२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

सामुदायिक विद्यालयमा छोराछोरी पढाउने शिक्षक र कर्मचारी पुरस्कृत हुने

काठमाडौँ-आफ्ना छोराछोरीलाई सार्वजनिक विद्यालयमा पढाउने कर्मचारी र शिक्षकलाई पुरस्कृत गर्नेलगायत १९ बुँदे कार्ययोजनासहित शिक्षा क्षेत्रमा रुपान्तरणको यात्रा प्रारम्भ भएको शिक्षामन्त्री धनीराम पौडेलले बताएका छन् ।

अघिल्ला शिक्षामन्त्री गिरिराजमणि पोखरेलका १८ बुँदे शैक्षिक सुधारको मार्गचित्रलाई पछ्याउँदै पद बहालीको ४२ औँ दिनमा मन्त्री पौडेल र राज्यमन्त्री धनमाया विकले बिहीबार कार्ययोजना सार्वजनिक गर्दै प्रत्येक जिल्लालाई सुशासन र जवाफदेही बनाउने घोषणा पनि गरे ।

‘आफ्ना बच्चालाई आफैँ सिकाऔँ, सिकाउन हामी सक्षम छााैं’ भन्ने नारासहित सामुदायिक विद्यालयका शिक्षक र कर्मचारीलाई आफ्ना बालबालिका समुदायिक विद्यालयमा नै पढाउन प्रोत्साहन गरिने नीति मन्त्री पौडेलले अघि सारेका छन् । कार्ययोजनामा भनिएको छ, ‘आफ्ना छोराछोरीलाई सार्वजनिक विद्यालयमा भर्ना गर्ने शिक्षक र शिक्षा मन्त्रालय मातहतका कर्मचारीलाई आन्तरिक वृत्तिविकासमा सहयोग पुग्ने गरी पुरस्कारको व्यवस्था गरिनेछ ।’

हाल देशभर करिब ३४ हजार सामुदायिक विद्यालयमा एक लाख सात हजार शिक्षक छन् । मन्त्रालयको मातहतमा करिब दुई हजार ७०० कर्मचारी छन् ।

यस्तै, ‘शिक्षकको हातमा डिजिटल पाठ्यक्रम, विद्यार्थीको झोलामा रङ्गिन पाठ्यपुस्तक’ भन्ने नारासहित सार्वजनिक–निजी साझेदारीमा पाठ्यपुस्तक उत्पादन र वितरण गर्ने, ‘विद्यालयमा विषयगत शिक्षक, सक्षम प्रधानाध्यापक’ को लक्ष्यसहित आन्तरिक प्रतिस्पर्धाका आधारमा प्रधानाध्यापक छनोट गरिने कार्ययोजनामा उल्लेख छ ।

अनुमति प्राप्त गरी जनस्तरबाट स्रोत जुटाई सञ्चालित सामुदायिक विद्यालयलाई नक्साङ्कनको आधारमा यसै वर्षदेखि क्रमशः स्थायी दरबन्दीसहित स्वीकृति प्रदान गर्ने कामलाई अगाडि बढाइने, शिक्षामा समतामूलक पहुँच र गुणस्तर विकासका लागि यसै वर्ष १०० सामुदायिक विद्यालयलाई नमुना विद्यालयका रुपमा विकास गरिने पनि कार्ययोजनामा छ ।

प्रकाशित: २० आश्विन २०७३ १०:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App