१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

गण्डकी प्रदेशः मानवअधिकार उल्लंघनबाट ५४१ जना पीडित, सबैभन्दा कम घटना मनाङमा

गण्डकी प्रदेशमा सन् २०२२ मा मानवअधिकार उल्लंघन तथा ज्यादतीका घटनाबाट ५ सय ४१ जना पीडित भएका छन्। ती मध्ये राज्यपक्षबाट ४० जना र अन्य पक्षबाट ५ सय १ जना गरी ५ सय ४१ जना पीडित भएका हुन्। त्यसबाहेक मनाङमा वर्षभरिमा जम्मा दुईवटा घटना प्रहरीमा दर्ता भएका छन्। ती पनि घरझगडाका घटना दर्ता भएका हुन् ।  

मानवअधिकारको क्षेत्रमा कार्यरत संस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकीका प्रमुख शिव खकुरेलका अनुसार यसवर्ष राज्य पक्षबाट ४० जना पुरुष र अन्य पक्षवाट ४ सय ६३ महिला र ३८ पुरुष गरि ५ सय ४१ जना पीडित भएका छन्।

सन् २०२१ मा यही प्रदेशमा राज्य पक्षबाट १ जना महिला र ४८ जना पुरुष गरि ४९ जना तथा अन्य पक्षबाट ४ सय ३४ जना महिला र ३० जना पुरुष गरि ४६४ जना पीडित भएका थिए। सबैगरि वर्षभरिमा ५ सय १३ जना पीडित भएका थिए।  

‘सन् २०२१ को तुलनामा सन् २०२२ मा संख्यात्मक हिसावले राज्य पक्षवाट भएका घटनामा केही कमी देखिएको छ भने अन्य पक्षवाट भएका घटनामा ३७ जना बढी छन् । ‘संख्यात्मक रुपमा अघिल्लो वर्ष भन्दा सन् २०२२ मा प्रदेशमा मानवअधिकार हननका घटनामा कमी आएको देखिएप नि यो नै सन्तोषजनक प्रगति होइन,’ खकुरेलले भने, ‘राज्य र अन्यपक्ष संयम हुने हो भने अधिकार हननका घटनामा कमि आउनेछन्।’

सन् २०२२ मा राज्यपक्षबाट भएका घटनामा अभिव्यक्ति, भेला तथा संगठित हुन पाउने अधिकारबाट ३३ जना, गिरफ्तारीका घटनामा ६ जना र लमजुङ कारागारमा मृत्युको घटनामा १ जना गरि ४० जना पीडित भएका छन्। अन्य पक्षबाट ३ जना महिला घाइते, अपहरणमा एकजना महिला, कुटपिटमा ३ जना महिला र १२ जना पुरुषगरि १५ जना पीडित भएको अभिलेख रहेको उनले बताए।

धम्कीका घटनामा अन्य पक्षवाट महिला २ जना र पुरुष ४ जना गरि ६ जना पीडित भए भने हत्याको घटनामा अन्य पक्षवाट १० जना महिला र १० जना पुरुष गरि २० जनाको हत्या भएको घटना घटेको उनले बताए। त्यसैगरि महिला अधिकार सम्बन्धी विभिन्न घटनामा ३ सय ३७ जना महिला पीडित भएको खकुरेलले बताए।  

बालअधिकार उल्लंघनका घटनामा १ सय ७ जना बालिका र १० जना बालक गरि १ सय १७ जना बालबालिका पीडित भएको उनले बताए। प्रदेशका ११ जिल्लामध्ये सबैभन्दा बढी तनहुँमा मानव अधिकार उलंघन तथा ज्यादतीका घटना भएका छन। तनहुँमा सबैगरि ११६ वटा घटना दर्ता भएका छन्। ती घटना हुँदा राज्य पक्षवाट ८ जना पुरुष र अन्य पक्षबाट १ सय ८ जना पीडित भएका थिए । सबैभन्दा कम हिमालपारिको जिल्ला मनाङमा घरायसी झगडाका दुईवटा बाहेक अन्य घटना दर्ता नभएको पनि खकुरेलले जानकारी दिए।  

प्रकाशित: ७ फाल्गुन २०७९ ०९:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App