१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

यस्ताे छ देशको दशैँ मुड !

नेपालीहरूको ठूलो चाड दशैँ दैलोमै आइसकेको छ । देशैभरि दशैँको चहलपहल सुरु भइसकेको छ । बजारमा किनमेल गर्नेको सम्हालिनसक्नु भीड लाग्न थालेको छ । चाडबाडमा खर्च गर्ने प्रवृत्ति बढिरहेको छ । चिजबिजको भाउ पनि छोइनसक्नु छ । यस्तोमा कम आम्दानी हुनेसँग एउटै विकल्प छ– मितव्ययी बनेर रमाइलो गर्ने ।
कस्तो छ त देशको दशैँ मुड ? गोपाल दाहाल (धरान), मनोज घर्तीमगर (पोखरा), पुष्पराज जोशी (धनगढी), विनोद सुवेदी (विराटनगर), लक्ष्मी काफ्ले (झापा), अम्मर जिसी÷हिमाल लम्साल (काठमाडौँ) ले नेपालीको दशैँ मुड बुझ्न खोजेका छन् ।
 थिएन भन्ने आशंका सर्वत्र गरिएको छ,’ समाचारमा भनिएको छ ।
बजारमा दशैँको किनमेल गर्नेको भीडले खुट्टा टेक्ने ठाउँ छैन । राष्ट्र बैँक अघिल्तिर लाम लागेको नयाँ नोट साट्नेहरूको हूल पनि ठूलो छ । बसपार्कमा बसको टिकट सकिएको धेरै दिन भइसक्यो । खसीबोका, भेडाच्यांग्रा, राँगाभैँसी खचाखच भरिएका ट्रकहरू गाउँबाट शहर छिर्दैछन् । पर्यटन व्यवसायीहरू दशैँतिहार प्याकेज बनाउन व्यस्त छन् । देश बडादशैँ मनाउँदैछ ।
धेरै नेपालीले बडादशैँलाई सकेसम्म धुमधाम मनाउने योजना बनाइसकेका छन् । डोटीका कृषक भरत बोहोरा, मोरङका प्रमुख जिल्ला अधिकारी तोयम राय, इटहरीका शिक्षक पिसी ढकाल, झापाकी अनिता गौतम, कास्कीकी शर्मिला पौडेल, काठमाडौँकी लीला विश्वकर्माहरू वर्षमा एक दिन मात्र आउने दशैँलाई गज्जब बनाउने योजनामा छन् ।
परिवार र आफन्तसँग भेटघाट गर्ने अवसर पनि हो दशैँ । पोखराकी रेखा गौतम यही दशैँको मौकामा छरिएर रहेका आफन्तजनसँग भेटघाट गर्दै नवलपरासीस्थित घर पुग्नेछिन् । ‘तनहुँमा हजुरआमाबुबालाई भेट्छु,’ उनले योजना सुनाइन्, ‘मामाघर स्याङ्जा पनि जान्छु । त्यतैबाट घर गएर धुमधामसँग दशैँ मनाउने हो ।’
धरानका संगीतकर्मी राइमन राई लामो बिदा भोजपुरमा रहेका परिवार र आफन्तसँग बिताउन चाहन्छन् । ‘गाउँमै सांगीतिक कार्यक्रम पनि आयोजना गरेर रमाइलो गर्ने हो,’ उनी दशैँ सेलब्रेट गर्न आतुर छन् । धनगढीका स्वास्थ्यकर्मी खेम भट्ट दशैँको दिन पालो मिलाएरै भए पनि घरपरिवारसँग भेटघाट गर्नेछन् । ‘दशँैतिहारको बेला बिरामी बढी आउँछन्, झन् व्यस्त हुनुपर्छ,’ उनले भने, ‘तर, दशैँको बेला कसै न कसैगरी पालो मिलाएर इष्टमित्रको आशीर्वाद थाप्न जाने हो ।’
विराटनगरका व्यवसायी मनोजविक्रम शाह परिवार, आफन्त, इष्टमित्र भेला भएर खुशी साट्ने पर्व दशैँ हो भन्छन् । ‘टाढाटाढाबाट घरमा मान्छेहरू जम्मा हुन थालिसके,’ उनले भने, ‘ठूलो परिवार भएकाले हाम्रो दशैँतिहार भव्य हुन्छ ।’ विराटनगरकै अर्का व्यवसायी अजय गिरीले परिवार, साथीभाइसँग जमघटकै लागि भनेर पोखराबाट च्यांग्रा मगाइसके । दशैँ धुमधाम बनाउन एक लाख रुपैयाँजति खर्च लाग्ने आकलन उनको छ ।  

