११ असार २०८१ मंगलबार
image/svg+xml
समाज

चामलको बोरामा गहुँ भरेर भारतबाट तस्करी

रौतहट सदरमुकाम गौरमा प्रहरीले लक्ष्मी गल्ला भन्डारबाट चामलको बोरामा ५८ बोरा भारतीय गहुँ बरामद गरेको छ। भारतको बैरगनिया बजारबाट तस्करीमार्फत ढुवानी गरेका गहुँ प्रहरीले बरामद गरेको हो।

भारतीय बजारबाट चामलको बोरामा गहुँ ल्याउँदै गरेको अवस्थामा प्रहरीले दुई जना तस्करलाई समेत नियन्त्रणमा लिएको छ। चामलको बोरामा गहुँ  भेटिएपछि पक्राउ परेका भारत बैरगनियाका १८ वर्षीय अर्जुन कुमार र विशाल कुमारलाई नियन्त्रणमा लिएर गहुँ बारे अनुसन्धान गर्दै जाँदा तिनीहरुको बयानको आधारमा गोपाल अग्रबालले सन्चालन गरेको लक्ष्मी गल्ला भन्डारमा प्रहरीले छापा मारेको हो। प्रहरीले छापा मार्दा ५८ बोरा चामलको बोरामा गहुँ भेटिएको प्रहरीले जनाएको छ।

गहुँसहित पक्राउ परेका भारतीय तस्करद्वय अर्जुन र बिशाललाई आवश्यक कार्यवाहीको लागि गौर भन्सार बुझाइएको छ। अहिले जिल्ला सदरमुकाम गौर र महादेवपटिको मुख्य नाका हुँदै सुरक्षाकर्मीको मिलोमतोमा तस्करी भैरहेको जानकारहरु बताउँछन्।

चामलको बोरामा गहुँको तस्करी भएको बरामद भएपछि जिल्लामा तस्करी व्यापक फस्टाएको गुनासो बढेको छ। सीमावर्ती क्षेत्रमा तस्करी व्यापक भइरहेको गुनासो बढेको छ। सुरक्षाकर्मी र भन्सार कर्मचारीको साँठगाँठमा नै तस्करी भइरहेको आरोप रहेको छ।

देशभरिका घुमुवा प्रहरी हेडक्वार्टर तानिएपछि पोके तस्करी मौलाएको हो। तस्करहरुले सीमाक्षेत्रमा तैनाथ नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई मिलाएर गहुँ , चिनी, कपडा, स्पेयरपार्ट्स खाद्यान्न लगायतका सामानको तस्करी भैरहेको छ। चामलको बोरामा तस्करीको गहुँ  भेटिएपछि तस्करी मौलाएको प्रमाणित भएको छ।

यसैबिच प्रहरीले दुई ट्रक गहुँ  नियन्त्रणमा लिएको छ। गरुडा प्रहरीले ना ६ ख ७६६१ नम्बरको ट्रकमा लोड भएको पाँच सय बोरा गहुँ  नियन्त्रणमा लिएको छ। लक्ष्मी गल्ला भन्डारबाट बिल बिजक लिएर जाँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको हो।

यस्तै बम नहरमा प्रहरी गस्ती टोलीले ना २ ख ८७८१ नम्बरको ट्रकमा १६८ बोरा गहुँ नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। नियन्त्रणमा लिएका दुबै ट्रकसित गहुँसम्बन्धी बिलबिजक रहेकोले आवश्यक अनुसन्धानको लागि आन्तरिक राजश्व कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रबक्ता डिएसपी उमा शङ्कर यादवले बताएका छन्।

गहुँ  बोकेको दुबै ट्रक नियन्त्रणमा लिएपछि बिलबिजक भेटिएकोले आधिकारिक बिल बिजक लगायत गहुँ  खरिद बिक्री प्रकृया बुझ्नको लागि आन्तरिक राजश्व कार्यालय बिलबिजक पठाएको र त्यहाँबाट कमजोरी भेटिएमा कार्यवाहीको लागि गौर भन्सार दाखिला गर्ने डिएसपी यादवले बताएका छन्।

यसै गरी प्रहरीले गौर ५ स्थित नन्दलाल साहले सन्चालन गरेको चिउरा मिलमा छापा मारेको छ। भारतबाट तस्करीको चामल भन्डारण गरेको भन्दै प्रहरीले साहको पसलमा छापा मारेको जनाएको छ। पसलमा भारतबाट ठूलो परिमाणमा तस्करीको चामल रहेकोले पसल सिल गरी राजस्व कार्यालय, जिप्रका, उद्योग वाणिज्य संघको रोहबरमा चेक जाँच गर्ने रौतहट प्रहरीले जनाएको छ।

प्रकाशित: २२ माघ २०७९ १३:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App