१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

सकिँदै त्रियुगा बाँधको पहिलो चरणको काम

उदयपुरवासीका लागि वर्षौं ‘कहर’ साबित हुँदै आएको त्रियुगा नदी नियन्त्रणको पहिलो चरणको काम सकिँदै छ। अलग–अलग दुई भागमा लगाइएको ठेक्काअनुसार हालसम्म ८४ प्रतिशत काम सम्पन्न भइसकेको कार्यालयले जनाएको छ।

नदीको तीरदेखि शिरसम्म ५०.५ किलोमिटर लामो दूरीमध्ये पहिलो चरणमा २३.२ किलो मिटर बाँध निर्माणको काम अन्तिम चरणमा पुगेको त्रियुगा नदी व्यवस्थापन कार्यालय उदयपुरले जनाएको छ। कार्यालय प्रमुख (डिई) रेवाकान्त यादवका अनुसार ०७७ कात्तिकमा सम्झौता भएर सुरु भएको काम निर्धारित समयअगावै सकिन लागेको हो। डिई यादवका अनुसार २३.२ किलोमिटरमध्ये अलगअलग दुईवटा ठेक्का लागेको छ।

कार्यालयका सूचना अधिकारी इन्जिनियर रामकुमार साहले माथिल्लो भाग १०.६ किलोमिटर दूरीको बाँध निर्माणको ठेक्का कालिका–शर्मा–कुमार जेबीले लिएको बताए। त्यस्तै तल्लो भाग १२.६ किलोमिटर बाँध निर्माण गर्ने जिम्मा गजुरमुखी–कान्छाराम–बौद्धहिमाली जेवीले लिएको साहले बताएका छन्। माथिल्लो भागअन्तर्गत त्रियुगा नगरपालिका–७ चुहाडेदेखि चौदण्डीगढी नगरपालिका– ९ अजगरासम्मको काम ८४ प्रतिशत अर्थात् ९ किलोमिटर हाराहारी निर्माण भइसकेको छ। त्यस्तै तल्लो भागको अजगरादेखि बेलका नगरपालिका–१ पुरन्दहसम्मको बाँध ८० प्रतिशत अर्थात् पौने १० किलोमिटर बनिसकेको इन्जिनियर साहले बताए।

भौतिक प्रगतिसँगै वित्तीय प्रगति पनि उत्तिकै भइरहेको कार्यालयले जनाएको छ। भौतिक प्रगति भएको रनिङ बिल पेस भएअनुसार भुक्तानी भइरहेको लेखा अधिकृत टोलेन्द्र कार्कीले बताए। उनका अनुसार माथिल्लो भागको ठेक्का मूल्य अभिवृद्धि कर (भ्याट) सहित ७८ करोडमा लागेकोमा हालसम्म ७५ प्रतिशत भुक्तानी भइसकेको छ। जस अनुसार गुजुरमुखी जेबीले ५८ करोड ३२ लाख ७६ हजार भुक्तानी पाइसकेको छ। त्यस्तै तल्लो भेगको ७८ करोड ७४ लाखमा लागेको ठेक्कामध्ये ८० प्रतिशत भुक्तानी भइसकेको लेखा अधिकृत कार्कीले बताएका छन्।

चालु वर्ष गर्नुपर्ने बाँकी काम भने हालसम्म सुरु हुन सकेको छैन। आर्थिक वर्ष सुरु भएको आठ महिना बित्न लाग्दासम्म निर्माण व्यवसायीले काम सुचारु नगर्दा रकम खर्च हुन नसकेको डिई यादवले बताए। डिई यादवले बाँकी काम तत्काल सुचारु गर्न ठेकेदारलाई ताकेदा गरे पनि वास्ता नगरेपछि सिँचाइ विभाग र मन्त्रालयमा पत्राचार र मौखिक आग्रह गरिरहेकोे बताएका छन्। उनको आग्रहअनुसार सिँचाइ मन्त्रालयका सचिव र विभागका महानिर्देशक (डिजी) सहितको टोली आएर शनिबार निर्माणाधीन बाँधको स्थलगत अनुगमन निरीक्षण गरेको छ।

सिँचाइ सचिव गोपालप्रसाद सिग्देल र डिजी सुशील आचार्यसहितको टोली निर्माणाधीन बाँधको शिवाई क्षेत्रको स्थलगत अनुगमन गरेर फर्केको डिई यादवले बताए। निरीक्षणका क्रममा यादवले गत वर्ष तीव्रगतिमा काम भएको तर चालु वर्ष अझै सुरु नभएको भन्दै बजेट खर्च गर्न नसक्ने अवस्था आउन नदिन ठेकेदार कम्पनीलाई निर्देशन दिन आग्रह गरेका थिए। जवाफमा सचिव सिग्देल र डिजी आचार्यले बाँकी काम तत्काल सुचारु गर्न आपूmहरूले ठेकेदारलाई ताकेता गर्ने प्रतिबद्धता जनाएका थिए। डिजी आचार्यले चालु वर्ष सुरुदेखि नै स्थानीय तह र प्रदेश तथा प्रतिनिधिसभा चुनावका कारण काम हुन नसकेको अब छिटै सुचारु हुने बताएका थिए।

जिल्लाको प्रमुख पर्यटकीय तथा धार्मिक क्षेत्र रौतापोखरीको निकासका रूपमा रहेको त्रियुगा नदी रौतामाई गाउँपालिका–७ मुकुचीदेखि अस्तित्वमा आएर त्रियुगा नगरपालिकाका ७, ८, ९, ६, ५, ३, ११, १२, १३, २, १ नं वडा हुँदै छिमेकी नगरपालिका चौदण्डीगढीको १०, ९, ५ तथा अर्को बेलका नगपालिकाको २ र १ भएर सप्तकोसीमा समाहित हुन पुगेको छ।

५०.५ किलोमिटर दूरीको उक्त नदीको ४२ किलोमिटर दूरी नियन्त्रणका लागि दुवैतर्फ जैविक प्रविधिको बाँध निर्माण गरी बाँधलाई नै सडकमा रूपान्तरण गर्ने दीर्घकालीन र दूरगामी परियोजनाअन्तर्गत काम भइरहेको हो। ४२ किलोमिटर दूरीको बाँधमा ठाउँठाउँमा गरी २७ वटा पुल बनाउने योजना पनि परियोजनामा समेटिएको छ।

८ अर्ब १५ करोड लागत इस्टिमेटको ८४ किलोमिटर लामो बाँध निर्माणको परियोजना चार चरणमा गरिसक्ने योजना अनुसार पहिलो चरणको काम भइरहेको हो। दोस्रो चरणमा २२ किलोमिटर दूरीमा बाँध निर्माण गर्ने इस्टिमेट बनाई मन्त्रालयमा पेस गरिएको डिई यादवले बताएका छन्। दोस्रो चरणका लागि ३ अर्ब ९६ करोडको इस्टिमेट बनाएर मन्त्रालयमा पेस गरेको तर हालसम्म बजेट सुनिश्चित नभइसकेको खबर पाएको उनले बताए।

प्रकाशित: २४ फाल्गुन २०७९ ०२:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App