२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

दसैंमा बाजा बजाउँंदै युवायुवती

बाजा बजाउँदै भक्तपुरमा दसैंमा लाग्ने नौराते मेला भर्न जाँदै स्थानीय युवा ।

भक्तपुर– आधुनिक देखिन परम्परा छाड्दै गएका भक्तपुरका युवा पुस्ताको आकर्षण परम्परागत बाजाप्रति भने बढ्न थालेको छ । दसैंसँगै यहाँका युवा परम्परागत बाजा बजाउन व्यस्त देखिन थालेका छन् ।

दसंैसँगै सुरु हुने नौराते मेलामा बाजा बजाउने युवाको संख्या धेरै छ । मेला भर्न आउने बाजा बजाउने टोलीमा युवायुवती बढी देखिन्छन् । धिमे, बाँसुरी, झ्यालीलगायत बाजा टोलीमा युवायुवतीकै संख्या उल्लेखनीय छ ।
दसंैको घटस्थापनादेखि दसैंभर यहाँका नौ शक्तिपीठमा मेला लाग्छ । मेला भर्न भक्तपुरका टोलटोलबाट बाजागाजासहित शक्तिपीठ आउँछन् । एकै टोलबाट  पनि दर्जनौं बाजागाजा टोली मेला भर्न शक्तिपीठ आउँछन् । दसैंभर खासगरी साँझ र राति भक्तपुर बाजागाजाका स्वरले गुञ्जायमान हुन्छ ।

बाजाले संस्कृति जगेर्ना हुने मात्र होइन रमाइलो पनि हुने भएकाले बाजा बजाउन आकर्षण बढेको युवा बताउँछन् । ‘बाजा बजाउँदा आनन्द आउने भएकाले आकर्षित भएको हुँ,’ धिमे बजाउँदै मेला भर्न आएका राजन खाताखोले भने, ‘बाजा बजाउँदाको आनन्द नै बेग्लै ।’

बाजा बजाउँदै मेला भर्न आउने युवतीको संख्या पनि उल्लेखनीय छ । पहिले बाजा बजाउनेमा बढी संख्या युवकको हुने भए पनि अहिले बाजाप्रति युवतीहरू पनि उत्तिकै आकर्षित छन् । बाजा टोलीमा झ्याली बजाउँदै आएकी सुनिता श्रेष्ठले बजाउन प्रशिक्षण लिएको सुनाइन् ।

कला, संस्कृति भजन महागुठीका अध्यक्ष जननीप्रसाद मूलले बाजाप्रति युवाको आकर्षण बढेको जनाए । जात्रापर्वमा बाँसुरी, धिमेलगायत बाजाका स्वरले भक्तपुर गुन्जायमान रहने उनी बताउँछन् ।
 

प्रकाशित: २१ आश्विन २०७३ ०२:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App