नेपालबाट भारततर्फ अवैध रुपमा मदिराको तस्करी बढ्न थालेकाे छ।
भारतको बिहारमा मदिराको उत्पादन, बिक्री वितरण, ओसारपसार तथा सेवन निषेध रहेको भएता पनि रौतहट र सर्लाहीबाट भारततर्फ अवैध रुपमा मदिराको तस्करी भइरहेको पाइएको हो।
भारतीय सिमासुरक्षा बलको २० औ बटालिएनले रौतहटको सदरमुकाम गौरको पूर्व क्षेत्रबाट बिहीबार अवैध रुपमा मदिरा लैजान लागेको अवस्थामा भारतको उत्तर प्रदेश शाहपुर थाना क्षेत्रस्थित पादरी बजारका गुडुकुमार कनोजियालाई नियन्त्रणमा अवैध मदिरासहित नियन्त्रणमा लिएको छ। कनौजियाको साथबाट नेपाली मदिराको पाउच बरामद भएको हो।
भारतको बैरगनिया थानाध्यक्ष रणवीरकुमार झाका अनुसार नेपाल भारत सिमानामा पर्ने बाग्मती सीमा चौकीको टिमले नेपालबाट अवैध मदिरा बोकेर भारत प्रवेश गरेका कनोजियालाइ नियन्त्रणमा लिइएको हो। अर्का कारेबारी भने फरार भएका छन्।
नेपालबाट लगेको ६५ बोतल नेपाली मदिरा सोफी र कस्तुरी भारतीय सुरक्षाकर्मीले फेला पारेको छ। भारतीय सुरक्षा अधिकारीका अनुसार नेपालबाट दिनहुँ जसो विभिन्न नाकाबाट मदिरा ओसारपसार गर्ने गिरोह सक्रिय छ।
यसमा नेपाल भारत दुवै देशका तस्कर संलग्न रहेको भारतीय सुरक्षाकर्मीको भनाइ छ। नेपालका सुरक्षाकर्मीले नियन्त्रणमा लिने र तस्करी रोक्न चासो नदेखाएको देख्दा अचम्ममा परेको भारतीय सुरक्षाकर्मीहरू बताउँछन्।
गत शुक्रवार पनि भारतको बैरगनिया प्रहरीले नेपालबाट मोटरसाइकलमा १२० बोतल अवैध मदिरा लैजाँदै गरेको अवस्थामा नन्दबारा गाउँका धिरजकुमार, पचटकी यदुकाहाका अजित सिंहलाई नियन्त्रणमा लिएको थियो। नेपालबाट निरन्तर मदिरा तस्करी हुने गरेको स्थानीयहरु पनि बताउँदै आएका छन्।
पछिल्लो समय नेपाली सौफी, गोल\डेन ओक, कस्तुरी लगायतका मदिरा पारी लैजाने गरिएको छ। बिहारमा प्रतिबन्धका कारण सिमाक्षेत्रका बजारहरुमा नेपाली रक्सीको डिमाण्ड बढेको पाइएको छ। जिल्लाको लक्ष्मिपुर बेलबिछवा, मठिया नाकाबाट प्राय रातीको समयमा मोटरसाईकलमा मदिरा तस्करी हुने गरेको छ। पारीबाट आउने भरियालाई नेपालका तस्करले मदिरा बोकाएर पठाउने गरेको पाइएको छ।
केही समय पहिले ईशनाथ नगरपालिका ४ मनमोहन सहिद गेटस्थित नेपाल भारतको सीमा नजिक दशगजा क्षेत्रमा शङ्कास्पद अवस्थामा भारत जाँदै गरेको बिआर ०६ जिसि ४४७१ नम्बरको सेतो रंगको बलेरो पिक अप जिपमा प्रहरीले खानतलासी गर्दा सेतो प्लाष्टिको ४२ वटा बोरामा २ सय १० कार्टुन सोफी रक्सी फेला परेको थियो। त्यसको दुई दिनपछि जेएच १० बिसि ३४६० नम्बरको अर्को भारतीय बलेरो गाडिबाट ठुलो परिणामको रक्सी बरामद गरेको थियो। प्रहरीले जिपबाट ७ हजार ५ सय थान ३ सय एमएलको २ सय ५० काटुन कस्तुरी रक्सी र २ हजार ४ सय थान ३ सय एमएलको ८० कार्टुन सोफी रक्सी बरामद गरेको जनाएको थियो।
रौतहट र सर्लाहीबाट तस्करी भएर बिहारको सीतामढी र पूर्वी चम्पारण जिल्लाका विभिन्न भागसम्म पुग्ने गरेको स्थानीयको भनाइ छ।
प्रकाशित: २ चैत्र २०७९ १४:१० बिहीबार