दशैँ बजेट
आफ्नो गच्छेअनुसार चाडबाड मनाउने हो । त्यसै गर्न खोज्दैछन् नेपालीहरू । आम्दानी हुनेहरूले बजेट छुट्याएरै दशैँ मनाउने योजना बनाइसके । आम्दानी कम हुनेहरू दुईचार छाक मासुभातमै खुशीसाथ दशैँ मनाउने बताउँदै छन् ।
विराटनगरकी अध्यापक सविता गौतम दाहाल दशैँमा ६० हजार जति खर्च होला भन्दै योजना सुनाउँछिन्, ‘यसपालि दुईजना भाइको विवाह परेकाले पनि दशैँ विशेष हुँदैछ । छोराछोरी काठमाडौँमा भएकाले तिहार उतै मनाउने हो ।’
दशैँ भनेपछि चंगा उडाउन हुरुक्क हुने पोखराका कलाकार सुरज आचार्यले यो दशैँमा ६०÷७० हजार रुपैयाँ खर्च हुने अनुमान गरेका छन् । भन्छन्, ‘दशैँमा घुमफिर त हुने नै भयो । किनमेल, दक्षिणा, खानपान सबै गर्दा ६०÷७० हजार जति खर्च होला ।’
पोखराका लोरे गुरुङ सञ्जोक साथीसंगीसँगै बाइकमा मनाङ, मुस्ताङ पुग्ने योजनामा छन् । ‘निलगिरि हिमाल पनि पुगिन्छ,’ उनले भने, ‘मज्जाले हिउँ खेल्ने हो । ६० हजार बजेटले पुग्ला भन्ने अनुमान छ ।’
०००
न उनले ‘सपिङ’ गरेकी छिन् न उनले ‘नयाँ ठाउँ घुम्ने योजना’ नै बनाएकी छिन् । घरमा जमरा पनि राखेकी छैनन् । दशैँ मनाउने सुरसार केही छैन उनको । तर, उनी दशैँ चाहिँ मनाएरै छाड्छिन् ।
बडादशैँ चाडको विशेष स्थान हो, काठमाडौँको हनुमानढोका । जसलाई दशैँ घर भनिन्छ । यही ढोकाको अघिल्तिर परेवाको चारो बेच्ने आमा सन्तोषी मगर यसपालि पनि ‘अघाउञ्जेल मासु–भात खाएर’ दशैँ मनाउने सुरमा छिन् । हनुमानढोकाभित्र घटस्थापनाको साइतमा जमरा राख्दै गर्दा बाहिर शुक्रवारसँग उनले भनिन्, ‘यहाँ ठूलाबडाका लागि जमरा राख्छन् । हामीले पनि अलिअलि पाउँछौँ । ठूलाबडाका लागि रोपेको जमरा लाउन पाएपछि अरू के चाहियो र ?’ भूकम्पले घर भत्किएपछि भाडाको कोठामा बसिरहेकी उनले अर्काको घरमा जमरा राख्ने झन्झट नगरेको बताइन् ।
शहर दशैँमय भइसक्दा पनि सन्तोषी नआत्तिनुको एउटै कारण हो, उनले दशैँका लागि भनेर केही पैसा साँचेकी छिन् । ‘दशैँको मासुभातलाई भनेर दुई हजार रुपैयाँ साँचेकी छु,’ उनले भनिन्, ‘अरू बेला ब्रोइलरभन्दा अरू खान पाइने हैन । दशैँमा जे जसरी भए पनि खसीको मासु र भात खाइन्छ मज्जाले ।’ ज्यामी काम गर्ने श्रीमान्ले सन्तोषीलाई यो दशैँमा ‘एक जोर नयाँ लुगा हाल्दिउँला’ भनेकै छन् । ‘उनले किनिदिएनन् भने पनि तिहारमा भाइहरूले त किनिदिइहाल्छन् नि,’ नामजस्तै सन्तोषी छिन् उनी, ‘हामी जस्ताले दशैँतिहार यसैगरी मनाउने त हो ।’
सन्तोषीजस्ता एक छाक अघाउञ्जेल मासुभात खान पाउँदा खुशीसाथ दशैँ मनाएको अनुभूत गर्ने नेपाली धेरै छन् । तडकभडक नगरीकनै पनि चाडबाडलाई सुखद बिदाइ गर्न सकिने उदाहरण बन्छन् उनीहरू ।
