७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

बौद्धनाथ स्तुपको नयाँ अवतार

स्थानीय बलले पुनर्निर्मित बौद्ध स्तुप। तस्बिर : दिनेश गोले

काठमाडौं- काम गरेर देखाउनेलाई सहयोगीको खाँचो नहुँदो रहेछ। एकपछि अर्को हात थपिँदै जाने रहेछ। आवश्यक मात्र होइन, बढी नै सहयोग आउने रहेछ। यसको पछिल्लो प्रमाण हो, पुरातात्विक विश्व सम्पदा बौद्धनाथ महाचैत्य (स्तुप) को पुनर्निर्माण।

२०७२ वैशाख १२ को महाभूकम्पबाट क्षति पुगेको बौद्धनाथको पुनर्निर्माण सम्पन्न भइसकेको छ। यसको पुनर्निर्माण न सरकारले गरेको हो, न कुनै विदेशी दाताले। हातमा हात जोडिएपछि उठेको बौद्धनाथ भूकम्पबाट क्षति पुगेका सम्पदामध्ये पुनर्निर्माण सम्पन्न हुने पहिलो सम्पदा पनि हो। भूकम्पबाट क्षतिग्रस्त बाँकी ६ विश्व सम्पदा (विश्व सम्पदा सूचीमा सूचीकृत) को भने पुनर्निर्माण सुरु नै भएको छैन।

सरकार आफूले कामै नगरी दाता गुहारिरहँदा पुनर्निर्माण थालिएको थियो बौद्धनाथको। पुनर्निर्माण थालिँदा बौद्धनाथ क्षेत्र विकास कोषसँग तीन करोड रुपैयाँ थियो। सम्पन्न भइसक्दा ३० करोड रुपैयाँ संकलन भयो। २३ करोड (३१ किलो सुनसहित) खर्च भयो भने अझै सात करोड बचत छ। …हामीले कसैलाई सहयोग गर्नुस् पनि भनेनौं, सहयोग गर्न आह्वान पनि गरेनौं,' समितिका अध्यक्ष सम्पूर्णकुमार लामाले शनिबार नागरिकसँग भने, 'काम थालेपछि स्वेच्छाले सहयोगी हात थपिँदै गए।'

२०७२ जेठ १० मा पुनर्निर्माण थालिएको बौद्धनाथको मंसिर ७ मा देवातरण दिवसको साइत उद्घाटन हुँदैछ। बौद्धनाथ स्तुप पाँचौं शताब्दीमा निर्माण भएको मानिन्छ।

भूकम्पले बौद्धनाथको डोमदेखि त्रयोदश भुवन (तेह्रवटा खुड्किला) सम्मका भाग, मण्डला र छ्योर्तेनमा क्षति पुराएको थियो। पुनर्निर्माणमा पुरातŒव विभागकै निगरानी र मापदण्डअनुसार १८ करोड ४५ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको थियो। अनुमानित (२७ किलो) भन्दा बढी सुन लागेपछि लागत बढेर २३ करोड हुन गएको समितिले जनायो।

बौद्धनाथको मोलम्बामा ३१ किलो सुन लाग्यो। आवश्यक सुनमध्ये भारतका हिमाञ्चल प्रदेशका ताइसितुपा रिम्पोछे एक्लैले २६ किलो सुन र एक करोड नगद दान दिएका थिए। पाँच किलो सुन स्थानीयबाट उठेको थियो। त्यसैगरी चिनियाँ बुद्धिस्ट एसोसिएसनबाट ३ करोड, एचएनए गु्रप चिनियाँबाट ३ करोड र स्थानीय संघसंस्था तथा व्यक्तिबाट २ करोड संकलन भएको थियो। निर्माणपछि बचत रकमबाट धर्मशाला र बौद्ध संग्रहालयका लागि जग्गा खरिद गर्ने समितिको योजना छ।

शुद्धीकरण पूजा सुरु

स्तुप तथा गुम्बा निर्माण गर्दा भएका अशुद्ध गतिविधि (कुल्चने लगायत) को शुद्धीकरणका लागि प्राण प्रतिष्ठा पूजा गर्ने गरिन्छ। बौद्धनाथ स्तुपको पुनर्निर्माण सम्पन्नपछि पनि बौद्ध धर्म विधिअनुसार शनिबारबाट प्राण पूजा थालिएको छ।

बौद्धनाथ पुनर्निर्माणका क्रममा भएका अशुद्ध गतिविधि सुद्धयाउन पूजा थालिएको पूजा व्यवस्थापन समितिका प्रवक्ता आचार्य नुर्बु शेर्पाले जानकारी दिए।

बौद्ध धर्मको महायान सम्प्रदायअन्तर्गतका ञिङमा, काग्यु, शाक्य र गेलग चारवटै सम्प्रदायले बौद्धनाथ स्तुपको चारै सुरुमा छुट्टाछुट्टै पूजा थालेका छन्। बिहान ८ बजे सुरु हुने पूजा बेलुका ५ बजेसम्म गरिन्छ। पूजामा लामा गुरुले मन्त्र पढ्ेर प्रार्थना गरिन्छ। पूजाका लागि चारवटै सम्प्रदायका रिम्पोछे तथा सात सयभन्दा बढी लामा सहभागी रहेको प्रवक्ता शेर्पाले बताए। पूजा तीन दिनसम्म चल्छ।

पूजा सकिएपछि पुनर्निर्मित बौद्धनाथ स्तुपको उद्घाटन ७ गते गर्ने तयारी छ। प्रधानमन्त्री पुष्पाकमल दाहाल, चारवटै सम्प्रदायका धर्मगुरु, कूटनीतिक व्यक्तिलगायतले बौद्धनाथको परिक्रमा गरी उद्घाटन गर्ने तयारी भइरहेको समितिका अध्यक्ष लामाले जानकारी दिए।

बौद्धनाथको इतिहास

३६ मिटर अग्लो बौद्धनाथ स्तुप दक्षिण एसियाकै ठूला स्तुपमध्ये एक हो। यसको निर्माण पाँचौं शताब्दीमा भएको मानिन्छ। डेनियल राइटद्वारा सम्पादित उन्नाईसौं शताब्दीको एक वंशावलीअनुसार बौद्धनाथ महाचैत्यको स्थापना राजा मानदेव प्रथम (सन् ४६४–५०५) ले गरेका हुन्। बौद्धमार्गीले बौद्धनाथ पनि स्वयम्भूजस्तै आफंै उत्पन्न भएकोे विश्वास राख्छन्। काठमाडौं उपत्यकाका विश्व सम्पदा सूचीमा परेका स्थलको मूल्यांकन युनेस्कोले नोभेम्भर सन् १९९३ मा गरेको थियो।

प्रकाशित: ४ मंसिर २०७३ ०१:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App