१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

अवैध कलबाइपास आरोपमा सिंह पक्राउ

काठमाडौं-प्रहरीले भारतीय नक्कली नोटको कारोबारमा अन्तर्राष्ट्रिय माफिया दाउद इब्राहिमको प्रत्यक्ष सम्पर्कमा रहेको दाबी गरेका रविराज सिंह अवैध कलबाइपास आरोपमा पक्राउ परेका छन्।

ल्यान्डलाइन फोनको प्रयोग गर्दै अवैध कलबाइपास गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सिंहलाई नक्सालस्थित घरबाट तिहारअघि नै पक्राउ गरेको हो । ब्युरोका अनुसार नक्कली नोट कारोबारमा पुर्पक्षका लागि दुईवर्ष थुनामा रहँदा सम्पर्कमा आएका श्रीलंकाली गिरोहको सहयोगमा सिंहले अवैध कलबाइपास गर्दै आएका थिए ।

सिंहले खोटाचलन मुद्दामा सफाइ पाएको एक वर्षपछि अवैध कलबाइपास धन्दा सुरु गरेको अनुसन्धानमा खुलेको छ । ब्युरोका अनुसार सिंहले सम्पूर्ण कारोबार नुवाकोटका कान्छा गुरुङको नाममा गर्दै आएका थिए ।

अनलाइन बिजनेस गर्ने भन्दै उनले गत साउनमा कम्पनी रजिष्ट्रारको कार्यालयमा गुरुङको नाममा कम्पनी दर्ता गरेका थिए । यस्तै उनले अवैध कलबाइपासका लागि गुरुङकै नाममा घरधनीसँग सम्झौता गर्दै पानीपोखरीमा कोठा भाडामा लिएको अनुसन्धानबाट पत्ता लागेको छ । सिंहले आफूले प्रयोग गर्ने मोबाइलको सिमकार्ड समेत गुरुङको नाममा लिएको ब्युरोले जनाएको छ ।

ब्युरोका एसपी दिवेश लोहनीका अनुसार सिंहले अवैध कलवाइपास गर्ने उपकरण जोडी एक पटकमा एक सय २० वटा लाइनमा कलबाइपास गर्न सक्ने बनाएका थिए । दसैं बिदाको मौका पारी उनले कलवाइपासलाई तीव्रता दिएको खुल्न आएको लोहनीले बताए ।

ब्युरोले सिंहकोे नक्सालस्थित घर खानतलासी गर्दा अवैध कलबाइपाससँग सम्बन्धित दस्तावेज र उपकरण बरामद गरेको छ । श्रीलंकाली नागरिकले नेपाल आई अवैध भिओआइपी जडान गरेर फर्केपछि सिंह आफैंले कलबाइपास गर्न थालेका थिए । 

प्रहरीले तीन वर्षअघि सिंहलाई पक्राउ गर्दा उनले रवि सिंह, रविसिंह प्रधान, रवि जस्ता नाम राखेको थाहा पाएको थियो । तीन वर्षअघि पक्राउ पर्दा उनी नेपाल तेक्वान्दो संघका कोषाध्यक्ष थिए । समाजमा प्रतिष्ठित खेलाडी भएको देखाउने सिंहलाई भारतीय नक्कली नोटको कारोबार आरोपमा प्रहरीको विशेष ब्युरोले पक्राउ गरेको थियो । प्रहरीले २०७० वैशाखमा गरेको अप्रेसनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक करोड नक्कली भारुसहित पाकिस्तानी नागरिक शेष मोहम्मद र उनका नेपाली सहयोगी नरु उल्लाह पक्राउ परेका थिए । उनीहरूले प्रहरीसमक्ष नक्कली भारु सिंहको घरसम्म पु्याउन लागेको बयान दिएका थिए । उनीहरूको बयानबाट रविराज सिंह, अनुराज प्रधान र सुनिल रायमाझी विभिन्न माध्यमबाट नेपाल भित्रिने नक्कली भारु भारतसम्म पु¥याउन सक्रिय रहेको खुलेको थियो ।

ब्युरोले नक्कली भारुसहित समातिएका मोहम्मद, नरु उल्लाह, सिंह र रायमाझी दाउद समूहको प्रत्यक्ष सम्पर्कमा रहेको प्रमाण फेला पारेको थियो । ‘अहिले सिंहको नक्कली नोट कारोबारीसँग कुनै सम्पर्क देखिँदैन, नक्कली नोट कारोबारी आरोपबाट सफाइ पाएसँगै उनी नियोजित रुपमा अवैध कलबाइपासमा लागेको देखिन्छ, यसबाटै ठूलो रकम आम्दानी गर्ने तयारी रहेछ,’ एसपी लोहनीले भने।

प्रकाशित: १९ कार्तिक २०७३ ०२:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App