१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

यातायात कार्यालय सरेपछि सतुंगलमा घरभाडा आकासियो

काठमाडौं- ललितपुर ताल्छिखेलबाट यातायात व्यवस्था कार्यालय, बागमतीको मोटरसाइकल शाखा सरेपछि सतुंगलमा घरभाडा आकासिएको छ। अहिले यातायात कार्यालयले चन्द्रागिरि नगरपालिका–८ सतुंगलबाटै मोटरसाइकल दर्ता, नामसारीलगायत सेवा दिइरहेको छ। यातायात व्यवस्था कार्यालय बागमतीका सूचना अधिकारी धानेश्वर पौडेलले आइतबारसम्म बागमती अञ्चलको १–५६ लटसम्म  मोटरसाइकलका कागजपत्रलगायत सबै तथ्यांक र प्राविधिक शाखा सतुंगलमा सारिसकेको जानकारी दिए। कार्यालयले तीन वटा भवन भाडामा लिएको छ। ती भवनमा ४५ वटा कोठा छन्।

५ वर्षयता चन्द्रागिरी नगरपालिका–८ सतुंगलमा एउटा सटरको भाडा मासिक २ हजार तिर्दै आएकी कमला रसाइलीसँग घरधनीले अहिले ५ हजार मागेका छन्। भाडा लिएको सटरमा उनी सिलाइबुनाइ गरी दुई छोराछोरीसहित परिवार चलाउ“छिन्। 'अहिले यहाँ यातायात कार्यालय सरेकाले घरधनीले ५ हजार माग्दैछन्। घरभाडा एकैचोटी दोब्बरभन्दा बढी बढ्दा कसरी तिर्ने र कसरी छाक टार्ने?' कार्यालय सरेपछि उनी आफ्नो काम नचल्ने त्रासमा छन्, भन्छिन्, 'अब खाजा पसल र फोटोकपि पसल चल्छ। तर सिलाइबुनाइको काम बढ्दैनन्।'

कमला मात्र होइन, यातायात कार्यालय सर्ने भएपछि सतुंगलका स्थानीयले कोठाको मूल्य धेरै बढाएका छन्। पहिलेदेखि नै भाडामा बसिरहेकाहरूस“ग भाडा बढी तिरेर बस्ने वा सरेर जाने विकल्प मात्र छन्।

सतुंगलकी बासिन्दा देवना राणा भन्छिन्, 'हाम्रा ४ वटा कोठा भाडामा लिन ७/८ जना आइसके। सबैले भाडा बढाउ“दै यति दिन्छौं भन्छन्। त्यसैले कोठाभाडा हामीले होइन, उनीहरूले नै बढाएका हुन्।' घरधनीले नभएर दिनहु“जसो कोठा खोज्न आइरहेका पसले र दलालले भाडा बढाएको उनको भनाइ छ।

तेब्बरसम्म कोठाभाडा बढाएपछि पुराना धेरै भाडावाल कोठा खालि गरेर अन्यत्रै सरेका छन्। 'यातायात कार्यालय सर्नु अगावै दिनहु“ कोठा खोज्न आउँथे,' स्थानीय अर्जुन श्रेष्ठले भने, 'पहिले भाडामा बसेका अधिकांश तिर्न नसकेर अन्यत्र सरेर गइसके।'

अहिले सतुंगलमा एउटा सामान्य कोठाको कम्तीमा पनि मासिक ४ हजार रुपैयाँ भाडा बढेको छ भने सटर र सडकछेउका कोठाको भाडा छोइनसक्नु गरी आकासिएको छ। 'तीन सटर भएको घर मासिक २५ हजार रुपैयाँ दिएर भाडामा लिने कुरा गरेका छन्,' सतुंगलका एक जना घरधनी सुर्दशन महर्जनले भने, 'तर त्यसभन्दा बढी दिन्छौं भन्दै कोठा खोज्ने आइरहेका छन्।'

कार्यालय त्यहा“ सर्ने भएपछि लेखापढी व्यवसायी, होटल, चिया खाजाका पसललगायत फोटोकपि र स्टेसनरी पसल राख्न कोठा खोज्नेहरू सतुंगलमा अहिले छ्यास्छ्यास्ती छन्। व्यापार बढ्ने आशामा व्यवसायी पनि बढी भाडा तिर्न तयार छन्।

राणाले कोठाभाडा दलाल र भाडावालले नै बढाएको भने पनि मौका छोप्दै स्थानीयले कोठाभाडा दोब्बर तेब्बर बढाएका छन्। त्यहाँ चिया खाजा पसल खोल्न खोजिरहेका सिन्धुपाल्चोकका कमल लामा भन्छन्, 'सानो कोठाको भाडा पनि ६ हजार भन्छन्। पहिले नै २ महिनाको अग्रिम रकम मागेकाले पसल थाप्न आँटै आएको छैन।' अहिले सतुंगलमा घरभाडा तेब्बर बढ्दा साना व्यापारीलाई निल्नु न ओकल्नु भएको लामाले सुनाए। लामाजस्तै त्यस क्षेत्रमा कोठा खोज्न भौंतारिने अधिकांशको समस्या उस्तै छ।

कार्यालयका सूचना अधिकारी पौडेलका अनुसार सातदोबाटो ताल्छीखेलबाट कार्यालय सतुंगल सार्ने काम जारी छ। उनले ताल्छीखेलमा पार्किङ नहुँदा टोलवासीले बाटो अवरुद्ध भएको गुनासो बढेकाले कार्यालय सारेको बताए। 'त्यहाँ ५५ वटा कोठाको मासिक ३ लाख रुपैयाँ भाडा तिरिरहेका थियौं,' उनले भने, 'सतुंगलमा भाडा सस्तो र आफ्नै जग्गा भएकाले पार्किङलाई समस्या नहुने देखेर कार्यालय सारिएको हो।' सतुंगलको घरभाडा १ लाख ६० हजार रुपैयाँ मात्रै रहेको उनले जानकारी दिए।

पौडेलका अनुसार लेखा शाखालगायत बाँकी शाखा असोज ९ सम्म सतुंगल सारेर व्यवस्थित गरिने छ। उनले नजिकै रहेको आफ्नो जग्गामा भवन बनेपछि अझ सजिलो हुने तथा ट्रायल सेन्टर पनि निर्माणाधीन रहेको बताए। कार्यालय भवन निर्माण गर्न गत वर्ष नै बजेट छुट्याइएको र भवन निर्माण टेन्डर प्रक्रियामा रहेको उनले जनाए। उनले अब मोटरसाइकल दर्ता, चालक अनुमतिपत्र, नामसारी, सवारी कर, ब्ल्युबुक नविकरणलगायत सबै सेवा सतुंगलबाट प्रदान गरिने पौडेल बताए।

प्रकाशित: ३ आश्विन २०७३ ०२:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App