१५ असार २०८१ शनिबार
image/svg+xml
समाज

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलः दिउँसोमा चरा र रातीमा स्यालको रजाइँ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल। तस्बिर/नागरिक

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वि खण्डमा विजयपुर खोला पर्छ । दक्षिणतिर भने सेतीनदी पर्छ। विजयपुर खोला त धावनमार्गको झनै नजिक छ। यतिसम्मकी अवतरणको क्रममा रहेको जहाजले खोला पार गर्नासाथ धावनमार्ग टेक्न पुगिहाल्छ।  

विमानस्थलको नजिक भएर बग्ने यी दुवै खोला अधिक समय दुर्गन्धित हुन्छन। सेतीको तुलनामा विजयपुर खोला त झनै फोहर हुन्छ। मरेका गाइबस्तु, कुकुर, बिरालो, कुखुरा काटेपछि निस्केको फोहर, बंगुरको फोहर खोलामै फ्याकिन्छ। जसले गर्दा खोला क्षेत्र दुर्गन्धित हुने र त्यसले गर्दा त्यस क्षेत्रमा चरा आकर्षित हुने गरेका छन्। सिनोका कारण आकर्षित हुने चरा विमानस्थलका लागि ‘चूनौती’ बन्दै गएको विमानस्थलले बताएको छ।

खोलामा पानी कम भएको अवस्थामा त सिनोका कारण झनै चरा आकर्षित हुने हुँदा समस्या बढ्ने गरेको छ। विमानस्थलका प्रमुख बिक्रम गौतमका अनुसार खोलामा जथाभावि फ्याकिने सिनोका कारण चरा आकर्षित भएकोले त्यसको चूनौती विमानस्थलबाट हुने हवाई उडान र अवरतणमा पर्ने गरेको छ। केहीदिन अघि त अवतरणको क्रममा रहेको जहाजसँग चरा नै ठोक्किएको थियो।  

‘विमानस्थलको नजिक रहेको ल्याण्डफिलसाइट त हट्यो, तर, खोलामा जथाभावि बगेर आउने सिनोले हवाई उडानमा चूनौती बढाएको छ,’ गौतमले भने, ‘मरेका पशुपंक्षी खोलामा भेटिन्छन्। त्यही सिनोलाई आहारा बनाउने चराको खोला क्षेत्रमा बिगबिगी छ। जसले गर्दा हवाई उडानमा समस्या थपेको छ।’

विमानस्थलको धावनमार्गको मुखैमा चराको बथान नै उड्ने गरेको उनले सुनाए। ‘जथाभावि खोलामा फोहर फ्याक्दा समस्या बढेको छ। फोहरकै कारण चराको जोखिम रहेको भन्दै महानगरले ल्याण्डफिलसाइट हटायो, तर, जथाभावि फोहर खोलामा बगेर आउँदा त्रास बढाएको छ,’ उनले भने, ‘विजयपुर खोलामा झनै बढी चरा हुन्छन। जहाज अवतरण गर्नैलाग्दा चराको बथान उड्छन।’ यसअघि पोखरा महानगरले फोहर व्यवस्थापन गर्दैे आएको पोखरा–१४ बाच्छेबुडुवाको ल्याण्डफिलसाइट विमानस्थल संचालनमा आएसँगै हटाइएको थियो।’ अहिले महानगरले सहरको फोहर पोखरा–३२ लामेआहालमा फ्याकिरहेको छ।  

फोहरका कारण हुने जोखिम बाहेक विमानस्थल क्षेत्रको झाडिका कारण स्यालको जोखिम पनि उत्तिकै रहेको पोखरा–१४ का अध्यक्ष बोधराज कार्की बताउँछन्। ‘एकातिर सेती र अर्काेतिर विजयपुर खोला छन। दुवै खोला आसपासमा बगेर आउने सिनोका कारण चरा आकर्षित हुने गरेका छन्। त्यत्ति मात्र नभई विमानस्थल नजिकैको झाडिमा स्याल लुकेर बस्ने गरेका छन्,’ उनले भने, ‘विमानस्थल क्षेत्रमा दिउँसोमा चरा र रातीमा स्यालको रजाइँ हुने गरेको छ। हाम्रो बस्ती नजिकै रातभर स्याल कराएको आवाज सुनिन्छ।’ विमानस्थल परिसरमा कम्तिमा पनि एकसयवटा स्याल रहेको उनको अनुमान छ।

