८ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

नेपालीपन जोगाउँदै भोजन गृह

खानपान

सय वर्षभन्दा पुरानो भवनमा मौलिक नेपाली परम्परागत शैलीलाई ध्यानमा राखी बनाइएकाे भोजन गृह। तस्वीरः एनिका राइ

आधुनिकतालाई आत्मसात गरेको सहरमा परम्परागत संरचना र स्वाद हराउँदै गएका छन्। यसो हुदाँहुदै पनि नेपाली शैलीमा बनेका परम्परागत भवन वा घरहरूमा मौलिक खानपान पाउँदा सहरियाहरूका लागि आकर्षण केन्द्र बनेको छ।

यही तथ्यलाई मध्यनजर गरेर राजधानीको मुटु डिल्लीबजारमा सय वर्षभन्दा पुरानो भवनमा मौलिक नेपाली परम्परागत शैलीलाई ध्यानमा राखी भोजन गृह सञ्चालनमा आएको छ। सय वर्षभन्दा अघिको भवन सबलीकरण गरेर नेपाली मौलिकतालाई संरक्षण र प्रवर्धन गर्दै नेपालीपन झल्कने सेवा र संस्कृति पस्कँदै नेपाली खानपानलाई ध्यानमा राखेर भोजन गृह सञ्चालनमा आएको सञ्चालक भरत बस्नेतले बताए।

विगत २५ वर्ष अघिदेखि नै सञ्चालनमा आइरहेको यस भोजनगृह कोरोनाका कारण करिब ३ वर्ष बन्द भएको थियो। गत फेब्रुअरी १५ देखि पुनः सञ्चालनमा आएको यस गृह थप परिष्कृत र मौलिकपनसहित सञ्चालनमा आएको हो। भोजन गृह सञ्चालन गर्दै गर्दा सञ्चालक बस्नेतले स्वदेशी र विदेशी पाहुनालाई ध्यानमा राख्दै पुराना आकृतिका परम्परागत मैलिकता बोकेका संरचनालाई संरक्षण गर्दै प्रयोगमा ल्याएको बताए।

सरकारले १९९८ मा पहिलो पटक नेपाल भ्रमण वर्ष घोषणा गर्दै गर्दा नै उनले भोजन गृहको परिकल्पना गरेका थिए। त्यही बेला नै उनले नेपाली मौलिकपन झल्कने कला, संस्कृति, परम्परा र खानपानलाई एकीकृत रूपमा प्रयोगमा ल्याएर विदेशी र नेपाली पस्किने उनको अठोट थियो। सोही क्रममा उनले नेपालभरिका पुराना आकृतिलाई यथावत् राखी त्यसलाई जिर्णोद्वार गर्ने र नयाँ बनाउँदा पुरानो शैलीमा बनाउनुपर्ने अभियान सुरु गरे। यसै अभियानअन्तर्गत डिल्लीबजारस्थित बडागुरुज्यूको यस भवनलाई उनले सबलीकरण गरेर भोजन गृह प्रयोगमा ल्याएका हुन्।

रेस्टुरेन्टभन्दा पनि अभियानका रूपमा भोजन गृह सञ्चालन गरेको बताउँदै बस्नेतले भोजन गृहले खानपानलाई मात्र नभएर संरचना, सजावट, आकृति र प्रयोग भएका सम्पूर्ण सामग्रीहरूले नेपालीपनको आभास दिने बताए। उनले भने, ‘भोजन गृह केवल रेस्टुरेन्ट मात्र होइन, यो अभियान हो। यसले मौलिक नेपालीपनलाई संरक्षण र प्रवर्द्धन गर्नुपर्छ भन्ने आभास दिन्छ। यस्तै भवनले आफैमा एउटा इतिहास बोकेको छ। सय वर्षभन्दा पुरानो यस भवनको मौलिकतालाई मैले जीवन्त राखेर नेपाली स्वाद पस्किने प्रयास गरेको छु। मैले यस भोजन गृहलाई व्यापारका रूपमा भन्दा पनि सम्पदाका रूपमा चिनाउनु छ।’

श्री ६ बडागुरु (राजाका गुरुजी)को भवनलाई खरिद गरी ३ वर्ष लगाई निमार्ण गरिएको यस भवन बडागुरुजीको पालामा भएकै स्वरूपमा सबलीकरण गरिएको छ। पुरानै स्वरूपमा सबलीकरण गरेको भोजन गृहको भवनको इतिहास, नेपाली मौलिक खानपान र नेपाली उत्पादनका सामग्रीहरूको प्रयोग, मौलिक संरचना, सांस्कृतिक विविधतासहितको सेवा र मनोरञ्जन आदि भोजन गृहको विशेषता हो। यस भोजन गृहमा मौलिक परम्परागत नेपाली खानाहरू उपलब्ध छ। जसमा मकै, भटमास, आलुदम, क्वाँटी, दाल, भात, तरकारी, ममलगायत विभिन्न नेपाली परिकार रहेका छन्। नेपाली खानपान संसार उत्कृष्टमध्ये एक भएको भन्दै उनले भने, ‘हाम्रा नेपाली खानाहरू उच्चकोटिको पोषणयुक्त र वैज्ञानिक छन्। सोहीअनुरूप हामीले भोजनगृहमा नेपाली स्वाद राखेका छाैं। भोजन गृहले नेपाली खानेकुराको संस्कृतिलाई विश्वव्यापीकरण गर्छ।’ यसका लागि उनले पहिला आफ्ना सन्ततिहरूलाई खानपानको संस्कृतिलाई अपनत्व गर्न सिकाउनुपर्ने बताए।