पोखराकी चमेली खाती देखासिकीमा चाड मनाउन नचाहने व्यक्ति हुन् । ‘छिमेकीसँग मिलेर अलिअलि पैसा उठाएर च्यांग्रा ल्याएर रमाइलो गर्ने हो,’ उनले भनिन्, ‘आफ्नो अवस्थाअनुसार मनाउँदा नै रमाइलो हुन्छ ।’ धरानकी शुभेच्छा अधिकारी अकाशिएको बजार भाउले दशैँ खल्लो होला कि भन्ने पिरमा छिन् । भन्छिन्, ‘बजार साह्रै महँगो छ । सोचेजसरी मनाउन नसके पनि खल्लो चाहिँ नहोस् ।’
दशैँमा नयाँ
दशैँको मौकामा नेपालीहरू केही न केही नयाँ गर्ने सोचिरहेका हुन्छन् । नयाँ लुगा, नयाँ गहना, नयाँ परिकार, नयाँ मोटर, नयाँ मोबाइल, यस्तैयस्तै । आफ्नो क्षमताले भ्याएसम्म नयाँ काम गर्न चाहने उनीहरू दशैँमा हुने नयाँले जीवनमै नयाँ ऊर्जा दिनेमा विश्वास गर्छन् ।
धरानकी दिलकुमारी मोक्तान यो दशैँमा नयाँ व्यवसाय सुरु गर्दैछिन् । ‘नयाँ व्यवसाय सुरु गरेपछि दशैँ त्यसै विशेष हुने भैगो,’ उनले भनिन्, ‘दशैँका बेला सुरु हुने नयाँ कामले नयाँ ऊर्जा दिन्छ भन्ने विश्वास छ ।’ धनगढीका भानुभक्त आचार्य पनि नयाँ व्यवसाय सुरु गर्दैछन् । ‘अघिल्लो दशैँमा विदेशमा थिएँ,’ उनी यसपटक दंग छन्, ‘यसपालि त घरपरिवारसँग मनाउन पाउँदा खुशी छु । दाजुहरू पनि बाहिरबाट दशैँकै लागि आउँदै हुनुहुन्छ । नयाँ व्यवसाय पनि सुरु गर्दैछु ।’
ललितपुरका पञ्च रोका यसपालिको दशैँमा नयाँ घर प्रवेश गर्दैछन् । भूकम्पले चर्केको घरलाई भत्काएर उनले नयाँ बनाएका छन् । विदेशबाट कमाएर ल्याएको पैसाले बनाएको घरमा दशैँको मौकामा प्रवेश गर्न पाउँदा परिवार नै दंग छ । ‘यो जति खास दशैँ अरू कुन होला र ?’ उनले भने, ‘दशैँकै दिनमा घर प्रवेश गरेर आफन्त, साथीभाइलाई खानपान गराउने विचारमा छु ।’
दशैँमा एक जोर भए पनि नयाँ लुगा लाउनुपर्छ भन्ने सोच धेरैमा देखियो । काठमाडौँको फुटपाथमा पसल चलाउँदै आएकी रामकला साह यसपालि नयाँ सारी लाउँदैछिन् । ‘पसलमा नयाँ लुगा बेचे पनि आफूले नयाँ लाउनलाई दशैँ नै कुर्नुपर्छ,’ उनले विवशता सुनाइन्, ‘दशैँमा छोराछोरी, बुढा सबैलाई एकएक जोर जसोतसो कपडा किनिदिएकी छु । हामीलाई एक जोर नयाँ कपडा र भरपेट मासुभात भए दशैँ त्यसै रमाइलो भइहाल्छ ।’
विराटनगरकी अरुणा थापाको दशैँ प्लान खासै छैन । ‘एक जोर भए पनि नयाँ लुगा त हाल्नु नै प¥यो,’ उनले भनिन्, ‘अरू त उस्तै त हो ।’
दशैँमा घुमघाम
दशैँतिहारका बेला घुमघाम गर्न चाहनेको संख्या पनि बढ्दै छ । लामो बिदाका बेला घुमघाम गर्ने कुरा धेरैको मुखमा झुण्डिएको छ ।
विराटनगरका देवचन्द्र घिमिरे दशैँकै बेला दार्जिलिङ भ्रमणमा जाँदैछन् । ‘साथिभाइस“ग घुमघाम गरेर दशैँलाई यादगार बनाउने हो,’ उनले भने । व्यवसायी धीरज पोखरेलले सँगै घुम्ने साथीभाइको लामो लिस्ट तयार पारेका छन् । ‘फूलपातीको भोलिपल्ट घरमै आफन्त, साथीभाइ बोलाएर रमाइलो गर्ने हो,’ उनले सुनाए, ‘टीका लाएपछि लामो टुरमा निस्कने हो ।’ सन्तोष चौधरी स–परिवार मुक्तिनाथ दर्शनमा जाँदैछन् ।
