१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

पशुपति दर्शनमा सकस

भक्तपुर लोकन्थलीका श्याम दाहाल महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिरको दर्शन गर्न शनिबार बिहान १ बजे पशुपति क्षेत्र पुगेका थिए तर, उनले दिउँसो १२ बजेसम्म पनि पशुपतिको दर्शन गर्न पाएनन्। दाहाल मात्र होइन काठमाडाैं शान्तिनगरकी कमला दाहाल शनिबार बिहान ३ बजे पशुपतिको दर्शन गर्न पशुपति क्षेत्र पुगेकी थिइन्। उनले शनिबार दिउँसो २ बजेसम्म पनि पशुपतिनाथको दर्शन गर्न लाइनमा बसिरहेकी थिइन्। सर्वसाधारणलाई पशुपतिको दर्शन गर्न अत्याधिक सास्ती रहेको दर्शनार्थीहरूको गुनासो रहेको छ।  

भारतबाट नेपाल आएर बिहान ३ बजेदेखि दर्शनका लागि लाइनमा रिमा पटेलको गुनासो पनि उस्तै थियो। चार दिन अघि नेपाल आएकी उनले बिहान ३ बजेदेखि लाइनमा बसेकी उनले पनि दिउँसो २ बजेसम्म दर्शनको पालो पाएकी थिइनन्। खाली पेट र खाली खुट्टा झण्डै १२ घण्टा लाइन बस्दा पनि पालो नआउँदा उनी दिक्क मान्दै थिइन्। बिहानको चिसाले नांगो खुट्टा हिउँ जस्तो भएको थियो भने दिनभरिको घामले पैताला भतभती पोलेको पटेलको गुनासो थियो।  

सरकारले महाशिवरात्रिमा पशुपतिनाथ मन्दिरको दर्शनका लागि सर्वसाधारणका लागि सहज हुने गरी व्यवस्था गरेको दाबी गरेपनि सर्वसाधारणले भने घण्टौँ लाइन बस्दा पनि दर्शनको अवसर पाइरहेका थिएनन्। झण्डै १२ घण्टादेखि दर्शन गर्ने लाइनमा बसिरहेकी शान्तिनगरकी दाहाल आफूहरू लाइनमा बसिरहेको अवस्थामा पहुँच हुनेहरू सहजै दर्शन गरेर फर्किरहेको बताउँदै थिइन्। ‘पहुँच हुनेले एकै छिनमा दर्शन गरेर फर्किरहेका छन्। हामी रातिदेखि दर्शन गर्ने लाइनमा बसेकाहरूको पालो नै आएको छैनन्,’ उनले गुनासो गरिन्।

दाहालको तर्कसँग पशुपतिनाथ क्षेत्रमा स्वयंसेवकका रूपमा खटिएका श्री हिन्दु प्रतिष्ठान नेपालका सचिव प्रेम सिंह कुँवर पनि सहमत देखिन्छन्। उनले पहुँचवालाका आफन्तलाई दर्शन गराउँदा सर्वसाधारणले दर्शन गराउन समय लागेको उनी बताउँछन्। ‘बिहानपख पशुपतिनाथको दर्शन गराउन अलि सहज थियो। तर १० बजेपछि दर्शन गर्नेहरूको घुइँचो अझै बढेको छ,’ उनले भने, ‘दिउँसोमा दर्शन गर्ने दर्शनार्थीहरू अत्याधिक रूपमा बढ्दै जाने क्रम भएपछि निषेधित गरेको ठाँउहरूबाट पनि मानिसहरू हाम फालेर मन्दिरभित्र प्रवेश गरेको हँुदा स्वयंसेवकलाई सम्हालेर लान गाह्रो भइरहेको छ।’  

महाशिवरात्रिको दिन आजभन्दा १० वर्ष पहिलेबाट नै पशुपति क्षेत्रमा स्वयंसेवकका रूपमा काम गर्दै आएको कुँवरले बताए। अघिल्लो वर्षलाई स्मरण गर्दा यो पालीको महाशिवरात्रिमा पशुपति क्षेत्रभित्र जुलुस तथा हुलदंगा नभएको उनको अनुभव छ ।  

महाशिवरात्रिको सुरक्षा र व्यवस्थापनका लागि सरकारले झण्डै पाँच हजार सुरक्षा कर्मीहरूलाई खटाएको थियो। त्यसका अतिरिक्त पशुपतिनाथमा दर्शनका लागि देश तथा विदेशबाट आउने दर्शनार्थीको सहज दर्शनको वातावरण बनाउन चार हजार स्वयंसेवक पनि पशुपतिनाथ क्षेत्रमा खटाइएको थियो।  

पशुपतिनाथ मन्दिरको मुख्य मन्दिर परिसरको सुरक्षाका लागि नेपाली सेनालाई पनि खटाइएको थियो। महाशिवरात्रीमा पशुपतिनाथको दर्शनका लागि देशभित्रबाट मात्र नभएर भारतलगायतका देशबाट पनि ठूलो संख्यामा दर्शनार्थीहरू आएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। पशुपतिनाथको दर्शनका लागि भारतबाट हजारौंको संख्यामा साधु तथा सन्तको समेत आगमन भएको छ।  

पशुपति क्षेत्रमा करिब पाँच हजार साधुसन्तको उपस्थिति रहेको जनाइएको छ। पशुपति दर्शनका लागि आएका साधु सन्तलाई पशुपति क्षेत्र विकास कोषले खाने तथा बस्ने व्यवस्था मिलाएको छ।

प्रकाशित: ७ फाल्गुन २०७९ ०१:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App