३१ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

कर्जाको तनावले आत्महत्या गरेकी शान्ताको परिवारलाई सहयोग

वित्तीय संस्थाको कर्जा तनावले आत्महत्या गरेकी सप्तरीको कञ्चनरूप नगरपालिका-९ की ५८ वर्षीया शान्ताकुमारी भुजेलको परिवारलाई शनिबार दलित सरोकार मञ्च नेपालले सहयोग गरेको छ।

वित्तीय संस्थाहरू र स्थानीय व्यक्तिसँग समेत अत्यधिक कर्जा लिएकी भुजेल गत आइतबार रुखमा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन्। लघुवित्तहरू र तथा साहु/महाजनले ऋण तिर्न दिएको दबाबका कारण शान्ताले आत्महत्या गरेपछि काजकिरिया गर्न समेत समस्या भएको खबर बाहिरिएको थियो। त्यसपछि मञ्चका कार्यकारी निर्देशक भोलाकुमार पासवानले कञ्चनरूप नपाकी उपप्रमुख मुनाकुमारी पोखरेल, कञ्चनरूप–९ का वडाध्यक्ष रामसुन्दर यादव, कार्यपालिका सदस्य शोभा पासवानसमेतको उपस्थितिमा खाद्यान्न सहयोग गरेका हुन्।

मञ्चले मृतकका परिवारलाई सय केजी चामल, ४० केजी गहुँको पिठो, ३ केजी दाल, २ केजी नुन, तेल १ लिटर र ५ वटा साबुन सहयोगस्वरूप दिएको मञ्चका जिल्ला संयोजक राजकुमार पासवानले बताए। सहयोग हस्तान्तरण कार्यक्रममा सहभागी वडाध्यक्ष रामसुन्दर यादवले सम्पत्तिको नाममा रहेको १० धुर जग्गासमेत अर्कैको नाममा रहेकाले त्यसलाई फिर्ता गर्न सबैले सहयोग गर्नुपर्ने बताए।

मञ्चले कञ्चनरूप नपाका विपन्न गरिब परिवारका छोरीको विवाह र संस्कारमा खाद्यान्न सहयोग गर्दै आएको छ। बितेको १ वर्षमा २ सय विपन्न परिवारका छोरीको विवाह र करिब ३ सय विपन्न परिवारलाई किरियामा खाद्यान्न सहयोग गरेको जिल्ला संयोजक पासवानले बताए।

मृतक भुजेल घरबाट आफन्त भेट्न भनेर धरमपुर गएका बेला आइतबार बिहान घरभन्दा करिब २ सय मिटर पश्चिममा रहेको आँपको रुखमा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन्। परिवारका अनुसार ८ वटा लघुवित्तबाट १३ लाख ३५ हजार रूपैयाँ ऋण लिएकी उनी घरबाट सबै सामान लघुवित्तले लगेपछि तनावमा थिइन्।  

प्रकाशित: १२ फाल्गुन २०७९ ००:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App