४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

सर्लाहीमा नक्कली नेपाली रुपैयाको कारोबार फस्टाएको आशंका

सर्लाहीमा नक्कली नेपाली रुपैयाको कारोबार फस्टाएको आशंका गरिएको छ । सर्लाही प्रहरीले नेपाली रुपैया बनाउने कागज ठूलो परिमाणमा बरामद गरेपछि सर्वसाधारणमा आशंका बढेको हो।

सर्लाहीको मलंगवा नगरपालिका ९ स्थित भारतीय बोर्डर एरियाबाट विभिन्न आकारका नेपाली नोटहरुसित मिल्ने तवरले बाँधेको कागजहरुको ९९ बन्डल र पैसा आकारको कागज काट्ने मेसिन एक थान सर्लाही प्रहरीले आइतबार बरामद गरेको छ । साथै दुई जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

गत पुस ३० मा सर्लाही प्रहरीले मलंगवा नगरपालिका ८ सीमाक्षेत्रबाट नक्कली जस्तो देखिने एक हजार दरका ११५ थान नोट एक लाख पन्ध्र हजार रुपैयासहित एक जनालाई पक्राउ गरेको थियो।

गत भदौ १७ गते पनि सर्लाही प्रहरीले गोडैता नगरपालिका ३ बगदह र बहादुरपुरको बिचबाट एउटा गाडीबाट एक हजार नोटको बिचमा सोही आकारको कागज राखेको ६९ बन्डल फेला पारेको थियो।

यसै गरी गत भदौ ३० मा नै गौडैता नगरपालिका ३ मधुवनी गाउँबाट बन्डलको तल र माथि पैसा राखी बिचमा खाली कागज राखेको अवस्थामा एक भारतीयसहित दुई जनालाई नियन्त्रणमा लिएको थियो भने गत कात्तिक ५ मा मृत्युञ्जय कुमार सिंह समेतले १ को ३ दिन्छु भनी ४२ लाख ७५ हजार रुपैया ठगी गरी भागेका थिए।

सर्लाहीमा कागजको बन्डलमा भित्र र बाहिर नेपाली रुपैया राखी १ को ३ दिन्छु भन्ने गिरोह नै सक्रिय रहेको बुझिएको छ । यसरी १ को ३ दिनेहरुले नक्कली नेपाली रुपैया दिने गरेको पनि पटक पटक नक्कली नेपाली रुपैया र रुपैया बनाउने कागज फेला पर्ने गरेकोबाट स्पष्ट भएको छ।

सर्लाहीमा नक्कली नेपाली रुपैयाको कारोबार फस्टाएको आशंका व्यापक रहेको छ।सर्लाही प्रहरीले समय समयमा कारोबारीलाई पक्राउ गर्ने गरेकोबाट पनि सर्लाहीमा नक्कली नेपाली रुपैयाको कारोबार हुने गरेको भन्दै सर्वसाधारण त्रसित रहेका छन्।  

प्रकाशित: १४ फाल्गुन २०७९ १३:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App