यस्तै साँझमा नेवार, थारु, शेर्पा, तामाङलगायत विभिन्न नेपाल सांस्कृतिक विविधता झल्कने ८/९ प्रकारका नाँचहरू प्रस्तुत गरिन्छ। यसले त्यहाँ आएका पाहुनालाई मनोरञ्जन त प्रदान गर्छ नै त्यसबाहेक विविध मौलिक नेपाली कला र संस्कृतिबारे समेत जानकारी प्रदान गर्छ। नेपाल सांस्कृतिक विविधताले धनी देश भएको उल्लेख गर्दै उनले भने, ‘भोजन गृहले परम्परागत आकृति वा संरचनालाई मात्र ध्यान दिएको छैन। सांस्कृतिक पक्षलाई पनि उत्तिकै आत्मसात गरेको छ। यहाँ आएका विदेशी र स्वदेशी सबै पाहुनाहरूले ठेट नेपाली संस्कृतिको पनि महसुस गर्न पाउँछन्। माल्टाबाट आएका क्यारोल अजुसले भोजनगृहमा प्रस्तुत गरेको सांस्कृतिक नृत्यहरू एकदम मन परेको बताए। माल्टामा कपडा व्यवसायमा संलग्न उनले भने, ‘मौलिक नेपाली नाँचहरू निकै रमाइला हुँदा रै’छन्। भेषभूषा अनौठो तर निकै सुन्दर लाग्यो। म त मज्जाले उनीहरूसँग नाचे। हेर्नुस् त मेरा साथीहरू पनि रमाइरहेका छन्। मैले त भरपूर मनोरञ्जन लिए।’ पहिलो पटक नेपाल आएको बताउँदै उनले थपे, ‘यहाँको खाना पनि मलाई मन पर्‍यो। विशेष गरेर मम र दालभात असाध्यै मन पर्‍यो।’

किस्ट मेडिकल कलेजमा कार्यरत अनामनगरका हेमलता राईलाई भोजन गृहको मौलिक वातावरण एकदमै मन परेको बताइन्। सम्पूर्ण परिवारसँग भोजनगृह आएका उनले भने, ‘परिवारसँग आएर गुणस्तरीय समय बिताउन मन छ भने यो ठाउँ एकदमै राम्रो छ। यहाँको खाना, सेवा र विविधता सबै राम्रा छन्। यहाँको मौलिक वातावरण सबैभन्दा बलियो पक्ष हो। अरू स्थानको होटल, रेस्टुरेन्ट जस्तो अनावश्यक हल्ला र अशान्त छैन। खानपान पनि स्वस्थ्य र मिठो छ।’

आफू भोजनगृहको नियमित ग्राहक भएको बताउँदै उनले थपे, ‘यस ठाउँको अर्को विशेष राम्रो कुरा भनेको यहाँ प्रयोग भएका सम्पूर्ण सामग्रीहरू नेपाली उत्पादन हुन्। यहाँ साना साना कुराहरूलाई नेपालीपन महसुस गरेर प्रयोग गरेका छन्। यसले मलाई सधैं प्रभावित गरेको छ।’

भोजन गृहमा प्रयोग भएका सम्पूर्ण सामग्री नेपाली उत्पादन हुन्। काठ, भाँडाकुँडा, कपडा, मेन्यु बुकलगायत सम्पूर्ण सामग्रीहरू नेपाली उत्पादन हुन्। यसका साथै उनले नेपाली उत्पादनहरूको विकास र विस्तारमा नेपाली व्यवसायीहरूले पनि आफूले सकेको सहयोग गर्नुपर्ने कर्तव्य भएको बताए।

पुरानो मौलिक संरचना बोकेको भवन त्यसो त आजकल काठमाडौं उपत्यकामा भेटाउन मुस्किल छ भने भएका भवनहरू पनि २०७२ को भूकम्पले लगभग मासिसकेको अवस्था छ। मौलिक परम्परागत आकृति, कला–संस्कृति, परम्परा र खानपानलाई जोडेर सञ्चालनमा आएको भोजन गृहको अभिप्राय भनेको सरकारले यसलाई नमुनाका रूपमा ग्रहण गरोस् भन्ने बस्नेतको रहेको छ। उनी भन्छन्, ‘यस्ता पुरातात्त्विक महत्त्वका भवनलाई सरकार होस् या व्यक्ति, सबैले संरक्षण गर्नुपर्छ। यसको संरक्षण र प्रयोग भनेको मौलिकता जोगाउनु मात्र होइन, गुणस्तरीय विदेशी पर्यटक भित्राउनु पनि हो। अन्तर्राष्ट्रिय स्तरमा नेपाली खानपान, कला, संस्कृति, भेषभूषा, सम्पदाहरूको ब्रान्डिङ गर्नु पनि हो।’

८० जनाको क्षमताबाट सुरु भएको उनको भोजन गृहमा हाल २ सय जनालाई सेवा दिनसक्ने क्षमता विस्तार भइसकेको छ। यस्तै यहाँ ४० जना प्रत्यक्ष रोजगार र थप २० जना अप्रत्यक्ष गरी ६० जना संलग्न छन्। गुणस्तरीय नेपाली खाना मौलिक परम्परागत संरचनामा बसेर विभिन्न नेपाली कला, संस्कृति तथा भेषभूषा झल्कने बाजागाजा एवम् नाँचगान हेर्दै नेपालीपन महसुस गर्न चाहेको खण्डमा भोजन गृह जो कसैका लागि राम्रो स्थान हुन सक्छ। मैलिक परम्परागत संरचनालाई संरक्षण,  प्रवर्द्धन गरी नेपालीपन झल्किने वातावरण महसुस गर्न पनि प्रत्येक नेपालीले भोजन गृहमा एक छाक खान आउनुपर्ने सञ्चालक बस्नेत बताउँछन्।

प्रकाशित: २० फाल्गुन २०७९ ००:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App