२२ असार २०८१ शनिबार
image/svg+xml
समाज

राहदानी सेवा चुस्त पार्न सिडिओको प्रयास, ‘बिचौलियामुक्त’ बनाउने दाबी

जिल्ला प्रशासन कार्यालयमा राहदानी लिन आएका युवा। तस्बिर: भीम/नागरिक

जिल्ला प्रशासन कार्यालय इलामले राहदानी वितरण चुस्त बनाउन प्रयास गरेको छ। राहदानी लिने सेवाग्राहीलाई ‘बिचौलिया’बाट मुक्त गराइ सेवा दिन प्रशासनले पहल गरेको हो।

अहिले कार्यालयले विशेष गरी राहदानी वितरणमा कार्यालय समयभन्दा धेरै अवधि सेवा दिइरहेको छ। दिनभर सेवा लिन आएका सेवाग्राहीलाई साँझ ५ बजेसम्म पनि नसकिए राति १० बजेसम्म सेवा दिने गरिएको प्रमुख जिल्ला अधिकारी (सिडिओ) श्रवणकुमार पोख्रेलले बताए। ‘राहदानी लिन टाढा–टाढाबाट आउने सेवाग्राहीले एकैदिनमा फाराम र अन्य सबै विवरण भराएर फर्किने व्यवस्था गर्न प्रयत्नरत छौं,’ उनले भने, ‘बरु राति अबेरसम्म सेवा दिने तर सेवाग्राहीलाई दोस्रो दिन धाउन नपर्नेगरी काम गर्दैछौं।’  

यसअघिसम्म सेवाग्राहीले प्रशासन कार्यालयमा राहदानीको अनलाइन फाराम भर्न पाउँदैनथे। बाहिरका साइबर र डेक्सटपमा एउटा फाराम भर्न बिचौलियालाई ५ हजार रुपैयाँसम्म तिर्नुपरेको सेवाग्राहीको गुनासो थियो। ‘एउटा फाराम भर्न बिचौलियाले ५ हजार रुपैयाँसम्म लिएको गुनासो आएपछि हामीले अब राहदानीको फाराम बाहिर होइन, कार्यालयमै भरिदिने व्यवस्था गरेका हौं,’ सिडिओ पोख्रेलले भने, ‘पहिला कार्यालयमा जनशक्ति रहेनछ, कन्सेप्ट नै बाहिर फाराम भरेरमात्र यहाँ आउनुपर्छ भन्ने थियो। म सरुवा भएर आएपछि स्थानीय तहहरूबाट स्रोत व्यवस्था हुनेगरी जनशक्ति व्यवस्थापन गरेर सेवा दिन थालिएको हो।’  

टाढाबाट राहदानीको फाराम भर्न आएका सेवाग्राहीलाई राति १० बजेसम्म आफैंले सेवा दिएको कार्यालयका शाखा अधिकृत यादव राउतले बताए। ‘यही दरमा काम गर्ने हो भने अब करिब ५० दिनसम्म रातिसम्मै काम गर्नुपर्छ, त्यसपछि मात्र दैनिक सेवा लयमा फर्किनेछ,’ उनले भने, ‘पहिला दिनमा ५० वटासम्म फाराम लिन भ्याइन्थ्यो, अहिले दिनहुँ २ सय फाराम लिँदैछौं।’  

जिल्लाको चुलाचुली गाउँपालिका सदरमुकामभन्दा निकै टाढा रहेकाले त्यहाँबाट आउने सेवाग्राहीका लागि चाहिँ बेलैमा काम सक्नेगरी अलग्गै सेवा दिइँदैछ। ‘सदरमुकामभन्दा टाढाका पालिकाका सेवाग्राही, महिला लगायतलाई सुरु–सुरुमै सेवा दिन्छौं,’ सिडिओ पोख्रेलले भने, ‘अरू सेवाग्राहीले पनि त्यही कामका लागि भोलिपल्ट आउनुपर्दैन, त्यसै दिन सेवा दिन्छौं।’ उनले बिचौलियाका कारण युवाले राहदानी लिनेक्रममा धेरै सास्ती खेप्नुपरेको र अब त्यो अवस्था अन्त्य गर्ने दाबी गरे।  

प्रशासनले इलामका १० वटै पालिकाबाट मासिक ८ हजार रुपैयाँ लिएर राहदानीमा खटिने कर्मचारीको थप खर्च व्यवस्थापन गर्ने तयारी गरेको छ। शाखा अधिकृत राउतले कार्यालयबाटै राहदानीको फाराम भर्ने र त्यसैदिन सेवा दिने व्यवस्था गरिएपछि करार सेवाका कर्मचारीसमेत लिइएको बताए। ‘यो सेवाका लागि एक सिफ्टमा कम्तीमा ५ कर्मचारी चाहिन्छ,’ राउतले भने, ‘थप समय कर्मचारीको खाना–बस्ने खर्चका लागि पालिकाहरूसँग कुरा भइसकेको छ, सम्झौता गर्नमात्र बाँकी छ।’ यहाँबाट फाराम भरेपछि २०–२५ दिनमा राहदानी बनेर कार्यालयमै आइपुग्नेगरको छ।

प्रकाशित: २७ माघ २०७९ ०४:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App