धरानका टेलिकम कर्मचारी शिव धमला दशैँकै बिदाको मौका छोपेर मुस्ताङ उक्लिँदै छन् । राजनीतिकर्मी जीतेन्द्र रुम्दाली राईले परिवारसँगै कतै घुम्न जाने बताए । कौशिकी क्याम्पसका प्रिन्सिपल मोहन श्रेष्ठ यतिबेलाको लामो बिदालाई सदुपयोग गर्ने उपाय खोज्दै छन् । ‘अरू बेला यति लामो बिदा नहुने भएकाले यसै बेला भेटघाट र घुमघाम गरेर बिदा सदुपयोग गर्ने हो,’ श्रेष्ठले भने । व्यवसायी पद्मिनी राई पनि घुमघाम नै गर्न चाहन्छिन् ।
झापाका अधिवक्ता लीला उदासी केही सकारात्मक काम गरेर मनाउने बताउँछन् । राजनीतिकर्मी सरिता प्रसाईं यो समयलाई भूकम्प, बाढीलगायत दैवीप्रकोपबाट पीडित भएकाहरूका लागि खर्चने बताउँछिन् । काकीको निधन भएकाले उनी दशैँ भने मनाउँदिनन् । पत्रकार तीर्थ सिग्देल रचनात्मक काम गरेर चाड मनाउने बताउँछन् । हेयर स्टाइलिस्ट निल डेभिड कटुवाल यो दशैँ काठमाडौँमा रहेर पुराना साथीहरूसँग मनाउने योजनामा छन् ।
सिर्जनात्मक बिदा
अहिलेको पुस्ता रमाइलोमा मात्र सीमित छैन । उनीहरू दशैँतिहारको लामो बिदालाई सिर्जनात्मक ढंगले उपयोग गर्न चाहन्छन् ।
पोखराका सुरज हजारे ३५ दिने दशैँतिहार बिदामा विभिन्न पुस्तक पढ्ने र नयाँ ठाउँको घुमघाम गर्ने योजनामा छन् । ‘दशैँसँग जुवातास, खानपिन र मोजमस्ती मात्र जोडिएर आउँदैन,’ उनले भने, ‘नयाँनयाँ पुस्तक पढ्दा र नयाँ ठाउँ घुम्दा यो बिदा धेरै उपलब्धिमूलक हुन्छ भन्ने लाग्छ ।’
सामाखुसी, काठमाडौँका रविन शर्मा पनि दशैँतिहारको फुर्सदलाई भरपूर उपयोग गर्ने मुडमा छन् । यही मौकामा साथीभाइसँग मिलेर अन्नपूर्ण बेस क्याम्प टे«किङ जाने योजनामा रहेको उनले बताए । रविन अरूलाई पनि बिदाको समय सही सदुपयोग गर्न सुझाउँछन् । काठमाडौँ, नयाँ बानेश्वरस्थित के एन्ड के कलेजमा बीएसडब्लू अध्ययनरत सिन्धुपाल्चोकका जीवन केसीले दशैँतिहारको फुर्सदमा चर्चित १० वटा फिल्म हेर्ने योजना बनाएका छन् । काठमाडौँ, कोटेश्वरकी अमृता शर्माले यसपालिको दशैँ वृद्धाश्रममा रहेका वृद्धवृद्धासँग मनाउने योजना सुनाइन् । ‘आफन्तविहीन वृद्धवृद्धासँग बसेर मनाउनेछु,’ उनले भनिन्, ‘उहाँहरूलाई माया र सद्भावको खाँचो छ । त्यही भएर खुशी साट्न जान लागेको हुँ ।’
नेपाल पर्यटन बोर्डका अधिकृत सुमन घिमिरे बिदाको समयमा घुमफिर गर्नेको संख्या बढेको बताउँछन् । ‘अचेल पर्यटकीय क्षेत्रतिर घुमफिर गरेर बिदा मनाउन चाहने बढेका छन्,’ उनले भने, ‘चाडपर्वले एकअर्काको संस्कृतिसँग घुलमिल हुन सहयोग पनि पुगेको छ ।’
‘देखासिकी प्रवृत्ति डरलाग्दो छ’
दीपेन्द्रबहादुर क्षत्री, पूर्वगभर्नर
