१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

'फोहरले डेंगे प्रकोप'

झापा- तीव्र सहरीकरणसँगै फोहरको अव्यवस्थित बिसर्जनले डेंगे संक्रमण बर्सेनि दोहोरिने विज्ञहरूले बताएका छन्। केही अघिसम्म चितवनमा मात्रै सीमित यसकोे संक्रमण अहिले झापामा पनि उच्च छ। एक सातायता संक्रिमतको संख्या बढिरहेको छ।

'तीव्र सहरीकरण भएको ठाउँमा फोहर विसर्जन अव्यवस्थित हुँदै गएको छ', जिल्ला जनस्वास्थ्य कार्यालय, झापाका प्रमुख मधुसुदन कोइरालाले भने, 'त्यही फोहरबाट डेंगु सार्ने लामखुट्टे जन्मिन्छ, अनि रोगको प्रकोप सुरु हुन्छ।' उनका अनुसार एसी, फि्रज, फूलका गमला, गाडीका पुराना टायरलगायतमा पाँच दिनभन्दा बढी पानी जम्नासाथ डेंगे सार्ने एडिस एजिप्टाई जातको लामखुट्टे मौलाउँछ। त्यसबाहेक फोहरसँगै मिल्काइने बट्टा, प्लाष्टिकका गिलास तथा अन्य भाँडावर्तनमा ज्यादै थोरै परिमाणमा जम्ने पानीमा पनि यो लामखुट्टेले फुल पार्छ। त्यसैले जथाभाबी फोहर हुने तथा पानी जम्ने भाँडा तथा यन्त्र बढी प्रयोग हुने सहरी क्षेत्रमा डेंगे छिटो फैलिने गरेको हो।

पाँच वर्षअघि पहिलोपटक झापामा संक्रमण फेला परेको डेंगे त्यसयता हरेक वर्ष देखापरिरहेको छ। सहरको रोग पनि भनिने डेंगे झापामा पहिलोपटक सन् २०१२ मा काँकडभिट्टामा फेलापरेको थियो। काँकडभिट्टामा त्यसबेला डेंगे संक्रमणले प्रकोपकै रुप लिएको थियो।

 त्यसयता हरेक वर्ष झापाको कुनै न कुनै सहरमा डेंगे संक्रमण भइरहेकै छ। सन् २०१३ मा २ सय २ जनामा यो रोग फेलापरेको थियो।  त्यसयताको दुई वर्ष संक्रमण दर घटे पनि जोखिम घटेको छैन। सन् २०१४ मा १३ जना र  सन् २०१५ मा ८ जनामा डेंगे संक्रमण फेलापरेको थियो । सन् २०१५ मा पीडित ८ जनामध्ये २ कोे मृत्यु भएको थियो। काँकडभिट्टा, विर्तामोड, धुलाबारी र दमक जस्ता सहरमा यसको संक्रमण उच्च देखिएको छ। यसपटकचाहिँ दमक बजार क्षेत्रमा यसको प्रकोप देखापरेको छ। जिल्लामा बुधबार साँझसम्म डेंगे पीडितको संख्या  १ सय १० पुगेको छ। मंगलबार एकै दिन ४१ जना नयाँ रोगी फेलापरेका थिए ।

विज्ञका अनुसार थोरै तर स्थिर पानीमा मौलाउने एडिस जातको लामखुट्टेले दिउँसो मात्रै टोक्छ। डेंगे भाइरस संक्रमित भएको एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग सार्छ। तर, उक्त पोथी लामखुट्टेले पार्ने अण्डा, त्यसबाट विकसित हुने लार्भा र लामखुट्टेचाहिँ जन्मिँदै संक्रमित हुने जनस्वास्थ्य प्रमुख कोइरालाले बताए। 'त्यस्तो संक्रमित लामखुट्टेले सीधै रोग सार्छ', उनले भने, 'त्यसैले सहरी क्षेत्रमा हुने जथाभाबी फोहरले संक्रमण उच्च पार्ने गरेको छ।' उनका अनुसार कोठामा राखिएको फुलदानीको पानी पनि एक सातासम्म नफेर्ने हो भने एडिस जातको लामखुट्टे उत्पादन हुन्छ। त्यसैले पानी जम्न दिन नहुने उनको भनाइ छ।

यो लामखुट्टे २० देखि ३० डिग्री सेल्सियस तापक्रममा बढी सक्रिय हुन्छ। एउटा लामखुट्टेले ५ जनासम्मलाई रोग सार्छ। गाउँमा भन्दा सहरमा यो लामखुट्टे प्रशस्त पाइने गरेको  छ। डेंगेका बिरामीमा ज्वरो आउने, टाउको दुख्ने, आँखाको गेडी दुख्ने, जिउ दुख्ने, शरीरमा बिबिरा आउने, वावाकी लाग्ने, नाकबाट रगत आउने, दिसा कालो आउने जस्ता लक्षण देखा पर्छन्।

यस वर्ष एक महिनाअघि दमक क्षेत्रमा दुई जनामा देखिएको डेंगे संक्रमण दसैंपछि ह्वात्तै बढेको हो। अहिले फेलापरेका संक्रमित पनि सबै दमक क्षेत्रका हुन्। उच्च ज्वरो तथा टनटनी टाउको दुख्ने समस्या लिएर अस्पताल पुग्नेको रगत परीक्षणक्रममा डेंगे संक्रमण पुष्टि भएको हो। जिल्ला जनस्वास्थ्य कार्यालयले  बुधबारदेखि संक्रमण दर केही घटेको जनाएको छ। 'बुधबारदेखि संक्रमण थोरै भए पनि नियन्त्रण उन्मुख छ,' कार्यालयका एक अधिकारीले भने।

अहिले झापामा विश्व स्वास्थ्य संगठनका तथा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानबाट पनि चिकित्सक आएका छन्। विषेशज्ञ टोलीले प्रभाव क्षेत्रमा बिरामी भेट्ने, चेतना अभियान चलाउनेलगायत काम गरिरहेको छ।

जनस्वास्थ्य कार्यालयले उपचारभन्दा पनि  जनचेतनामूलक अभियानबाटै यो रोग निर्मूल पार्नु बढी प्रभावकारी हुने जनाएको छ। मेची अञ्चल अस्पताल प्रमुख डा. पिताम्बर ठाकुरका अनुसार डेंगे भाइरसको कुनै उपचार नहुने तर संक्रमितलाई लक्षण अनुसारको उपचार गर्नुपर्ने बताए। चिकित्सकको सल्लाहमा औषधि प्रयोग गर्न, आराम गर्न, पोषिलो र झोल पदार्थ बढी खान चिकित्सकले संक्रमितलाई सुझाएका छन्।

प्रकाशित: ११ कार्तिक २०७३ ०२:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App