२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

तीन चिकित्सकको भर्ना रद्द

धरान- स्वास्थ्य मन्त्रालयले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको पोस्ट ग्रयाजुएट (एमडी÷एमएस) तहको स्पोन्सर कोटामा अपारदर्शीरुपमा भर्ना भएका तीनजनाको भर्ना रद्द गर्ने निर्णय गरेको छ ।

सरकारी शिक्षण संस्थामा चिकित्साशास्त्र छात्रवृत्तिप्राप्त विशेषज्ञ चिकित्सक कार्यविधि, २०७२ अनुसरण नगरेको, नियमित प्रक्रिया पूरा नगरेको र प्रवेश परीक्षा योग्यता पालना नगरी अपारदर्शीरुपमा भर्ना गरिएको भन्दै मन्त्रालयले यस्तो निर्णय गरेको हो ।

स्वास्थ्यमन्त्री गगन थापाले आफ्नो आधिकारिक फेसबुक पेज मिनिस्टर अफ हेल्थ, नेपाल र ट्विटमार्फत भर्ना रद्द गर्ने निर्णय मन्त्रीस्तरबाट भएको सार्वजनिक गरेका छन् । स्पोन्सर कोटा अनियमितता प्रकरणमा संलग्न प्रतिष्ठानका उपकुलपति डा.बलभद्रप्रसाद दासलाई स्पष्टीकरण सोध्न मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने निर्णय भएको पनि उनले जनाएका छन् ।

‘बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको एमडी÷एमएस तहमा नेपाल सरकारले जारी गरेको सरकारी शिक्षण संस्थाहरूमा चिकित्साशास्त्र छात्रवृत्ति प्राप्त विशेषज्ञ चिकित्सक कार्यविधि २०७२ अनुसरण एवं नियमित प्रक्रिया पूरा नगरी तथा प्रवेश परीक्षा योग्यता पालना नगरी अपारदर्शी रुपमा भर्ना भएका तीन जनालाई भर्ना प्रक्रियामा समावेश नगर्न मन्त्रीस्तरबाट निर्णय भएको छ,’ स्वास्थ्यमन्त्री थापाको फेसबुक पेज मिनिस्टर अफ हेल्थमा उल्लेख छ, ‘साथै यस प्रकरणमा संलग्न प्रतिष्ठानका उपकुलपतिलाई स्पष्टीकरण सोध्न मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने निर्णय पनि गरिएको छ ।’

प्रतिष्ठानका पदाधिकारीले आर्थिक चलखेलमा परेर प्रक्रिया मिचेर स्पोन्सर कोटामा सिधै भर्ना लिएको उजुरी परेपछि स्वास्थ्यमन्त्री थापाले चिकित्सा सेवा महाशाखा प्रमुख डा.दीपेन्द्ररमण सिंहको संयोजकत्वमा छानबिन समिति गठन गरेका थिए । समितिले प्रतिष्ठानले स्पोन्सर कोटामा मनपरी भर्ना लिएको पुष्टि गरेको थियो ।

प्रतिष्ठानका उपकुलपति डा. दासले पनि तीन  चिकित्सकको हकमा मन्त्रालयले भर्ना रद्द गर्न पत्र पठाएको पुष्टि गरे । उनले यो विषयमा थप केही बताउन चाहेनन् । ‘मन्त्रालयले एडमिसन क्यान्सिल गरेको पत्र पठाएको छ,’ उनले यति मात्र भने । स्पष्टीकरणको विषयमा उनी बोल्न चाहेनन् । मन्त्रीस्तरीय निर्णयबारे प्रतिक्रिया लिन खोज्दा मन्त्रालयका प्रवक्ता एवं योजना महाशाखा प्रमुख भोगेन्द्र डोटेलसँग सम्पर्क हुन सकेन । स्रोतका अनुसार छानबिन समितिले कार्यविधि मिचेर अपरदर्शीरुपमा भर्ना गरेको प्रतिवेदन दिएपछि मन्त्रालयले प्रतिष्ठानका उपकुलपतिलाई स्पष्टीकरण सोधेको थियो ।

प्रकाशित: २० आश्विन २०७३ ०२:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App