७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

बडिमालिकामा ५ करोडको धर्मशाला

बडिमालिकामा भक्तजनका लागि निर्माण हुँदै गरेको धर्मशाला। तस्बिर: ललित/नागरिक

पश्चिम नेपालकै बहुचर्चित बडिमालिका मन्दिरमा दर्शन गर्न आउने भक्तजनका लागि त्रिवेणी धाममा ५ करोड रूपैयाँ लागतमा धर्मशाला निर्माण सुरु गरिएको छ। कर्णाली प्रदेश सरकार वन तथा पर्यटन मन्त्रालय मार्फत पाँच करोड बजेटले त्रिवेणी धाममा पक्की भवन, धारा र शौचालय निर्माण हुन थालेको हो।

कर्णाली प्रदेश सरकारले केही वर्षअघि करोडौं बजेट छुट्याएर सोही ठाउँमा कच्ची भवन निर्माण गरे पनि केही दिन नबित्दै भत्किएको थियो। १२ महिनामा ३ महिना मात्र घाम लाग्ने यो ठाउँमा काम गर्न निकै कठिन रहेको छ। उपभोक्ता समितिले बनाएका धर्मशालाको सही तरिकाले अनुगमन नहुँदा बर्खामा निर्माण गरिएका ३ वटै धर्मशाला हिउँदमै भत्किएका थिए।

पहिलेकै जस्तो नहोस् भनी अहिले पक्की भवन निर्माण थालिएको डिभिजन वन कार्यालयका इन्जिनियर प्रकाश सेजुवालले बताए। ३ वर्षभित्र धर्मशाला निर्माण गरिसक्नुपर्ने निर्माण कम्पनीसँग सम्झौता छ। सेजुवालका अनुसार निर्माण स्थलसम्म निर्माण सामग्री लैजान समस्या छ। अहिले पनि हिउँ छ। हेलीकोप्टर मार्फत ढुवानी गरिएको छ। अहिले ३ प्रतिशतसम्म काम भइसकेको उनको भनाइ छ।

समुद्री सतहबाट ४ हजार २ सय १९ मिटर उचाइमा रहेको बाजुराको बडिमालिका धार्मिक हिसाबले मात्रै नभई सौन्दर्यका हिसाबले पनि महत्त्वपूर्ण मानिन्छ। नजिकै देखिने सुन्दर हिमाल, हिउँ कुल्चन पाउने सौभाग्य र मनोरम प्राकृतिक दृश्य बडिमालिकाका गहना हुन्।

बडिमालिकाका सौन्दर्यका स्परूप भनेकै विशाल फाँटहरू हुन्। तर अचेल यी फाँट विस्तारै मासिँदै छन्। यी फाँटमा अनावश्यक चरन र जडीबुडी चोरीनिकासीका कारण यसको सौन्दर्य मासिएको जिल्लावासीको गुनासो छ। स्थानीय पर्यटन व्यवसायी मनराज सिंखडा बडिमालिका क्षेत्रलाई राष्ट्रिय निकुञ्ज घोषणा गरेर यसलाई संरक्षण गर्नुपर्ने बताउँछन्।

बडिमालिका मन्दिर तथा फाँटसम्म जाने बाटो निकै अप्ठ्यारो छ। बाटाको सुविधा नभएकाले जति पर्यटकको आगमन हुनुपर्ने हो, त्यति हुन सकेको छैन। बडिमालिका जानका लागि बाटामा बास बस्ने ठाउँ छैन। धार्मिक र पर्यटकीय रूपमा चर्चित रहेको यो क्षेत्रमा पर्यटक र भक्तजनहरूका लागि बास बस्ने घर छैन। यसले गर्दा एक पटक दर्शन गर्न आएका भक्तजन फेरि नफर्किने गरेका छन्। अब धर्मशाला बनेपछि पर्यटकको आवागमनमा वृद्धि हुने विश्वास छ।

बडिमालिकामा प्रत्येक वर्ष जनै पूर्णिमाका दिन ठूलो मेला लाग्छ। त्यो समयमा केही स्थानीय व्यापारीले पसल राख्ने गर्छन्। अन्य समयमा त्यहाँ पसल खासै भेटिँदैनन्। बडिमालिका मन्दिर दर्शन गरेपछि आफ्नो मनोकांक्षा पूरा हुने जनविश्वास छ। मन्दिर परिसरबाट आँखै अगाडि देखिने सैपाल हिमालको मनोरम दृश्यले यहाँको सौन्दर्यलाई झनै तिखारेको छ।

बडिमालिका पुग्नका लागि उचित बास बस्ने स्थान नभएकाले भक्तजन तथा पर्यटकले खानपिन तथा बासको जोहो आफैं गर्नुपर्छ। मन्दिर व्यवस्थापनले भक्तजनलाई बास बस्नका लागि एउटा धर्मशाला बनाइदिएकाले भक्तजन त्यहीँ बास बस्ने गर्छन्। मन्दिरका पुजारी कृष्ण धमला भन्छन्, ‘बडिमालिकामा सरकारको पहुँच नभएकाले त्यहाँबाट जडीबुडीको चोरी निकासी हुने गरेको छ। सरकारले बडिमालिका जाने स्थानमा चेकपोस्ट राख्नुपर्ने उनको माग छ।

बडिमालिका क्षेत्रलाई पश्चिम नेपालकै मुख्य पर्यटकीय क्षेत्र बनाउन कालिकोट र अछामका स्थानीय तहले पूर्वाधारका काम अगाडि बढाएका छन्।

त्रिवेणी धामसम्म सडक पुर्‍याउने उद्देश्यले अहिले कालिकोटको शन्नी त्रिवेणी गाउँपालिका र नरहरीनाथ गाउँपालिकाले बल्लेकाँधसम्म सडक खनिरहेका छन्।

प्रकाशित: १२ फाल्गुन २०७९ ००:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App