बजारमा व्यापारीहरूको आधिपत्य छ । ग्राहकको मुड हेरेर उनीहरू सामानको मूल्य तोक्छन् । चाडबाडका बेला हरेक व्यक्ति सकी नसकी धेरै खर्च गर्ने मुडमा हुन्छन् । हुनेले चाडबाडका लागि भनेर आम्दानी जोगाउने, नहुनेले ऋणपान गर्ने प्रवृत्ति छ । देखासिकीमा प्रदर्शन गर्ने शैली पनि छ । नैतिक, अनैतिक सबै काम गरेर पैसा त कमाउनैपर्छ भन्ने मनोविज्ञान डरलाग्दो गरी बढेको छ ।
नेपाली बजार ग्राहकमैत्री छँदै छैन । हामी उत्पादन गर्दैनौँ । बाहिरबाट ल्याएर बेच्नुपर्ने भएकाले व्यापारीले ‘हाम्रो होलसेलमै यति परेको छ’ भन्दिए चुप लाग्नुपर्ने अवस्था छ । अझ यस्ता चाडबाडमा व्यापारीको मनपरीले सीमा नाघ्छ ।
यस्तो अवस्थामा मूल्यवृद्धि त हुने नै भयो । एकपटक अकाशिएको मूल्य तल झर्दैझर्दैन । भूकम्प, नाकाबन्दीका बेला बढेको मूल्य कसैले घटाएन । पेट्रोलको भाउ बढ्नेबित्तिकै उकालो लाग्ने गाडी भाडा पेट्रोल पुरानै मूल्यभन्दा कम भइसक्दा पनि घट्दैन । सरकारले देखाउनका लागि कागजमा घटेको निर्णय गरिदिन्छ । तर, कार्यान्वयन हुँदैन । एकदुई रुपैयाँ फिर्ता माग्न पनि लाज मान्छन् नेपाली ग्राहक । इज्जत जाने डर हुन्छ । यस्तैयस्तै कुराले व्यापारी मनपरी गर्न हौसिन्छन् । हामी आर्थिक अनुशासनका ठूला कुरा गर्छौं । सानातिना कुरामा ध्यान दिँदैनौँ । यस्तै साना ठानिएका कुराले बजार प्रभावित भइसकेको हुन्छ ।
उपभोक्ता हितका कुरा गर्ने केही समितिहरू देखिन्छन् । तर, एकछिन झ्याइँझ्याइँ कराउँछन्, त्यसपछि सेलाउँछन् । पाँच रुपैयाँको सामान सात रुपैयाँ भन्यो भने लिन्न भन्न सक्ने अवस्था ग्राहकसँग छैन । ग्राहकसँग पैसा छ । सामान चाहिएको छ । जति भन्यो उति तिर्दा ठूलो भइन्छ भनेर पो सोच्छन् कि क्या हो ?
यहाँ उपभोक्ता चेतको अभाव छ । यो समाजमा गलतलाई गलत भन्ने प्रवृत्ति छैन । उपभोक्तावादी समाज छ । एकजनासँग दुइटा मोबाइल हुन्छ । यो बाहिरबाटै आउने हो । आयात बढे व्यापार घाटा बढ्छ । उपभोक्ता सचेत भए न गलतविरुद्ध बोल्न सक्छन् । दशैँससैँमा अनुत्पादनमूलक क्षेत्रमा वाहियात खर्च बढेको हुन्छ । यसले पनि व्यापार घाटा बढाउँछ । यो भनेको क्रयशक्ति घट्नु हो । आयात बढेपछि हाम्रो पैसा कमजोर हुन्छ । व्यापार घाटा भनेको अर्थतन्त्रको कमजोर पक्षको सूचक हो । यसले महँगी बढाउन साथ दिन्छ । परनिर्भरता त बढ्ने नै भयो ।
यहाँ केही वर्ग उठेका छन् । तर, ग्याप झन् ठूलो हुन थालेको छ । गरिब झन् धेरै तल पुग्दै छन् । यो गरिबीभन्दा डरलाग्दो कुरा हो । यहाँको मूल समस्या देखासिकीमा खर्च गर्ने प्रवृत्ति हो । १० वर्षजति अघि घरैलाई ढाकेर बत्ती बाल्ने चलन कम थियो । अचेल बिहावारी, चाडबाड हरेक मौकामा लगभग सबैले घर ढाकेरै झिलिमिली पार्छन् । यसबाट देशले कति गुमायो ? वास्ता हुँदैन । यस्ता काम हामीले भारतबाट सिकेका हौँ । धेरै यस्ता सामान भारतबाट आउँछन् ।
