काठमाडौं– भूकम्पले तहसनहस भक्तपुर अझै तंग्रिइसकेको छैन, बालबालिकाले भने भग्नावशेषमा उभिएर लट्टाई घुमाउँदै चंगाको उडान भरिसकेका छन्, टोलटोलमा दसैंको उमंग छर्न ।
दसैंको एउटा बेग्लै परम्परा चंगा । बालबालिकाले उडाएका रंगीविरंगी विभिन्न आकारका चंगाले आकास रमाइलो देखिन्छ । चंगाको उडानसँगै केटाकेटीका मुक्त हाँसोले सांस्कृतिक नगरीमा दसैकों रौनक छरिइएको छ । भक्तपुरवासीका टाउको चंगा चेट हेर्न आकाशतिर उठेका छन् ।
चंगाले दसैंमा रौनक मात्र थप्दैन, सँगसँगै रहर र उमंग पनि माथि आकाशसम्म उडाउँछ तर पछिल्लो समय यो परम्परा धान्ने घट्दै छन्
चंगाले दसैंमा रौनक मात्र थप्दैन, सँगसँगै रहर र उमंग पनि माथि आकाशसम्म उडाउँछ तर पछिल्लो समय यो परम्परा धान्ने घट्दै छन्
‘चंगा उडाउन मात्र होइन, अरुले उडाएको हेर्न पनि उत्तिकै रमाइलो लाग्छ,’ कक्षा ४ अध्ययनरत छोरो लिएर लट्टाईमा धागो भर्न आएका सूर्यविनायकका रामसुन्दर भेलेले भने, ‘अकासिएको चंगा नियाल्दा मनै चंगा बन्छ ।’
बाल्यकालमा पिताको पछि लागेर चंगाको रमाइलो लिएका भेलेले आफूले किशोरवस्थामा थुप्रै चंगा उडाएको सुनाए । ‘अहिले छोराको पछि लागेको छु,’ उनले भने, ‘छोराले धागो छाडेर अकासिएको चंगा लट्टाईमा बेरेर नजिक ल्याइदिन निकै रमाइलो लाग्छ ।’
उनीझैं रमाइलो मानेर चंगा नियाल्दै गरेका भक्तपुरवासीले चंगाका थुप्रै रमाइला अनुभव सुनाए । आफ्नो समयमा चंगाका पछि कुदेका पाइला अहिले थाकेका छन्, तर आँखा अहिले पनि उत्तिकै टाठा छन् ।
‘पाटीको डिलमा बसेर नानीहरुले उडाएको चंगा हेर्ने रहर बाँकी नै छ,’ भक्तपुर पोर्टरस्क्वायरका ६६ वर्षीय कृष्णगोपाल प्रजापतीले भने, ‘रमाइलो उस्तै छ तर चंगा उडाउने घटेका छन् ।’
आफ्नो समयमा बाँसको लौरोमा धागो बेरेर नेपाली कागजको चंगा उडाएका उनले अहिले रंगीविरंगी चंगा आएको सुनाए ।‘एक पैसा, दुई पैसाका चंगा पनि उडाइयो,’ पाटीमा बेच्न राखेका चंगा नियाल्दै उनले भने, ‘चंगा हेर्दा अहिले पनि बाल्यकाल ताजा भएर आउँछ ।’
दसैंको बिदा मिलेसँगै यस क्षेत्रका पसलमा चंगा किन्ने केटाकेटीको भिड लाग्ने गरेको छ । कतिपय विद्यालयले त नानीहरुको विद्यालय छुट्टीसँगै चंगा उपहार दिएरसमेत पठाएको पाइएको छ । चंगा उडाउनेको संख्या घट्दो छ तर यसको स्मरण गर्दा जोसुकै रमाउँछन् । ‘मोबाइल र टेलिभिजनले नानीहरु चंगाबाट ध्यान टुटेको छ, ‘दीपेन्द्र प्रजापती भन्छन्, ‘अहिले फेरि चंगासँगको उनीहरुको नाता जोडिँदै पनि छ ।’
चंगाबाट नानीहरुले थुप्रै कुरा सिक्न सक्ने उनले बताए । ‘प्रतिकूल अवस्थामा उचाइ लिने चंगाको स्वभावले नानीहरुलाई परिस्थितिसँग जुध्ने शिक्षा दिन्छ,’ उनले भने, ‘अकासिएको चंगाले उनीहरुको लिने उद्देश्यको उचाइ बढाउँछ तर चंगा उडाउँदा नानीहरुले होस पु¥याउनुपर्ने उनले सुनाए । ‘भिर भएको ठाउँ, पर्खाल नभएको छतमा बसेर चंगा उडाउन हुँदैन,’ उनी भन्छन्, ‘अभिभावकले नानीहरुको ख्याल गर्नुपर्छ ।’
संस्कृतिविद तेजेश्वरबाबु ग्वंगः चंगा उडानसँगै मन आल्हादित हुने सुनाउँछन् । ८२ वर्षीय ग्वंगःले चार वर्षअघिसम्म छतमा बसेर चंगा उडाउने गरेको सुनाए । ‘बाल्यकालदेखि लागेको बानीले बुढ्यौलीमा पनि पच्छ्यायो,’ उनले भने, ‘चंगा अकासिँदा आफैं माथि पुगेको भान हुन्छ ।’
चंगा परम्परासँग विभिन्न मिथक पनि जोडिएको सुनाउँदै उनी विगतको समयमा दसैेंताका मात्र चंगा उडाउने गरेको सुनाए । ‘चंगा उडाउने भनेको इन्द्र भगवानलाई अब पानी नपार्नु भन्ने सन्देश दिन मानिन्थ्यो,’ उनले सुनाए ।
चंगाको उचाइको कुरा गर्दा कतिपयले चुँडिएको चंगा टिप्न जाँदा भएको प्रतिस्पर्धाको बखान गर्न छुटाएनन् । ‘एउटा चँुडिएको चंगा एकैपटक पाँच जनाको औंलाले समात्दा सबैको अनुहार अचम्मको देखिन्थ्यो,’ शरद खत्रीले आफ्नो अनुभव सुनाए, ‘चंगाको लुटाचुँडमा त्यो कसैको पनि हुन पाउँदैनथ्यो ।’
केहीले चुँडिएको चंगालाई अभिभावकको नियन्त्रण नभएको सन्तानका रुपमा समेत व्याख्या गरे । जसरी लट्टाईको नियन्त्रणमा रहेको चंगा अकासिन्छ, उसैगरी अभिभावकको नियन्त्रणमा रहेको सन्तानले सही बाटो लिने सुनाए । ‘चंगाले उड्न मात्र होइन, संयमित भएर अकासिन सन्देश दिएजस्तो लाग्छ,’ दामोदर सुवालले भने, लट्टाईको नियन्त्रणमा रहेर अकासिएको चंगाको सौन्दर्य गज्जबको रहन्छ ।’
प्रकाशित: २१ आश्विन २०७३ ०१:०९ शुक्रबार