पोखरामा विष्फोटक पदार्थ पड्किएर दुई किशोर घाइते भएका छन्।
पोखरा महानगरपालिका वडा नम्बर–३३ ठूल्ढुंगामा मंगलबार विष्फोटक पदार्थ पड्किएर दुई जना किशोर घाइते भएका हुन्। घाइते हुनेमा स्थानीय १३ वर्षीय सविन तामाङ र १५ वर्षीय माइकल चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
खेल्ने क्रममा नजिकै रहेको झाडीमा नौलो वस्तु देखा परेपछि उनीहरूले घरमा लिएर आएका थिए। घरमा ल्याएपछि के होला भन्ने कौतुहलता लागेर खेलाउने क्रममा विष्फोट हुँदा उनीहरू घाइते भएको प्रहरी श्रोतले बताएको छ। घाइते दुवैको अवस्थामा सामान्य रहेको प्रहरीले बताएको छ।
घाइतेहरूको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ। घाइते मध्ये माईकल चौधरीको गए राती नै शल्यक्रिया गरिएको छ भने सविन तामाङको शल्यक्रिया गर्ने तयारी छ। घाइतेहरूको हात र खुट्टामा सिसा, फलामलगायतका वस्तुहरू गढेर बसेकाले सो वस्तु शल्यक्रिया गरेर निकालिएको कास्की प्रहरी प्रवक्ता ज्ञानबहादुर खड्काले जानकारी दिए।
विष्फोटक पदार्थले लागेका व्यक्तिको पटक/पटक शल्यक्रिया गर्नुपर्ने हुन्छ,अस्पताल श्रोतले भन्यो, माईकलको एक पटक शल्यक्रिया गरिएको छ। तर फेरी पनि शल्यक्रिया गर्नुपर्ने हुन्छ। सविनको पनि अवस्था हेरेर शल्यक्रिया गर्नुपर्ने हुनसक्छ।’ दुवैको वार्डमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ।
प्रकाशित: १० फाल्गुन २०७९ १०:५२ बुधबार