हुने खाने वर्ग नै यो अर्थतन्त्रका लागि बाधक छ । नाकाबन्दीका बेला पाँच सय रुपैयाँभन्दा बढी तिरेर एक लिटर पेट्रोल किन्न सक्ने व्यक्तिलाई ‘आयकर तिरेका छौ’ भनेर सोध्दा पसिना निकाल्छ । यो बजार सरकारको नियन्त्रणमै छैन । कालोबजारी जसले पनि गरेको छ । यत्रतत्र सर्वत्र भइसक्यो कालोबजारी । यस्तो नशा लागिसकेका व्यापारीलाई कालोबजारी बाहेकको पैसामा आँखै लाग्दैन । यहाँ त कसलाई मात्र छुने भनेर बस्छ सरकार । उल्टै संरक्षण गर्छ । व्यापारीहरू सरकारलाई धम्क्याउँछन्– ‘छापा मारोस् त मात्र । दुईचार दिन व्यापारै बन्द गर्दिन्छु । आफ्ना जनतालाई के ख्वाउँदो रहेछ सरकारले !’
न्यूनतम आवश्यकताका वस्तु डिफाइन गर्नुपर्छ । व्यवस्थित ढंगबाट पायक पर्ने ठाउँमा किनबेच गर्न सक्ने वातावरण बनाउनुपर्छ । सहुलियत पसल गाउँगाउँमा हरेक समयमा पुग्नुपर्छ । हरेक वस्तुको न्यूनतम मूल्य तोकिदिनुपर्छ । व्यक्तिपिच्छे नीतिनियमको व्याख्या गर्ने चलन हट्नुपर्छ । गरिब जनतालाई चाडबाडकै बेला भए पनि सुखसँग दुई छाक खान दिन नसक्ने हो भने यो कस्तो सरकार, कसको सरकार ?
नयाँ नोट
यतिउति नयाँ नोट निष्कासन गर्ने भन्ने कुराले प्रत्यक्ष रूपमा बजारलाई प्रभावित गर्दैन । पुरानोको ठाउँमा साट्ने मात्र हो । तर, नोटको सुरक्षा गर्ने कुरा महŒवपूर्ण हुन्छ । नेपाली नोटको अवधि कम्तीमा चारपाँच वर्ष हुनुपर्ने हो । तर, त्यो भन्दा कयौँअघि नोट काम नलाग्ने भइसक्छ । राज्यले नयाँ नोट छाप्नमै अर्बाैं लगानी गर्नुपर्ने हुन्छ । पैसाकै लागि हामी मरिहत्ते गर्ने, अनि यही पैसाको सुरक्षा गर्न नखोज्ने कस्तो प्रवृत्ति ! नोट देशको पहिचान पनि हो । नोटको अवस्था हेरेर यहाँका मान्छेको मूल्यांकन गर्न पनि सकिन्छ । नोटको सुरक्षाकै लागि भनेर स्टिच मार्ने काम रोकियो । तर, लेख्ने, फोहोर गर्ने, च्यात्ने काम रोकिएन । नोटमा लभलेटर र फोन नम्बर लेख्नेहरू पनि छन् । राज्यले यस्तालाई पहिचान गरेर कारबाही गरेर सार्वजनिक गर्न सके केही सचेत हुने थिए । जानीजानी त्यस्तो गर्नु अपराध हो । नोट सुखको स्रोत पनि हो । नयाँ नोटले मान्छेको मुड नै राम्रो गर्दिन्छ । थोत्रा नोट साट्ने कुरामा राष्ट्र बैंक उदार छ । टुक्राको ५० प्रतिशत भन्दा बढी भयो भने पूरा मूल्य दिन्छ ।
चाडबाडमा दिने दक्षिणाले बजार प्रभावित गर्न सक्छ । अचेलका मान्छेहरूलाई साना नोट दक्षिणा दिएर चित्त बुझ्दैन । साना केटाकेटीलाई पनि ५०, १०० नै दिनुपर्छ । उसले बजारमा गएर त्यही पैसा देखाउँछ । उसका आँखा कम मूल्यमा पर्दैपर्दैन । त्यसले बजार हुक भएर माथि जान्छ । साना नोटको माग नै छैन अचेल । हामी नेपाली मेहनत गर्न पनि गाह्रो मान्छौँ । कामलाई सानो ठान्छौँ । पैसाको भ्यालू पनि गर्न जान्दैनौँ । अनि व्यापारीबाट ठगिनका लागि तयार पनि छौँ । यस्तो तालले के आर्थिक उन्नति हुन्छ ?
(अम्मर जिसीसँगको कुराकानीमा आधारित)

