४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

मिर्गौलाले उठिबास

पोखरा- मिर्गौला फेल भएर एक छोरा कलिलै उमेरमा गुमिसके। दुई सन्तान अनि पत्नीको अवस्था धरमर छ। मिर्गौलाकै समस्याले ग्रस्त उनीहरूलाई निरन्तर अस्पताल पुर्‍याइरहनुपर्छ। उपचारमा भएभरको सम्पत्ति सकिइसक्यो। रोग निको हुनु साटो झन् बल्भि्कँदो छ।

थप उपचार खर्च जुटाउन नसकेर हैरान छन् पर्वत, कुर्घा–२ का तिलोचन शर्मा। बुढ्यौलीले च्याप्दै लगेको ६२ वर्षे उमेरमा आफन्त जोगाउन हरसम्भव प्रयास गरिरहेछन् उनी। आफ्नो एउटा मिर्गौला दान गरिसके। त्यतिले मात्र नपुगेर औषधिखर्च जुटाउन दाता गुहार्दै हिँड्नु उनको दैनिकी बनेको छ।

विपत्तिले यतिसम्म लखेट्ला भन्ने उनले कल्पनै गरेका थिएनन्। जीवनमा खासै दुःख थिएन। उनी भारत, मुम्बईमा काम गर्थे। पत्नी, तीन छोरी र दुई छोरा घर रेखदेख गर्दै आएका थिए। बिहानबेलुकी हातमुख जोर्न सकस थिएन।

तेह्र वर्षयता भने शर्मा परिवारको खुसीमा निरन्तर ग्रहण लागिरहेको छ। जब २०६० सालमा छोरी श्यामला (२८) लाई पहिलोचोटि मिर्गौलासम्बन्धी समस्या देखियो, पीडा र छटपटीको असाध्य शृंखला पछि लागेर आयो। श्यामलाको उपचार गर्दै गर्दा जेठा छोरा प्रकाशका दुवै मिर्गौला 'ड्यामेज' भएको पत्तो लाग्यो। त्यही कारण दस वर्षअघि प्रकाशको मृत्यु नै भयो।

यो वज्रपात शर्मा परिवारले जसोतसो सहेकै थियो तर नियतिको कठोर प्रहार त्यतिमै रोकिएन। बिस्तारै परिवारका अरू सदस्यमा पनि मिर्गौलारोग देखिन थाल्यो। पछिल्लोचोटि ६ महिनाअघि पत्नी प्रेमकला पौडेल (५१) यो रोगले ग्रस्त भइन्। कान्छो छोरा दीपक (२४) लाई पाँच वर्षअघिदेखि नै यो रोगले गाँज्न थालिसकेको छ। परिवारकै सदस्यले एकअर्कालाई मिर्गौला दान गरिसके। तर, निको हुन सकेको छैन, उल्टै बल्झँदै छ।

श्यामलालाई बुबा तिलोचनले दस वर्षअघि नै एउटा मिर्गौला दिइसकेका छन्। त्यसै गरी दीपकलाई दिदीले चार वर्षअघि मिर्गौला दिइन्। पत्नी प्रेमकलाको मिर्गौला फेर्नुपर्ने अवस्था छ। ६ महिनायता पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उनको डायलोसिस चलिरहेको छ। अहिलेसम्म कान्छी छोरी कमला (२१) भने सकुशल छिन्।

अहिलेसम्म जसोतसो धानिरहे पनि पत्नीको मिर्गौला फेर्न दातालाई तिर्न सक्ने पैसा शर्मासँग छैन। 'अब मैले परिवार राख्ने कि सम्पत्ति भन्ने अवस्था रह्यो, त्यही भएर पर्वतमा भएजति सम्पत्ति बेचेर ५ महिनाअघि पोखरा झरेको छु,' पत्रकारमाझ तिलोचनले भने, 'परिवारै नरहे सम्पत्तिको के महŒव र?'

पालैपालो परिवार सदस्य बिरामी पर्न थालेपछि भारतको नोकरी छाडेर फर्केका उनले अहिलेसम्म उपचारमा कति खर्च भयो, लेखाजोखा राखेका छैनन्। 'कम्तीमा एक करोड रुपैयाँ माथि खर्च भयो होला, हिसाब गर्नै छाडेको छु,' उनले भने, 'भएभरको सम्पत्ति सकियो, अब बेच्न केही बाँकी छैन। सर्वसाधारणसँग हात पसार्नुको विकल्प रहेन।'

