९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

राष्ट्रपतिद्वारा नवदुर्गाको पूजा तथा प्रसाद ग्रहण

भक्तपुर- बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसरमा आज राष्ट्रपति विद्यादेवी भण्डारीले भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा सरिक भई नवदुर्गा भवानीको पूजाअर्चना गरेर टीका प्रसाद ग्रहण गरेकी छन्। राष्ट्रप्रमुखका रूपमा राष्ट्रपतिले प्रसाद ग्रहण गरेकी छन्। 

राष्ट्रपतिलाई नवदुर्गा मन्दिरका नकी तेजमाया वनमालाले नवदुर्गाको पूजा एवम् दर्शन गराएकी थिइन् भने नवदुर्गाका पुजारी जुलाल कर्माचार्यले नवदुर्गा भवानीको जमरा एवम् टीका प्रसाद, फूलमाला, बिमिरो र पञ्चरङ्गी धागो प्रदान गरेका थिए। त्यस क्रममा राष्ट्रपति भण्डारीले नवदुर्गा देवगणका मूर्ति अवलोकन गरी दर्शन गरेकी थिइन्। 

राष्ट्रपति नवदुर्गा मन्दिर आउनुहुँदा उहाँलाई प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेल, प्रहरी उपरीक्षक किरण बज्राचार्य, स्थानीय विकास अधिकारी धु्रवबहादुर कोइराला, गुठी कार्यालयका प्रमुख लेखनाथ सापकोटालगायत विभिन्न सरकारी कार्यालयका प्रमुखहरुले स्वागत गरेका थिए। 

राष्ट्रपतिले नवदुर्गाका पुजारी, नाइके र देवगणहरुलाई जनही रु ५०५ का दरले दक्षिणा दिएकी थिइन्।अपराह्न ४ बजेर १० मिनेट जाँदा मन्दिर  पुगेकी  राष्ट्रपति ४ बजेर ३० मिनेटमा फर्किएकी थिइन्। 

देवगणहरुले भने आफूहरुको अवस्था ज्यादै नाजुक भएकाले सरकारले उचित रकमको व्यवस्था गर्नु पर्ने राष्ट्रपतिसमक्ष माग गरेका थिए । 

ब्रह्मायणी बन्ने देवगण लक्ष्मीकुमार वनमालाले राष्ट्रपतिसमक्ष गुनासो राखेपछि राष्ट्रपति भण्डारीले पर्यटन, नागरिक उड्डयन तथा संस्कृति मन्त्रीलाई बोलाएर उचित व्यवस्थापन गर्न लगाउने आश्वासन दिएकाे जानकारी दिए। 

अर्का देवगण शिवभक्त वनमालाले आठ वर्षको बच्चासमेत पढाइ छाडेर आठ महिनासम्म देवगण बन्नुपर्ने बाध्यता आएकाले सरकारले बच्चालाई पढ्ने व्यवस्था गरिदिनुपर्ने बताए। 

नवदुर्गा जात्रा सञ्चालनका लागि वर्षको करिब रु १० लाख खर्च हुने तर रकम कतैबाट नआउँदा प्रसिद्ध जात्रा नै सङ्कटमा परेको गुनासो पनि उनीहरुले गरेका थिए । रासस 

प्रकाशित: २९ आश्विन २०७३ १२:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App