१३ पुस २०८२ आइतबार
image/svg+xml
समाज

म्याग्दीमा बन्यो चिटिक्कको 'मङ्गला इन्द्रेणी पार्क'

पश्चिम म्याग्दीको मंगला गाउँपालिकाले सबै उमेर समूहका व्यक्ति रमाउन र खेल्न सक्ने पार्क निर्माण गरेको छ।

व्यापारिक केन्द्रको रूपमा उदाउँदै गरेको गाउँपालिकाको केन्द्र बावियाचौर बजार नजिकै आकर्षक मङ्गला इन्द्रेणी–पार्कको आइतबार एक समारोहका बिच उद्घाटन गरिएको छ।

बाबियाचौर स्थायी घर भई अहिले काठमाडौँ बस्दै आएका क्या.ईन्द्रबहादुर अधिकारीले झण्डै ४ रोपनी जग्गा निःशुल्क रूपमा उपलब्ध गराएपछि त्यसमा गाउँपालिका र मंगला युवा क्लबको सहयोगमा १० आना जग्गा खरिद गरी पार्क निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताए।

‘यो रमाउने मात्रै होइन धेरै सिक्ने पार्क सहितको संरचना बनाएका छौ,‘हराउन लागेका साम्रागीहरू समेत राख्ने म्यूजिमयलाई संरचना बनाइसकेका छौ’ अध्यक्ष रोकाले भने। 

उनले बालिबालिकाहरुको शारीरिक, मानसिक र बौद्धिक विकास गर्न तथा ज्येष्ठ नागरिकहरूको समेत सङ्गमस्थल बनाउने उद्देश्यसहित मङ्गला इन्द्रेणी पार्कको परिकल्पना गरी पार्क निर्माण गरिएको बताए।

अचेल खेलकुदका माध्यमबाट पढाउने प्रचलन बढेको अवस्थामा सन्दर्भ सामाग्री अनुसारको संरचना समेत पार्कभित्र बनाउने योजना रहेको अध्यक्ष रोकाको भनाई छ।

बावियाचौरमा बालमैत्री र बालबालिका लक्षित पार्क तथा बाल उद्यान नहुँदा यसले बालबालिकाको सामाजिक, शारीरिक र मानसिक स्वास्थ्यमा समस्या निम्त्याएको अवस्थामा मोबाइल तथा टिभीमा झुण्डिरहने बालबालिकालाई खेलकुदका माध्यमबाट सिकाइने सिकाइ दीर्घकालीन हुने भएकाले पनि पार्क बनाउन जग्गा सहयोग गरेको जग्गादाता क्याप्टेन अधिकारीले बताए।

‘सहयोगलाई सदुपयोग गरेकोमा उत्साहित छु, ‘शैक्षिक क्षेत्रमा पनि सक्ने सहयोग गरेको थिए’ क्याप्टेन अधिकारीले भने।

उनले पार्क बनाउने जग्गा क्याम्पसलाई उपलब्ध गराउने चाहना भए पनि संरचना बनाउन अपुग भएकाले पार्क बनाएको बताए। बालबालिकाको विद्युतीय उपकरणमा आकर्षण बढिरहेको अवस्थामा पार्क बनेपछि अभिभावक समेत निकै उत्साहित देखिएका थिए। गएको आर्थिक वर्षमा निर्माण सम्पन्न भएको इन्द्रेणी पार्कमा एक करोड रुपैयाँभन्दा बढी लगानी गरिएको छ।

पार्क निर्माणमा यस अघि गण्डकी प्रदेश सरकारले डिभिजन वन कार्यालय म्याग्दीमार्फत १८ लाख रुपैयाँ बजेट लगानी गरेको थियो भने बाँकी सबै बजेट गाउँपालिकाले व्यवस्थापन गरेको जनाइएको छ। पार्क बनाउन आवश्यक पर्ने अन्य जग्गा खरिद गर्न मंगला युवा क्लबले २ लाख र गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले १ लाख सहयोग गरेका थिए।

मङ्गलाको बाबियाचौरमा पार्क निर्माण भएपछि बिहान र बेलुकाको समयमा बालबालिकाहरू पार्कमा पुगेर रमाउन थालेका छन्। पार्कभित्र बालबालिकाहरुलाई लक्षित गरेर चिप्लेटी खेल्ने, पिङ खेल्नेलगायत फन पार्कका संरचनाहरू जडान गरिएको छ। पार्क बनेर सञ्चालनमा आएपछि बालबालिकाहरुलाई लगेर भुलाउन र खेलाउन पाउँदा अभिभावकहरूलाई पनि राहत मिलेको छ  पार्कको मुख्य मैदानभन्दा माथि तीन वटा प्यारा फिट निर्माण गरिएको छ।

बालबालिकालक्षित अन्य संरचना थपिने तथा ज्येष्ठ नागरिकहरुका लागि पनि शारीरिक व्यायाम गर्ने, मनोरञ्जन लिने र अध्ययन गर्ने लगायतका संरचनाहरू जडान गरिने प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर खत्रीले बताए।

उनका अनुसार पार्क परिसरभित्र संग्रालय स्थापनाको लागि भवन निर्माण गरिसकिएको छ भने चालु आवभित्र संग्रालयका लागि आवश्यक पर्ने सामाग्री खरिदमा १० लाख समेत विनियोजन गरिएको छ। पार्कमा आउनेहरूलाई लक्षित गरेर पक्की शौचालय समेत बनाइएको छ। यसै गरी पार्कमा अपाङ्गमैत्री वाक–वे तथा बालउद्यानहरु निर्माण गरिएका छन्। त्यस्तै पार्कको वरिपरि घेराबार लगाउनुका साथै जग्गाधनीको अर्धकदको शालिक समेत अनावरण गरिएको छ।

इन्द्रेणी पार्कमा खेल्न आउने बालबालिकाहरुको लागि खेलकुद तथा सङ्ग्रहालय सञ्चालन र ज्येष्ठ नागरिकहरुले व्यायाम गर्न आवश्यक पर्ने उपकरणसहितका सामग्रीहरू व्यवस्थापन गरिने गाउँपालिकाले जनाएको छ।

इन्द्रेणी पार्कभित्र दुबो लगाउनुका साथै धुपी, अशोकलगायत सुगन्धवाल फलफूलका बिरुवाहरू रोपिएका छन्। सामुदायिक वन क्षेत्रमा रहेका खाली तथा पाखो जग्गालाई हरियाली बनाएर उपयोग गर्ने गरी पार्क निर्माण गरिएको हो।

बालबालिका कक्षाकोठाको साँघुरो घेरामा नभई प्राकृतिक वातावरणमा खेल्दै सिक्न चाहने भएकाले हरेक पालिकामा बालबालिका केन्द्रित पार्कको समेत आवश्यकता रहेको छ। पार्कको उद्घाटनको पूर्व सन्ध्यामा सहयोगदातालाई पञ्चेबाजामा बावियाचौर बजार परिक्रममा गरिएको थियो।

उद्घाटन समारोहमा मंगला माविका प्रधानाध्यापक गमबहादुर खत्री, गाउँपालिकाका प्रवक्ता एवम् वडा नं १ का अध्यक्ष एकजित रोका, पूर्व गाउँपालिका उपाध्यक्ष सिर्जना केसी लगायतले बोलेका थिए।

प्रकाशित: ७ फाल्गुन २०७९ १२:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App