२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

पुस्तकालय बनेको संर्यमढी पाटी

भक्तपुर- भक्तपुर नगरपालिका कार्यालयले जनाए अनुसार भक्तपुरमा २ सय ५६ सार्वजनिक पाटी छन्। ती पाटीमध्ये एउटा पाटी भने नमूना बनेको छ– भक्तपुर नगरपालिका–१ सूर्यमढीस्थित पाटी, जुन ज्ञानको केन्द्रमा रुपान्तरण भएको छ।

धेरै सार्वजनिक पाटी बाह्रमासेका अखडा बनेका बेला सूर्यमढीको पाटी भने पुस्तकालयमा रुपान्तर भएको हो। यहाँ १ हजार ७ सयभन्दा बढी पुस्तक उपलब्ध छन्। नेपाली भाषाका मात्र नभए देशीविदेशी पुस्तक समेत पुस्तकालयमा छन्। साहित्यिक र राजनीतिसम्बन्धी पुस्तक त छन् नै विद्यार्थीलाई अध्ययनमा सहज होस् भनेर यहाँ विभिन्न संकायका १२ कक्षादेखि स्नातकोत्तर तहसम्मका पुस्तक प्रशस्त छन्।

पुस्तकालयका उपाध्यक्ष रविन्द्र कुसीका अनुसार ब्रिटिश काउन्सिलले उपलब्ध गराएका पुस्तकसँगै अन्य अनेकौं विधाका पुस्तक पुस्तकालयमा छन्। यी पुस्तकमध्ये कतिपय पुस्तकालय आफैंले किनेको हो भने कतिपय ब्रिटिश काउन्सिल, गैरसरकारी संस्था रुम टु रिड, प्रकाशन गृह र व्यक्तिले उपहारका रुपमा प्रदान गरेका हुन्। पुस्तकालयका लागि पुस्तक खरिद गर्न विभिन्न कार्यक्रम गरेको उनी स्मरण गर्छन्।

पाटीमा बार लगाएर पुस्तकालयको स्वरुप दिइएको छ। पाटीको आधा भाग पुस्तकालयका रुपमा प्रयोग गरिएको छ भने बाँकी सार्वजनिक प्रयोगमा। यहाँ अधिकांश दैनिक अखबार, साप्ताहिक, पाक्षिक र मासिकलगायत सबै पत्रपत्रिका आउने भएकाले सर्वसाधारणले दैनिक बिहान पत्रपत्रिका निःशुल्क पढ्न सक्छन्।

पुस्तकालयका उपाध्यक्ष कुसी मुख्य बजार छेउको पुस्तकालयमा ठाउँ अभाव भएकाले नजिकै रहेको नारायण मन्दिरको सिंगो द्योछें (देवता घर)मा पनि पुस्तकालय विस्तार गरिएको सुनाउँछन्। 'पाटी बाहिर पत्रपत्रिका पढ्ने र भित्र पुस्तकालयमा पुस्तक राख्ने प्रबन्ध मिलाएका छौं,' उपाध्यक्ष कुसीले भने।

पुस्तकालय भक्तपुरकै पुरानोमध्ये एक हो। यो पुस्तकालय २०३८ सालमा स्थानीय समाजसेवी बुद्धिकुमार गोसाईको अगुवाइमा स्थापना भएको थियो। यसबीच पुस्तकालयका अध्यक्ष किरण प्रजापतिको २०७२ सालको भूकम्पमा मृत्यु भएपछि उपाध्यक्ष कुसीले पुस्तकालयको नेतृत्व गरिरहेका छन्। भूकम्पमा क्षतिग्रस्त पाटीको अवस्था पनि नाजुक छ। पानी चुहिने भएकाले प्लास्टिकको पालले छोपिएको छ। पाटीसँगै जोडिएको घर ढलेर पाटीमा लाग्दा पाटी क्षतिग्रस्त भएको थियो।

पुस्तकालयका सदस्य इन्जिनियर विकल कोजूले पहिले किनेर पुस्तक पढ्न नसक्ने बेला पुस्तकालयले अध्ययन अध्यापनमा पुर्‍याएको योगदान अविस्मरणीय रहेको सुनाउँछन्। 'म इन्जिनियर अध्ययन गर्न यो पुस्तकालयका पुस्तकले धेरै सघाएको थियो,' उनी सम्झन्छन्, 'मैले आइएस्सी पढ्दा मसँग पुस्तक किनेर पढन सक्ने स्थिति थिएन। यो पुस्तकालयमा उपलब्ध पुस्तक पढेर म अहिले यहाँसम्म पुगेँ।'

पुस्तकालयका पूर्व अध्यक्ष प्रेम प्रजापति भक्तपुरकै पुरानो मध्येको यो पुस्तकालयले उहीले नगरभरिका विद्यार्थीलाई उपयोगी भएको स्मरण गर्छन्। 'यसले ज्ञान मात्र बाँडेन, राजनीतिक स्वतन्त्रता नभएका बेलामा राजनीतिक चेतना जगाउनेलगायत विभिन्न चेतनामूलक, सामाजिक काम गर्‍यो र अहिले पनि गरिरहेको छ, उनले भने।

प्रकाशित: २९ कार्तिक २०७३ ०२:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App