१९ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

पोखरीमा हानेको जालमा महिलाको शव फेला

माछा मार्ने क्रममा शुक्रबार रंगेली नगरपालिका–२ स्थित खोरियाको एक पोखरीमा जाल हान्दा एक महिलाको शव फेला परेको छ। 

शुक्रबार दिउँसोतिर दुर्गा कार्कीको माछा पोखरीमा जाल हान्ने क्रममा एक महिलाको शव फेला परेको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले जानकारी दिए। उनका अनुसार माछा मार्ने क्रममा जाल हान्दा जालमा राता कपडासहितको मान्छे देखेपछि प्रहरीलाई खबर गर्न साथ पुगी अनुसन्धान थालेको बताए। 

पोखरीबाट महिलाको शव निकालेर पोस्टमार्टमका लागि प्रहरीले कोसी अस्पताल पठाएको छ। महिलाको शव पोखरीमा फेला परेको खबर प्राप्त हुनसाथ तत्कालै प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरीलाई घटनास्थल पठाएको बताउँदै, एसपी पोखरेलले भने, ‘जाल हान्दा अड्किएको महिलाको शव निकालेर पोस्टमार्टमका लागि अस्पताल पठाएका छौँ। तराई मूलको जस्तो देखिने अन्दाजी ५० वर्षीया महिलाको पहिचान खुल्न सकेको छैन। मृतक महिलाको पहिचानका लागि प्रहरी परिचालन गरिएको छ।’

घटनास्थल आफैँ पुगेर अनुसन्धान अघि बढाएको एसपी पोखरेलले बताए। उनका अनुसार रातो स्विटर र म्याक्सी लगाएको अवस्थामा शव पोखरीभित्र फेला परेको हो। पोखरीमा मृत अवस्थामा महिलाको शव फेला परेको हल्ला भएपछि त्यहाँ पुगेका मानिसहरू कसैले पनि मृतकको पहिचान खोल्न नसकेको बताउँदै, एसपी पोखरेलले भने, ‘पोखरीको डिल र जाने बाटो साँघुरो छ। वरपरको गाउँबाट पहिचान खुल्छ कि भनेर प्रहरी परिचालन गरेका छौँ। केही दिनअघि त्यस्तै प्रकारकी एक महिला घुम्दै हिँडेको भन्ने कुरा आएको छ। त्यसको पनि खोजी भइरहेको र घटना शंकास्पद नदेखिए पनि पोखरीभित्र कसरी महिलाको शव भेटियो भन्ने विषयमा विभिन्न कोणबाट अनुसन्धान थालेका छौँ।’

पोस्टमार्टमको रिपोर्ट र गाउँघरबाट घटनाका विषयमा केही आएपछि घटना के हो भन्ने यकिन हुने एसपी पोखरेलले बताए। 

प्रकाशित: २७ माघ २०७९ १३:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App