्रश्न पनि यो मुद्धामा रहेपछि अदालतले नगरसँग नक्सापाससम्बन्धी कागज मागेको थियो। तर, कार्यालय भवन पुननिर्माण गर्दा कागजात हराएको जबाफ नगरले दिएपछि अदालतले भ्युटावरको नक्सापाससम्बन्धी कागजपत्र अवलोकन गर्न नपाएको फैसलामा उल्लेख छ।

‘जे भएपनि स्थानीय सरकारको उपमा पाएको नगरपालिकाले नै व्यक्तिविशेषको जग्गा कानुनी आधारबिना नै जथाभावी कब्जा गर्दैजाने हो भने नगरपालिकाको कार्यशैलीप्रति सर्वसाधारणले प्रश्न उठाउने अवस्था आउँछ। यस्तो प्रश्न उठाउने परिस्थिति खडा गरिदिनु स्थानीय सरकारको लागि शोभनीय हुन सक्दैन,’ फैसलामा उल्लेख छ, ‘वस्तुत: आफ्नो क्षेत्रमा पर्ने जुनसुकै भौतिक संरचना तथा भवनको नक्सापास गर्ने, पास गर्न लगाउने र नक्साअनुरूप नबनेका संरचना भत्काउने अधिकार पाएको निकाय आफूले अर्काको जग्गामा संरचना बनाएको भन्ने थाहा पाउँदापाउँदै पनि ती संरचना भत्काइ अर्काको जग्गा खाली गरिदिनुपर्नेमा सो नगरी उल्टै वादीको जग्गामा खिचोला नगरेको भन्ने जिकिर लिइ हदम्यादको अत्तो थाप्नु शोभनीय हुन सक्दैन।’

इलाम नगरपालिकाले आर्थिक वर्ष २०६६/०६७ सालमा निर्माण थालेको भ्युटावर २०७१ वैशाख २५ मा सम्पन्न भइ उद्घाटन गरिएको थियो। भ्युटावर निर्माणमा पटक–पटक गरी ७१ लाख रुपैयाँ लगानी नभएको नगरले जनाएको छ। बाहिरबाटै बिम चर्केको देखिन थालिसकेको भ्युटावर अदालतको फैसलापछि नगरले मर्मतसमेत गर्न नपाउने अवस्था आएको छ।

प्रकाशित: ३ चैत्र २०७९ ०९:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App