७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

रानीमहल पुगेका जोडीले मनाए ‘भ्यालेन्टाइन डे’

फेब्रुअरी १४ भ्यालेन्टाइन डे। यस अवसरमा केही जोडीले रानीमहल पुगेर प्रेमका चिनारीका रूपमा प्रेम सफलताको कामना, सिक्का दान तथा एक आपसमा गुलाफका फूल साटासाट गरे। उनीहरूले प्रेम प्रगाढ रहेको विश्वास आफ्ना जीवन साथीलाई गराए।

‘प्रेम प्रतीक’ का रूपमा रहेको रानीमहलमा प्रणय दिवस मनाउन पुगेका जोडीलाई मंगलबार तानसेन नगरपालिकाले स्वागत तथा सम्मान गर्‍यो। तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले ऐतिहासिक पर्यटकीय स्थल रानीमहलका बारेमा प्रचार गरी पर्यटक तथा प्रेम जोडीको आर्कषणको केन्द्र बनाउनुपर्नेमा जोड दिएका छन्। नगर प्रमुख भन्छन्, ‘पछिल्लो समय प्रणय दिवसका अवसरमा युवायुवती रानीमहलमा प्रेम साटासाट गर्न आउने क्रम बढ्दो छ। यसलाई व्यवस्थित तथा सुमधुर बनाउन हामीले सहजीकरण गरेका हौं। अहिले सुरुवात हो। यसलाई थप विकास र विस्तारका लागि योजना बनाएर अघि बढ्छौं।’

प्रेम दिवसका अवसरमा रानीमहलमा पुग्ने जोडीलाई तानसेन नगरपालिकाले नाटा लुम्बिनी र नाटा पाल्पा च्याप्टरको सहजीकरणमा सम्मानसमेत गरेको थियो। प्रेमको प्रतीकका रहेको रानीमहल दरबारलाई ब्रान्डिङ गर्न तानसेन नगरपालिकाले प्रचारात्मक, प्रवद्र्धनात्मक तथा संरक्षणात्मक कार्य अगाडि बढाएको छ। लुम्बिनी प्रदेशसभा सदस्य वीरबहादुर रानाले प्रेम बाँड्दा आपसी सम्बन्ध सुमधुर बन्ने भएकाले तनावबाट मुक्त हुन सबैले प्रेम साट्नुपर्ने बताए। उनी भन्छन्, ‘आपसको गाढा प्रेमले मात्रै विश्वमा शान्ति कायम गर्न सहयोग पुग्छ। प्रेम मानव जीवनकै लागि महत्वपूर्ण रहेको छ।’

पाल्पामा पर्यटक भित्रिने र प्रचारप्रसारमा सहयोग पुग्ने विश्वासका साथ कार्यक्रम आयोजना गरिएको तानसेन नगर उपप्रमुख प्रतीक्षा गाहा सिंजालीले बताइन्।

के हो रानीमहल ?

१९५० सालमा पाल्पा गौंडाका तैनाथवाला प्रधान सेनापति खड्ग शमशेरले आफ्नी दिवंगत रानी तेजकुमारीको सम्झनामा रानीमहल निर्माण गरेका थिए। पाल्पाको बौघागुम्हा र खानीगाउँ गाविसको सिमानामा कालीगण्डकीको किनारमा बनाइएको ताजमहल जिल्ला सदरमुकाम तानसेनदेखि १३ किलोमिटर उत्तरमा छ। आजको दिनमा यो महलमा सच्चा जोडीहरू आफ्ना अतीत सम्झँदै वर्तमानमा टेकेर भविष्यको कल्पना गरिरहेका भेटिन्छन्।

वर्षमा एक दिन सच्चा प्रेम र आस्था प्रकट गर्ने दिनका रूपमा मनाइने प्रणय दिवस र विशेषगरी किशोरावस्थाका युवायुवतीले मायापिरती साटासाट गरेर प्रणय दिवस मनाए। मनमा गुम्सिएका भावना र तरंग ओतप्रोत गर्ने पर्वका रूपमा पनि यसलाई लिन थालिएको छ। पारिवारिक माया ममताभन्दा पनि भिन्नै आभास गर्ने मायालाई दुई आत्माको मिलन मानिन्छ। भनिन्छ– प्रेम आस्था र विश्वासमा चलेको हुन्छ।

१९५० सालमा शिलान्यास गरी १९५४ सालमा काली नदीको चट्टानमाथि पश्चिमी कलाकैशलको बेजोड नमुनाले सिँगारेर चार वर्षको अवधिमा महत्वपूर्ण फर्निचर, महँगा महँगा सजावटका सामग्रीले भरिपूर्ण कोठामा एक्लै रात बिताउँदा खड्ग शमशेर बेलाबेलामा मध्यरातमा पनि आफ्नी दिवंगत रानी सम्झँदै भावविह्वल हुन्थे, रुदैँ चिच्याउँथे भन्ने गरिन्छ।

१९६० सालमा खड्ग शमशेरले श्री ३ को पद र उपत्यका कब्जा गर्ने षड्यन्त्र गरे भन्ने श्री ३ चन्द्रशमशेरले थाहा पाए। चन्द्रशमशेरले पाल्पामा सेना पठाई तैनाथी आफ्नो हातमा लिए। आफूमाथि खतराको घन्टी बज्ने लक्षण देखा परेपछि सरकारी ढुकुटी लिएर उनी भारत पलायन भए। त्यसै दिनदेखि प्रेमको प्रतीक ठानिएको दरबार एक्लो अवस्थामा रह्यो, तर वर्षमा एक दिन आउने प्रणय दिवसका अवसरमा भने यो महलमा राम्रै चहपहल हुन थालेको छ। पाल्पा र स्याङ्जाको सिमानामा पर्ने यो दरबार खड्गशमशेरले युनानी शैलीमा बेलायती इन्जिनियरको डिजाइनअनुसार बनाएका हुन्। कालीगण्डकी जलविद्युत् आयोजनाले स्याङ्जाको मिर्मीमा पानी नथुन्दै यहाँ विदेशी पर्यटकको ओइरो लाग्थ्यो। जुन समय दरबारलाई स्याङ्जाबाट झ्वाट्ट हेर्दा कालिगण्डकीमाथि तैरिएजस्तो देखिन्थ्यो। अहिले यो किनारमा छ। दरबारको जगबाट कालीनदी बगे पनि हालसम्म दरबारलाई भने कुनै क्षति पुर्‍याएको छैन।

करिब ११ रोपनी क्षेत्रफलमा रहेको यो ताजमलमा २४ वटा कोठा छन्। ताजमहलको परिसरमा मनमोहक बगैंचा, शिवालय, पानीपोखरी, शिवलिंगमा नागनागिनीले जल शेचनको दृश्य, भान्सा घर, घोडा बाँध्ने तबेला ठूला घण्टसहितको विभिन्न आकर्षक कलाकृति देख्न सकिन्छ।  

नेपालको ताजमहल भनेर चिनिन्छ रानीमहललाई। कालीगण्डकी करिडोरसँग जोडिएसँगै रानीमहल पुग्ने पर्यटक संख्यामा आशातीत प्रगति देखिएको छ। उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोरले रानीमहललाई राम्दीदेखि अर्गलीसम्मको सडक यातायातसँग जोडेसँगै यहाँ पुग्ने पर्यटक संख्यामा वृद्धि भएको छ। स्याङ्जा र पाल्पाको संगमस्थल धार्मिकस्थल राम्दीदेखि पनि २० किलोमिटरको दूरीमा रानीमहल पुग्न सकिन्छ।

प्रकाशित: ३ फाल्गुन २०७९ ०१:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App