३ असार २०८१ सोमबार
image/svg+xml
समाज

वन फडानी गरेको आरोपमा वडाध्यक्ष चौधरी नियन्त्रणमा

क्याप्शन

कोल्हबी नगरपालिका वडा नम्बर ५ का अध्यक्षलाई शनिबार डिभिजन वन कार्यालय सिमरा बाराले नियन्त्रणमा लिएको छ। वन फाँडेको आरोपमा वडाध्यक्ष नन्दकिशोर चौधरीलाई वन कार्यालय सिमरा बाराले अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो।

डिभिजन वन कार्यालय सिमराका प्रमुख विनोद सिंहले वडाध्यक्ष चौधरीको नेतृत्वमा साढे सात बिघा क्षेत्रफलमा लगाइएको आठ हजार पाँच सयभन्दा बढी रूख काटिएको आरोप लगाएका छन्।

आर्थिक वर्ष ०७७/०७८ मा कोल्हवी नगरपालिका वडा ५ स्थित राष्ट्रिय वनमा रहेको शिव मन्दिरआसपासका पाँच हेक्टर क्षेत्रफलमा रोपिएका विभिन्न जातका बिरुवा जग्गा अतिक्रमण गर्ने उद्देश्यले चौधरीले नै काट्न लगाएको सिंहले बताए।

फडानी गरिएका रूखहरूमा आँप, कटहर, मसाला, टिकलगायतका आठ हजार पाँच सय ५० वटा बिरुवामध्ये एउटालाई पनि बाँकी नराखी कसैको टुपो र कसैको जराबाटै कटान गरिएको सिंहले बताए।

वन फडानी गरेको स्थानमा अनुसन्धान गर्न टोलीसँगै पुगेका बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले वडाध्यक्ष चौधरीले नै वन फडानी गराएको विभिन्न माध्यमबाट जानकारी भए पनि शनिबारको छलफलमा उनले वन फडानी गरिएको जग्गा स्थानीयलाई वितरण गर्नका लागि भूमि आयोगसँग विभिन्न व्यक्तिका नाममा नाप्न लगाएको जानकारी गराएपछि घटनामा चौधरीको संलग्नता रहेको पुष्टि भएको बताए।

वडाध्यक्ष चौधरीले भूमि आयोगसँग स्थानीयका नाममा जग्गा नाप्न लगाएको बताएपछि थप अनुसन्धानका लागि वन टोलीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रजिअ सापकोटाले बताए। वन फडानी गरिएको घटनाको अनुसन्धान गर्नका लागि मधेस प्रदेशका प्रदेश वन निर्देशक जगरनाथ जयसवाल, नेपाली सेना, नेपाल र सशस्त्र प्रहरी र नगर प्रमुख सहितको टोली घटनास्थल पुगेको थियो। यसअघि पनि त्यस ठाउँमा घरटहरा बनाउनका लागि बोटबिरुवा कटान भएको थियो। धेरै प्रयासपछि स्थानीयले घर टहरा बनाएर अतिक्रमण गरेका वनको पाँच हेक्टर क्षेक्रफलमा पुनः वृक्षरोपण गरिएको उनले बताए। 

प्रकाशित: २८ फाल्गुन २०७९ ०१:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App