१६ असार २०८१ आइतबार
image/svg+xml
समाज

वडावासीले बनाए फोहरमुक्त सडक

काठमाडौं- सडकको छेउछाउ फोहरमैला देखिँदैन, सडक सफा छ, फोहर संकलन गर्न राता र हरिया बाकस पोलमा झुन्ड्याइएका छन्। त्यतिमात्रै होइन, होटल र पसलैपिच्छे फोहरमैला व्यवस्थापन गर्न डस्टबिन राखिएका छन्। यस्तो विशेषता भएको सडक हो, कमलपोखरी-गौशाला सडक।

केही वर्ष अघिसम्म फोहरमैला थुप्रने सडकको सरसफाइ अरु कसैले गरेको होइन। सोही क्षेत्रमा बसोबास गर्ने काठमाडौं महानगरपालिका वडा नं ३५, ७ र ९ का स्थानीय अथक प्रयासले नै कमलपोखरी–गौशाला सडक फोहरमुक्त सडक घोषणा गर्न सफल भएका हुन्।

सडकमा थुपारिने फोहरमैला व्यवस्थापन गर्न सबै स्थानीय मिलेकाले मात्र सम्भव भएको रुद्रमती सरोकार समितिका अध्यक्ष वासुदेव मरासिनीले बताए। 'सडकमा जथाभावी मिल्काइएको फोहरमैलाले वडावासीकै बेइज्जत भइरहेको थियो। त्यसैले सरसफाइ अभियानमा जुटेका हौं,' उनले भने, 'प्रयास गरे कुनै कुरा असम्भव हुँदैन।' २०७२ सालको भूकम्पपछि नै सरसरफाइ अभियान सुरुवात गरेको उनले बताए। 'पहिला फोहरमैला सोझै सडकमा ल्याएर फाल्थे। अचेल जभाभावी फाल्न डराउँछन्,' उनले भने  'व्यवहारमा परिर्वतन ल्याउन धेरै समय लाग्दो रहेछ।'

सम्पूर्ण वडावासीको संयुक्त पहलमा फोहरमुक्त सडक घोषणा गर्न सम्भव भएको वडा नागरिक मञ्चका संयोजक दलबहादुर कार्कीले बताए। 'सडकमा फोहरमैला नफाल्न धेरै सम्झाइबुझाइ गर्‍यौं। सुरुमा धेरैले बेवास्ता गरे,' उनले भने, 'फोहरमुक्त सडक घोषणा गरेपछि अहिले धेरै सुधार आएको छ।' सडकमा फोहरमैला फ्याँक्नेको अनुगमन गर्न दुई जना कर्मचारी नै खटाएको उनले बताएका छन्। 'सडकमा हिँडने बटुवालाई फोहर नफाल्न अनुरोध गर्छौं,' उनले भने, 'स्थानीयले फोहरमैला फ्याँके ठाउँको ठाउँमा नै कारबाही गरिन्छ।'

समितिले कमलपोखरी–गौशाला सडक वरपरका स्थानीय र व्यापारीलाई आफ्ना पसल तथा घर अगाडि फोहर नगर्ने प्रतिबद्धतापत्रमा समेत हस्ताक्षर गराएको जनाएको छ। रुद्रमती सरोकार समितिले सडकमा फोहरमैला फ्याँक्नेलाई २ हजारदेखि २५ हजार रुपैयाँसम्म जरिवाना गर्ने जनाएको छ।

हालसम्म कारबाहीमा परेका ७ जनाबाट १० हजार रुपैयाँ संकलन भएको छ। जरिवाना रकम सरसरफाइमा आवश्यक सामग्री खरिदमा खर्च गरिने समितिले जनाएको छ।

वडा नं ३३ की सामाजिक परिचालिका मनिषा विमलीले सरसफाइमा स्थानीय जनसहभागिता बढेको बताइन्। 'पहिला जथाभावी फोहरमैला फ्याँक्नेहरू अहिले कुचो लिएर सडक सरसफाइमा अग्रसर हुन्छन्,' उनले भनिन्, 'सबै मिलेर अघि बढे केही पनि असम्भव नहुने रहेछ।' शनिबार बिहानै वडावासी कुचो बोकेर सरसफाइमा उत्रने उनले बताइन्। स्वास्थ्यमन्त्री गगन थापाको उपस्थितिमा कमलपोखरी–गौशाला सडकलाई असोज ८ गते फोहरमुक्त सडक घोषणा गरिएको हो।

प्रकाशित: १२ मंसिर २०७३ ०३:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App