८ वैशाख २०८१ शनिबार
समाज

गोरखा दरबारबाट हनुमानढोका दरबारका लागि फूलपाती पठाइयो

गोरखा- गोरखा दरबारको दसैँ घरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ।
आज बिहान ११ बजे गोरखा दरबारको दसैँघरबाट विधिपूर्वक पूजाअर्चना गरिएको फूलपाती सुसारेको टोलीले हनुमानढोका दरबारतर्फ लगेका हुन्। बोलेरो जिपमार्फत फूलपाती हनुमानढोकातर्फ पठाएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख गणेश भट्टराईले जानकारी दिए।

गोरखाबाट पठाएको फूलपाती हनुमानढोका दरबार पुर्‍याएपछि आज साँझ हनुमानढोका दरबारमा हर्ष बढाइँका साथ फूलपाती भित्र्याउने चलन छ । गोरखाका तत्कालीन राजा पृथ्वीनारायण शाहले हनुमानढोका दरबारबाट राजकाज सुरु गरेदेखि गोरखाको फूलपाती हनुमानढोका दरबार पुर्‍याउने र भित्र्याउने चलन सुरु गरिएको इतिहास छ।
दरबारका सुसारे अमृत कुँवर नेतृत्वको टोलीले फूलपाती हनुमानढोका लिएर गएको हो । गोरखा दरबारको दसैँघरबाट सतिपिपलसम्म सुसारेहरुले फूलपातीको डोली बोकेर ल्याएका थिए । गोरखा दरबार हेरचाह अड्डाले गोरखा पर्यटन विकास केन्द्र, सतिपिपलको एकता युथ क्लब र गोरखा मल्टिट्यालेन्ट गु्रपको सहयोगमा फूलपाती हनुमानढोका पठाएको हो ।
दरबारस्थित दसैँघरबाट मालश्री धुनसहित सतिपिपलसम्म र्‍याली गरिएको थियो भने त्यसपछि सदरमुकामको खोलखोलेसम्म एक सयभन्दा बढी मोटरसाइकलसहित युवाको र्‍यालीले फूलपाती बोकेको गाडीको स्कर्टिङ गरेको सतिपिपलको एकता युथ क्लबका प्रवीण बस्नेतले जानकारी दिए। विगतका वर्षहरुमा भन्दा यसवर्ष भव्यताका साथ फूलपाती काठमाडौँ पठाइएको दरबार हेरचाह अड्डाले जनाएको छ। रासस

 

प्रकाशित: २२ आश्विन २०७३ ०७:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App