चितवन-प्रधानमन्त्री पुष्पकमल दाहालले भरतपुरको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने क्यान्सर उपचार केन्द्रको रुपमा विकास गर्न सरकारले सहयोग गर्ने बताएका छन्।
अस्पताल परिसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले अस्पतालको भौतिक निर्माण र उपकरण खरिदका लागि आवश्यक पर्ने बजेट विनियोजनका लागि सरकार सकारात्मक रहेको बताए ।
नेपालमा छोटो समयमा धेरै काम गर्नुपर्ने अवस्था रहेको भन्दै प्रधानमन्त्री दाहालले स्वास्थ्य र शिक्षा क्षेत्रमा सकारात्मक परिणाम आउने गरी द्रुतगतिमा काम गर्नुपर्नेमा जोड दिए ।
सो अवसरमा स्वास्थ्यमन्त्री गगनकुमार थापाले जनताको सेवामा कत्ति पनि विचलित नभई काम गर्न निर्देशन दिए । चीन सरकारले निर्माण गरिदिएको सो अस्पताल नेपाल र चीनबीचको मित्रताको प्रतीक रहेको भन्दै उनले नेपालका महान् नेताका नामबाट बनेको अस्पताल भएकाले पनि यसको महत्व छुट्टै रहेको बताए ।
स्वास्थ्यमन्त्री थापाले पुराना उपकरण क्रमशः परिवर्तन गरी आधुनिक र उच्च क्षमताका उपकरण जडान गरेर सेवा दिनुपर्ने आवश्यकतामा जोड दिए ।
अस्पतालका कार्यकारी निर्देशक डा चीनबहादुर पुनले अस्पतालले गत वर्ष एक लाख १४ हजार बिरामीलाई सेवा दिएको र १५ वर्षमुनि र ७५ वर्षभन्दा माथिका बिरामीलाई निःशुल्क उपचारको व्यवस्था गरिएको जानकारी गराए । रासस
प्रकाशित: १२ आश्विन २०७३ ०९:३९ बुधबार