१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

फाइदाको लोभमा चामलको सट्टा मदिरा भित्र्याउँदै व्यापारी, खाद्यान्न अभाव

बझाङ-काँडालगायतका दर्जनौँ गाउँमा खाद्यान्न सङ्कट भएको छ ।

सर्वसाधारण जङ्गली कन्दमूल र सिस्नु खान थालेका छन् । ग्रामीण भेगमा खाद्यान्न ढुवानी हुन सकेको छैन । व्यापारीले भने खाद्यान्न ढुवानी नगरी रक्सी ढुवानी गर्न थालेका छन् ।

ग्रामीण भेगमा खाद्यान्न ढुवानी गर्दा व्यापारीलाई कम फाइदा हुने भएपछि उनीहरु खाद्यान्नको साटो बढी फाइदा लिन रक्सी ढुवानी गर्न थालेका हुन् । बर्सेनि खाद्यान्नको सङ्कट झेल्दै आएका उत्तरी भेगका न्युना, बलौडी, लट्टोन, कोल, रजाडा, सैनगाउँ, बिछाडा, धलौन, एैराडी, पराली, डाउगाउँलगायतका बासिन्दा खाद्यान्न अभाव हुँदा जङ्गली कन्दमूल, सिस्नु खान थालेका छन् ।

व्यापारीले पसलमा खाद्य सामग्री नराखी मदिरामात्र राख्ने गरेका काडाँ गाविसका उमेश बोहराले बताए । “अन्न नछोएको पाँच दिन भयो, दसैँ तिहारमा भात खानु पर्ला भनेर गाउँका सबै पसल चाहारेँ, कतै चामल भेटाइनँ,” उनले भने ।

पाखो जमिनमा लगाएको कोदो, मकै, आलुलगायतका बाली घर भित्र्याउन नपाउँदै स्याल, भालु, बँदेलजस्ता जङ्गली जनावरले खाइसकेको काडाँ गाविस–३ का रामबहादुर बोहराले बताए । “घरमा एकमुठी अन्न छैन, ऐँचोपैँचो गरौँ भने पनि कसैको घरमा अन्न छैन,” उनले भने । भोकमरी भएको गाउँमा व्यापारीले खाद्य सामग्री ढुवानी गर्नुको साटो रक्सी ढुवानी गर्न थालेका छन् । चैनपुर पुग्न चार दिन लाग्ने काँडामा एक किलो मोटो चामलको मूल्य रु १६० पर्छ ।

“व्यापारीले फाइदा लिने हो, हामिलाई खाद्य सामग्रीमा भन्दा मदिराबाट बढी फाइदा हुन्छ,” काडाका व्यापारी राजेन्द्र बोहराले भने । चैनपुरबाट कमसल खालको मदिरा रु ३० मा किनेर रु ८० मा बिक्री गर्ने गरेको बोहराले बताए । द्वन्द्वका समयमा बन्द भएको मेलबिसैना खाद्य डिपोबाट नागरिकले आवश्यकता अनुसार चामल पाउन सकेका छैनन् । डिपोमा चामल ढुवानी गर्न सम्बन्धित निकायले पहल नगरेको स्थानीय बासिन्दाले गुनासो गरेका छन् । रासस

प्रकाशित: २० आश्विन २०७३ १०:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App