१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

ढोरपाटनमा सिकार याम सुरु, एघार नाउर र पाँच झारलको सिकार अनुमति

बागलुङ- ढोरपाटन सिकार आरक्षमा यो वर्षको पहिलो सिकारयाम सुरु भएको छ। विदेशी सिकारीहरु नाउर तथा झारलको सिकार गर्न आरक्ष पुगेका छन्। असोजदेखि मङ्सिरसम्म चल्ने पहिलो सिकारयामका लागि ११ नाउर र पाँच झारलको सिकार अनुमति दिइएको आरक्ष कार्यालयले जनाएको छ।

विभिन्न देशका तालिमप्राप्त सिकारी आरक्ष क्षेत्रका विभिन्न (ब्लग) मा पुगेर सिकार खेल्ने गरेका छन् । हिमालयन सफारी प्रालिले पठाएका सिकारीहरु आरक्षमा सिकार खेलिरहेको कार्यालयका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिए। पहिलो सिकारयाममा चार वटा सिकार एजेन्सीले सिकारीहरु आरक्षमा पठाउनेछन्।

अमेरिका, जर्मनी, स्पेन, नर्वे, क्यानडा, दक्षिण अमेरिकालगायतका मुलुकबाट सिकारी ढोरपाटन पुग्ने गर्छन् ।

आरक्षको फागुने, वार्षे, सेङ, दोगाडी, घुस्तुङ र सुनदह ‘ब्लग’ गरी छ ब्लगमा सिकार खेल्ने गरिएको छ। सुनदह ‘ब्लग’मा भने धेरै कम मात्रामा सिकारी पुग्ने गरेका छन्। अत्यन्तै विकट क्षेत्रमा रहेको र बढी खर्चिलो हुने हुँदा सिकारीको कम रोजाइँमा सुनदह ‘ब्लग’ पर्ने गरेको छ । विद्युतीय बोलपत्र आह्वान गरेर प्रतिस्पर्धाबाट सिकार एजेन्सीले अनुमति पाउने गरेका छन्।

यो याममा नाउर र झारल सिकारको रु एक लाख २५ हजारदेखि दुई लाख ५० हजारसम्म कायम गरिएको छ । “सिकारको दर बर्सेनि घटबढ भइरहने हुन्छ, बढी प्रतिस्पर्धा हुँदा दर पनि बढ्छ” अधिकृत बरालले भन्नुभयो । उहाँका अनुसार सिकारबाट आरक्ष कार्यालयले बर्सेनि करिब रु एक करोड राजस्व उठाउने गरेको छ।

साहसिक यात्रा र रोमाञ्चक सिकार अनुभवका लागि ढोरपाटन विदेशीको रोजाइँमा पर्ने गरेको छ । लाखौँ रुपैयाँ खर्चमा हेलिकोप्टर लिएर सिकारीहरु आरक्ष क्षेत्रमा पुग्छन् । आरक्ष वर्षको दुई याममा सिकारको लागि खुल्ला हुने गर्छ । असोजदेखि मङ्सिरसम्म पहिलो याम र फागुनदेखि वैसाखसम्म दोस्रो सिकार याम चल्ने गर्छ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले वर्षमा २६ नाउर र १४ भारलको सिकार अनुमति दिने गरेको छ । सो सङ्ख्याका नाउर र झारललाई दुई याममा गरी बाँडेर सिकार खेल्न दिने गरिएको छ । सिकार एजेन्सीबीच हुने प्रतिस्पर्धाका आधारमा सिकारको कोटा र राजस्वको दर कायम हुने गरेको विभागले जनाएको छ। रासस

 

प्रकाशित: २९ आश्विन २०७३ ०६:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App