देशैभरि दशैँ चहलपहल
विराटनगर
महेश जाजु
यो दशैँ विराटनगरमै मनाउने योजना छ । दशैँलगत्तै  सिक्किम घुम्न जाँदैछु । तडकभडक गरेर दशैँ मनाउनुपर्छ भन्ने मलाई लाग्दैन ।

हरि कट्टेल
पहिलेको भन्दा खासै फरक छैन । अग्रज र आफन्तस“ग भेटघाट गर्ने र साहित्यिक गतिविधिमा सक्रिय हुने योजना छ । आफ्नो गच्छेअनुसार दशैँ मनाउने हो ।

सुमित खड्का
यो दशैँमा स्टेज कार्यक्रम परेको छ । टीका नलगाए पनि खानपानमा रमाइलो लाग्छ ।

सनातन मण्डल
दशैँमा बिरामीको चाप बढ्छ । स्वास्थ्यकर्मी पनि कम हुन्छन् । यति बेला बढी समय हस्पिटलमै बित्छ ।


पंकजहरि चञ्चल
यसपालि संगीतकर्मी साथीहरूसँग रमाइलो गरेर दशैँ मनाउने हो । दशैँकै लागि भनेर नयाँ सुट पनि सिलाएको छु ।


धनगढी

भोजराज जोशी
उमेर छिप्पिएपछि दशैँ पनि रमाइलो कम हुँदै जाँदो रहेछ । तैपनि परिवारसँग दशैँ मनाउँदा रमाइलै हुन्छ ।

धनञ्जय जोशी
बिदामा घर गएर रमाइलो गरी दशैँ मनाइन्छ । वर्षदिनको ठूलो चाडमा साथीभाइसँग रमाइलो त गर्नेप¥यो नि ।

वामदेव ओझा
दशैँको अघिल्लो दिनसम्म काममै व्यस्त भइन्छ । दशैँकै दिन हो बिदा हुने । त्यही भएर खासै रमाइलो हुँदैन होला ।

उषा जोशी
बिदामा घर गइन्छ । घरमै रमाइलो गरिन्छ । खासगरी साथीभाइसँग भेट हुन्छ । पुराना कुरा स्मरण गर्दै दशैँ मनाउँछु ।  

सुरत रावत
दशैँमा विभिन्न सांस्कृतिक कार्यक्रम हुन्छन् । तिनै कार्यक्रममा  दर्शकलाई मनोरञ्जन दिलाउने हो । बाँकी समय परिवारसँग बसेर रमाइलो गर्छु ।


मोहन उपाध्याय
फाटेका मनलाई मिलाउन सकेमा दशँै सार्थक हुनेछ । मेरो त दशैँ शुद्ध शाकाहारी हुन्छ ।