पालैपालो बिरामी पर्न थालेपछि शर्मा परिवार गाउँ छाडेर पोखरामा बसाइँ सरेको छ। महँगो कोठाभाडा, बिरामी पत्नी र सन्तानको रेखदेख गर्नु कम्ती मुस्किल छैन शर्मालाई। भन्छन्, 'मेरो पीडा कसलाई सुनाउँ्क, सुनाएर पनि केही बच्ने स्थिति रहेन। अब शरणार्थी बन्नुको विकल्प छैन।'

शर्माका अनुसार प्रेमकलाको अहिले सातामा दुईपटक डायलोसिस भइरहेको छ। सरकारको निःशुल्क सेवाले डायलोसिसमा केही राहत मिले पनि औषधिखर्च जुटाउने उपाय उनीसँग छैन।

दिदीबाट मिर्गौला पाएका दीपक पनि स्वस्थ छैनन्। प्रोटिन अभावको समस्याले 'स्लो पोइजन' ले मिर्गाैला बिगारिरहेको छ। 'एक जनाको उपचारमा मासिक १५ हजार रुपैयाँ खर्च भइरहेको छ,' उनले भने, 'आमाछोराको उपचारमा मात्र अहिले मासिक ३० हजार रुपैयाँ खर्च हुन्छ।'

शर्मा परिवारका धेरैजसो सदस्यसँग एउटा मात्र मिर्गौला छ। मिर्गौला सद्दे हुनेले आफन्तलाई दान गरेका छन्। जता पायो त्यही जाँदा अप्रेसन गरेको ठाउँ इन्फेक्सन हुने भयले झस्कन्छन् उनीहरू। सकेसम्म हिँडडुल गर्दैनन्। 

'परिवारका सबै सदस्य बिरामी परेपछि खुसी हुन सकेका छैनौं। हाम्रो परिवार जहिल्यै पीडामा छ,' प्रेमकला भन्छिन्, 'सायद यस्तै भोग्न लेखेको थियो, यस्तो समस्या कसैले भोग्नु नपरोस्।'

कान्छा छोरा दीपकलाई १९ वर्षको कलकलाउँदो उमेरमा यो रोग देखिएको थियो। सात महिनासम्म डायलोसिस गरेपछि दिदीले दिएको मिर्गौलाले खुट्टा टेकेका छन्। 'दिदीले मलाई मिर्गौला दिएर बचाउनुभयो तर पनि स्वस्थ हुन सकिनँ। यो मिर्गौला पनि सुस्त गतिमा बिग्रँदै छ,' उनले भने, 'भगवान्ले हाम्रो परिवारमा कहिल्यै खुसी देख्न चाहेनन्।' १२ कक्षा पढ्दै गर्दा बिरामी परेका दीपकले त्यसपछि पढाइ अघि बढाउन सकेका छैनन्।

'मैले गर्न सक्ने काम पाए कम्तीमा बिहानबेलुकी हातमुख जोर्न सकिन्थ्यो। कतै जागिर पाए हुन्थ्यो,' उनले भने, 'रोगले समाउँदा इच्छा–आकांक्षा हुरीले उडाए। बुढेसकाल लागेका बुबाले मासिक ५० हजार रुपैयाँ जोहो गर्न सक्ने अवस्था छैन। तर, नगरी नहुने अवस्था छ।' रोग निको भएर परिवारले बिहान–बेलुकी मीठो गरी दालभात खान पाएको हेर्ने इच्छा छ दीपकलाई।

शर्मा परिवारको व्यथा नजिकबाट बुझेका ऋषि सापकोटा मिर्गौला रोगले उनीहरूलाई अचाक्ली पीडा थपेको बताउँछन्। 'वर्षाैंदेखि शर्मा परिवारको पीडा मैले बुझेको छ। विभिन्न क्षेत्रबाट मेरो सम्पर्कमा आउनुभयो, हामीले विभिन्न ठाउँमा हारगुहार गरेर परिवारका सदस्यको उपचारमा लाग्यौं,' उनले भने, 'तर, अब सक्ने अवस्था रहेन। त्यही भएर सहयोगका लागि हात फैलाउनुपरेको हो।'

सहयोग खोजीमा रहेको यो परिवारले केही दिनअघि स्वास्थ्यमन्त्री गगन थापालाई आफ्नी पीडा सुनाएको छ। थापाले उपचारका लागि पहल गर्ने आश्वासन दिएको तिलोचनले बताए। 'स्वास्थ्यमन्त्री थापाले काठमाडौं बोलाउनुभएको छ। केही दिनमा भेट्न जाने हो,' उनले भने, 'कम्तीमा निःशुल्क औषधि र श्रीमतीलाई मिर्गौला दान गर्न सक्ने अवस्था मिलाइदिए आभार हुनेछौं।'

प्रकाशित: २७ भाद्र २०७३ ०१:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App