६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

बाउन्ना र बलान पुल बनेपछि हट्यो बाढीको डर

बाउन्ना खोलमा नवनिर्मित पक्की पुल। तस्बिर: महेश्वर

यहाँको उदयपुरगढी गाउँपालिकाको एउटै वडाका २ खोलामा एकैसाथ पक्की पुल निर्माण भएपछि आसपासका स्थानीयबासीलाई वषौँदेखिको खोला बाढीको कहरको डर हटेको छ। उदयपुरगढी गाउँपालिका ७ नं. वडाका बाउन्ना र बलान खोलामा यही महिनादेखि पक्की पुल सञ्चालनमा आएपछि वर्षेनी सहदै आउनु परेको बाढीको चपेटा अन्त्य भएको हो।

पूर्वाधार विकास कार्यालय उदयपुरका प्रमुख (डिई) गंगासागर यादवका अनुसार दुवै पुल प्रदेश सरकार, सडक पूर्वाधार तथा सहरी विकास मन्त्रालयमार्फत निर्माण भएका हुन्। डिई यादवका अनुसार बाउन्ना खोलामा ७२.७ मिटर लम्बाई र ८.४ मिटर चौडाको पुल निर्माणमा मूल्य अभिवृद्धि कर (भ्याट)सहित ९ करोड ६१ लाख ५२ हजार ४ सय ६३ रुपैँया ९४ पैसा खर्च भएको छ।

१० करोड ४३ लाख ८७ हजार १ सय ५९ रुपैँया ९० पैसाको लागत इस्टीमेट भएकोमा निर्माण व्यवसायीहरुबीच घटाघट प्रतिस्पर्धा हुँदा इसिसि–केएम जेवी काठमाडौँले सो मूल्यमा ठेक्का सम्झौता गरेर काम सम्पन्न गरेको हो। ०७७ जेठ ११ गते सम्झौता गरी निर्माण थालेको २ स्पानको पुल तोकिएकै समयावधिभित्र सम्पन्न भएर सञ्चालनमा आएको डिई यादवले बताए। ९ सय मिटर एप्रोच सडक रहेको उक्त आरसिसी प्रविधिको पुल सुरक्षित गर्न नदी नियन्त्रण गर्न १ सय ५० मिटर लामो बाँध पनि बाँधिएको छ।

त्यसैगरी सोही वडाको बलान खोलामा ३४.४ मिटर लामो र ८.४ मिटर चौडाईको १ स्पानको अर्को पक्की पुल पनि भर्खरै सञ्चालनमा आएको छ। ६ करोड ५५ लाख ४३ हजार ४७ रुपैँया ११ पैसाको प्राविधिक इस्टीमेट भएको उक्त पुल सपना निर्माण सेवा हेटौँडाले भ्याटसहित ५ करोड १७ लाख ७७ हजार ९ सय २४ रुपैँया २२ पैसामा सम्पन्न गरेको हो। सपनाले पुल निर्माणका लागि ०७७ असार ९ गते सम्झौता गरी काम थालेर समयमै बनाईसकेको पनि डिई यादवले बताए।

दायाँ बायाँ दुवैतर्फ १.२० मिटर फुटपाथका लागि राखिएको बलान पुलको १ सय ५० मिटर एप्रोच सडक निर्माण भएको छ भने १ सय २० मिटर नदी नियन्त्रण बाँध बाँधिएको छ।

प्रादेशिक सडक/पुल इकाईको प्राविधिक रेखदेखमा पुल निर्माण सम्पन्न भएपछि यसअघि वर्षेनी बाउन्न र बलानले दु:ख दिदै आएका स्थानीयबासीको बाढी समस्या टरेको छ। नजिकै चुरे पहाड शीर भएका ती खोलाहरु हिउँदमा सुक्खा हुने भए पनि वर्खायाममा सामान्य वर्षामै उर्लेर आउने बाढीले गाउँलेलाई सताउँदै आएका थिए।  

बाढीको डरले घाँस दाउराका लागि वन जंगल र खेतबारी गर्दा पनि गाउँले आकाशमा कालो बादल मडारिन थालेको देख्नेबित्तिकै घर फर्कनु पर्ने अवस्था थियो। अलिकति मात्र ढिला गरे पनि खोला बाढी तर्न नसकेर जंगलमै बास बस्नुपर्ने अवस्था रहेको वडाध्यक्ष भुवन मगरले बताए। उनले भने ‘घाँसदाउरा र मेलापात गर्न पनि खोला वारपार गर्नै पर्ने बाध्यता छ। तर, सामान्य पानी पर्यो कि उर्लिहाल्ने खोलाले यसअघि हामीलाई हैरान पार्दै आएको थियो।’  

वडाध्यक्ष मगरका अनुसार पूर्व दक्षिणतर्फ सिराहा र सप्तरीसँग सीमानाका जोडिएका ती खोला बाढीको कहरबाट बँच्न धेरै वर्षदेखि गाउँलेले सरकारसँग हारगुहार गर्दै आएका थिए। तर, कसैले सुनुवाई नगर्दा वर्षेनी १–२ जनाको ज्यान जाने तथा कैयौँ घाईते हुदै अएका थिए। ‘हरेक वर्ष बाढीले १–२ जनाको ज्यान जाने गरेको थियो भने दर्जनौँ घाईते नभएको त कुनै साल थिएन’ वडाध्यक्ष मगरले भने ‘अव भने पुल बनेपछि यस्तो दुरदिन नआउला भन्ने ठानेका छौँ।’ वडाध्यक्ष मगरले सिराहा, सप्तरीलाई उदयपुरगढीको नेपालटारलाई छिचोलेको मदन भण्डारी लोकमार्गसँग जोडिदै जिल्लाको माथिल्लो भेगका रौतामाई र लिमचुङबुङ तथा खोटाङको हलेसी जोड्ने सडकमा परेकाले पनि दुवै पुलको निकै महत्व रहेको छ।

उदयपुरगढी गाउँपलिाका अध्यक्ष मानबहादुर केप्छाकी मगरले पञ्चायतकाल र बहुदल अवधिभर पुल बनाउने प्रयास गरे पनि नसकेको काम अहिले भएकोमा खुसी व्यक्त गरे। पञ्चायतकालमा नभएपछि बहुदलमा आफु गाविस अध्यक्ष हुँदासमेत पहल गर्दा नबनेको पुल संघीयता र गणतन्त्र आएपछि बल्ल पुल बनेको उनले बताए। संघीयता आएपछि प्रदेश सरकारको नजर परेपछि मात्र दुवै खोलामा पुल बनेकोमा उनी खुसी छन्।  

प्रकाशित: १४ फाल्गुन २०७९ १०:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App