२६ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

विद्यार्थी तान्यो ल्यापटपले

भक्तपुर– विद्यालय जानै नमान्ने सिद्धि शारदा प्राथमिक विद्यालय ब्रम्हायणी भक्तपुरको कक्षा १ मा अध्ययनरत मीना बुढाथोकी हिजोआज विद्यालयबाट घर फर्कन मान्दिनन् । पहिला स्कुल जाने भनेपछि ज्वरो आउने उनी हिजोआज स्कुलमै रत्तिन थालेकी छन् ।

मीनाजस्तै अहिले अरु विद्यार्थी पनि विद्यालय जान हुरुक्क हुन्छन् । कक्षा तीनसम्म अध्यापन हुने सिद्धि शारदाका अधिकांश विद्यार्थीलाई स्कुल जान हतार हुन्छ र त्यहीं रमाउँछन् । एक वर्षअघि जम्मा २५ जना मात्र विद्यार्थीमा खुम्चेको विद्यालयमा अहिले विद्यार्थी संख्या बढेर १ सय २३ पुगेको छ । विद्यार्थी न्यून भएर बन्द हुने स्थितिमा पुगेको विद्यालय अहिले भक्तपुरभरी विद्यार्थी संख्या वृद्धिदर धेरै भएको विद्यालयका रुपमा चिनिन थालेको छ ।

विद्यालयले ७ वटा किड्स ल्यापटपको व्यवस्था गरेपछि विद्यार्थी रमाइरमाई विद्यालय आउन थालेका सहप्रधानाध्यापक हरिकृष्ण दुवालले बताए । विद्यार्थीले साताको एक दिन २ घन्टा समूहमा ल्यापटप चलाउन दिने गरेको उनले बताए । विद्यालयले ७ वटा ल्यापटप हरेक शुक्रबार कक्षा एक, कक्षा दुई र कक्षा तीनका विद्यार्थीले समूहमा दुई÷दुई घन्टा ल्यापटप चलाउन पाउने व्यवस्था मिलाएको छ । विद्यार्थी आकर्षित गर्न विद्यालयले २० हजार रुपैयाँ मूल्यका ल्यापटप किनेको दुवालले जनाए । यसबाट घरमा कम्प्युटर नभएका विपन्न परिवारका विद्यार्थी आकर्षित भएको विद्यालयले जनाएको छ ।

विद्यालयका अनुसार गत वर्ष विद्यार्थी संख्या २५ जनाको हाराहारी थियो । अहिले बढेर विद्यार्थी संख्या १ सय २३ पुगेको छ । विद्यालयले प्ले ग्रुपमा २७ जना, कक्षा एक मा २३ जना, कक्षा दुईमा ४५ जना र कक्षा तीनमा २८ जना विद्यार्थी भर्ना भएको जनाएको छ । भर्ना भएका अधिकांश विद्यार्थी विद्यालय नियमित आउने पनि विद्यालयले जनायो ।

शिक्षिका सुलोचना शिल्पकारले ल्यापटपबाट विद्यार्थीले गणितका समस्या समाधान गर्ने बताइन् । साथै उनीहरू विभिन्न जानकारीमूलक खेलमा रमाउने गरेको उनले सुनाइन् ।

थोरै विद्यार्थी संख्याका कारण जिल्ला शिक्षा कार्यालय भक्तपुरले बागीश्वर उच्च मावि च्याम्हासिंहमा मर्ज गरेको सिद्धि शारदा अहिले जिल्लाकै नमूना विद्यालय बन्ने क्रममा छ । अर्को विद्यालयमा मर्ज नभई स्वतन्त्र रुपमा सञ्चालन गर्नुपर्छ भन्ने मान्यतासहित सिद्धि शारदा भक्तपुर नगरपालिका–१ ब्रम्हायणीस्थित ब्रम्हायणीपीठ विकास समितिको भवनमा सञ्चालन भइरहेको छ । यसअघि घना बस्तीको चोछेंभित्र रहेको विद्यालय भूकम्पमा भवन भत्केपछि ब्रम्हायणीमा सारिएको हो ।

भक्तपुरका जिल्ला शिक्षा अधिकारी अर्जुनबहादुर रायमाझीले ल्यापटपकै कारण सिद्धि शारदामा विद्यार्थी संख्या बढेको बताए । विद्यार्थी आकर्षित गर्न सरकारी विद्यालयमा ल्यापटप व्यवस्था गरिएको पहिलो विद्यालय भएको जिल्ला शिक्षा कार्यालय भक्तपुरले जनाएको छ ।
 

 

प्रकाशित: ११ आश्विन २०७३ ०२:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App