२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

मोटरसाइकल पछाडि बसेका साथीको बीचबाटोमै हत्या

सुरुङ्गा (झापा)-शरणामती गाविसका सहलेखापाल यामनाथ रिजालको हत्यामा संलग्न भएको भन्दै सोही ठाउँका ४६ वर्षीय लय शिवाकोटीलाई प्रहरीले पक्राउ गरी ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरीको प्रारम्भिक अनुसन्धानबाट शिवाकोटीले नै उनको हत्या गरेको देखिएकाले ज्यान मार्ने उद्योगमा उनीमाथि मुद्दा दर्ता गरिएको बताए ।

शिवाकोटीले मोटरसाइकलमा पछाडि राखेर रिजाललाई घरतर्फ लगेको र शरणामती–५ चप्रमारीमा उनको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट देखिएकाले उनीमाथि मुद्दा चलाइएको प्रहरी उपरीक्षक क्षेत्रीले बताए ।

रिजालको बुधबार बिहान कनकाई नगरपालिकाको चप्रमारीमा सडक किनारमा शव फेला परेको थियो । रिजालको निधार र खुट्टामा नीलो डाम देखेपछि प्रहरीले शिवाकोटीलाई नियन्त्रणमा लिएको थियो । शिवाकोटी र रिजाल साथी भएको प्रहरीले जनाएको छ ।

मङ्गलबार राति अबेरसम्म सुरुङ्गास्थित त्रिवेणी होटलमा मृतक रिजाल र शिवाकोटीले मादकपदार्थ सेवन गरेर घर फर्कने क्रममा रिजालको चप्रमारीमा हत्या भएको अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक खड्गबहादुर खत्रीले बताए ।

रिजालको हत्या भएको विरोधमा स्थानीय निकाय कर्मचारी सङ्घ झापाले बिहीबार स्थानीय निकाय अन्तर्गतका सबै कार्यालय बन्द गरेर हत्याराको पहिचान गरी कानुनी कारबाही गर्न माग गरेका थिए । रासस

प्रकाशित: ७ आश्विन २०७३ ०५:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App