कार्कीका अनुसार विमानस्थल संचालनमा आउनुभन्दा पहिले नै त्यस क्षेत्रमा स्यालको समस्या रहेको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)लाई समेत जानकारी गराइएको थियो। स्याल लुक्न नदिन झाडि सफा गर्न सुझाइएको भएपनि सुनुवाई नभएको उनले बताए। ‘विजयपुर खोलातिरको भाग खुला हुँदा स्याल विमानस्थल भित्र पस्ने गरेका छन्। दिउँसोमा जहाजको आवाजले झाडिमा लुकेर बस्ने स्याल बेलुकी भएपछि विमानस्थलको खुला चौरमा निस्कछन्। अहिलेसम्म रातीमा उडान नभएकोले पनि साँझ परेपछि स्यालको रजाँइ सुरु हुन्छ,’ कार्कीले भने, ‘रातभर विमानस्थल क्षेत्रमा स्याल कराइरहेका हुन्छन्। धावनमार्गतिर स्याल दौड्दा जहाजसँग ठोक्किने हो की भन्ने त्रास हामीलाई छ।’

रात्रीकालीन उडानका क्रममा स्याल नै धावनमार्गमा दौड्ने जोखिम रहेको वडाध्यक्ष कार्कीले बताए। यसअघि पोखराको पुरानो विमानस्थलमा पनि बेलाबेला धावनमार्गमा स्याल दौड्ने गर्दा हवाई उडान नै रोकिने गरेको थियो। ‘झाडि सफा गरेर स्याल लुक्ने ठाउँ खालि गरिदिनुपर्छ । नत्र जोखिम निम्त्याउन सक्छ,’ उनले भने। दिउँसोमा पनि कुनैपनि बेला स्याल धावनमार्गतिर दौड्ने सम्भावना रहेको पनि अध्यक्ष कार्कीले बताए।  

‘फोहर पनि जथाभावि फ्याक्ने गरिएको छ। फोहर फाल्ने ठाउँमा जाली हालेर फाल्न रोकौ भनेका हौ,’ उनले भने, ‘तर सुनुवाई भएको छैन। विजयपुरतिर र देउराली क्षेत्रमा बढी फोहर फ्याकिएको हुन्छ।’ त्यसबाहेक त्यही क्षेत्रमा अहिले पनि गिद्धको बासस्थान रहेको उनले बताए।  

पोखरा पंक्षी समाजका सचिव हेमन्त ढकाल पनि विमानस्थल क्षेत्रमा चराको जत्तिकै जोखिम त्यस क्षेत्रको झाडिमा लुकेर बस्ने स्यालको पनि रहेको बताउँछन्। विमानस्थल नजिकैका स्थानीयबासि समेत रहेका ढकाल भन्छन, ‘विमानस्थल वरिपरिको नहरको छेउछेउ रातभर स्याल हिड्छन् । विमानस्थल भित्रै स्याल छन्। पहिला पनि हिड्थे, अहिले पनि दिनहुँ देखिन्छन। दिउँसोमा चराको र रातमा स्यालको त्रास रहेको उनले बताए।  

‘चमेराको पनि बथानै छ। एकै रुखमा चमेराको बथान बस्छन्। त्यसबाहेक गिद्धका लागि विजयपुर र सेतीमा बगेर आउने सिनो नै आहारा हो, त्यसका लागि पनि चरा आउँछन,’ ढकालले भने। विमानस्थल निर्माण गरेर संचालनमा ल्याइसक्दा पनि जोखिमलाई कम गर्नका लागि खासै पहल नभएको उनले बताए। ‘विमानस्थल बनाउने र चलाउने मात्र सरकारी निकायको ध्यान गएको, तर जोखिम कम गर्न ध्यान दिइएन। चरा र स्यालसित ठोक्किने त्रास उत्तिकै छ। खोलामा फोहर बगेर आएपछि चरा र स्यालको समस्या बढ्ने नै भयो,’ उनले भने, ‘समस्या परेपछि बल्ल बाहिर आउँछ। अहिले स्याल र चराले जोखिम निम्त्याइरहेका छन्। हरेक रात स्याल कराएको सुनिन्छ।’  

प्रकाशित: १ फाल्गुन २०७९ १०:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App