धरान
विकास राई
बाल्यकालमा जस्तो रमाइलो त के हुन्थ्यो र ? तैपनि, दशैँ रमाइलैसँग मनाउने प्रयास गरिन्छ ।


नवीन मेन्याङ्वो
अहिले दशैँ परिवार, छोराछोरीको खुसीका लागि मनाइन्छ । यसपालि जुठो परेकाले घरमै सामान्य तरिकाले मनाइन्छ ।

 

ललित राई
दशैँको लागि भनेर केही तयारी गरिएको छैन । जे भए पनि मासुभात खानै प¥यो, टीका लाउनैप¥यो ।

पुनम राई
यसपालिको दशैँमा टीका नलगाए पनि खानपिन भइहाल्छ । परिवार र साथीहरूसँग रमाइलो गरेर मनाइन्छ ।

विष्णु लिम्बू
दशैँमा साथीहरू र परिवारसँग भेटघाट गर्ने, रमाइलो गर्ने, खाने पिउने योजना छ ।

मिना सिंगक
दशैँमा झापामा रहनुभएका बुबाआमालाई भेट्न जान्छु । कामको व्यस्तताबाट फुर्सद निकालेर आराम पनि गरिन्छ दशैँमा ।

झापा


कविता विमली शिवाकोटी
दर्शकस्रोतासँग मनाउने हो । नाच्ने, गाउने, रमाउने योजना छ ।

रञ्जन धमला
यसपटकको दशैँमा बिर्तामोडमा चंगा महोत्सव तथा मनोरञ्जनात्मक कार्यक्रम आयोजना गर्दैैछौँ । पहाडतिर घुम्न जाने योजना पनि छ ।

समीक्षा खतिवडा
झापामै रमाइलो गरेर दशैँ मनाइन्छ । दशैँ भन्नेबित्तिकै मामाघर याद आइहाल्छ । घुम्न पनि जाने योजना छ ।

जीतेन्द्र अग्रवाल
यसपालि टीका लगाउन मिल्दैन । तर, दशैँ खल्लो बनाउने पक्षमा म छैन । सिक्किम, सिलिगुडीतिर सपरिवार घुम्न गइन्छ ।

लोकेन्द्र खड्का
केटाकेटीसँग घुमघाम गर्ने हो ।

दीपक दास
 यो बिदालाई सदुपयोग गर्न मन छ । सामाजिक काम गर्ने योजना छ ।

पञ्चा राजवंशी
अहिले छोराछोरीले दशैँमा टीका लगाउन थालेका छन् । उनीहरू खुशी हुँदा हामी त्यसै खुशी ।

प्रकाश भट्टराई
छोराछोरीलाई लिएर पहाड जाने योजनामा छु । हामीलाई भन्दा पनि दशैँ केटाकेटीलाई आउँदो रहेछ ।

अशोक ठाकुर
भव्य मनाउने भन्दै छन् छोराछोरी । मेलामा घुम्न जानुपर्ला ।

पोखरा
प्रकाश वज्राचार्य
रिल्याक्स गर्ने हो । यतिबेला परिवारसँग बस्ने हो । मस्त साइक्लिङ पनि गरिन्छ ।

छवि सुवेदी
गाउँ स्याङ्जा जाने हो । घरपरिवारसँग बस्ने, मासुभात खाने हो ।

सानु कुँवर
फुर्सद मिलेसम्म घुम्ने हो । घरपरिवारसँग रमाउने हो ।

तेज गिरी
दामन, पालुङ घुम्छु । यो बिदामा स्क्रिप्ट पनि लेख्नु छ ।

केशव बर्देवा
दशँैमा घुमफिरका लागि मुस्ताङ गइन्छ । दशैँको लागि ३० हजार जति बजेट छुट्याएको छु ।

गनेस पौडेल
दशैँमा सधैँ घुम्न निस्कन्छु । परिवारसहित बर्दिया जाने योजना छ ।
इसाखा थापा
बिरामीको सेवा गर्दैमा दशैँ बित्छ । बिदा छैन । दशैँभरि नाइट ड्युटी पर्छ । हस्पिटलका स्टाफ मिलेर पोखरा घुम्ने योजना छ ।

शुक्रबारबाट

प्रकाशित: २३ आश्विन २०७३ ०३:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App