काठमाडौं–भूकम्पबाट क्षति पुगेका पशुपतिनाथ मन्दिर परिसर भित्र रहेका मठमन्दिरलगायत सत्तलको जीर्णोद्धार र पुनर्निर्माण नेपाल आफैंले गर्ने भएको छ ।
पशुपति परिसर बाहिरका मठमन्दिर तथा सत्तलको जीर्णोद्वार र पुनर्निर्माण भारतलाई दिने प्रक्रिया अगाडि बढेको भए पनि परिसरभित्र भने नेपाल आफैंले गर्ने पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा गोविन्द टण्डनले बताएका छन् ।
परिसरभित्र पशुपतिनाथ मूल मन्दिर, बासुकी मन्दिर, उन्मत्त भैरव मन्दिर, कोटीलिंगेश्वर महादेव मन्दिरलगायत दर्जनौं मठमन्दिर छन् । यी सबै सम्पदा पुनर्निर्माण नेपाल आफैंले गर्ने भएको हो ।
कोषले जनाएअनुसार परिसर बाहिर कुलानन्द झा सत्तल, सप्तमी सत्तल, महास्नान घरसहित साना ठूला गरेर सयौं मठमन्दिर, देवल र सम्पदा पुनर्निर्माण तथा जीर्णोद्धार गर्नैपर्ने अवस्थामा छन् ।
‘भारतलाई परिसर बाहिरका मठमन्दिर तथा देवलमात्रै पुनर्निर्माण र जीणोद्धार गर्न दिइनेछ,’ कोषका सदस्यसचिव टण्डनले भने, ‘सम्झौताका लागि तयार समझदारीपत्र (एमओयू)को ड्राफ्ट सोही अनुसार तयार पारिएको छ ।’ टण्डनका अनुसार कोष र पुरातत्व विभागको रोहबरमा केही महिनाअघि नै एमओयू ड्राफ्ट नागरिक उड्डययन, संस्कृति तथा पर्यटन मन्त्रालयमा पठाइ सकिएको छ ।
पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले परिसर बाहिरका सम्पदा मात्रै भारतलाई पुनर्निर्माण गर्न दिने एमओयूमा प्रस्ताव गरिएको बताए । उनका अनुसार परिसर बाहिर मात्रै पुनर्निर्माण गर्न भारत सहमत हुने नहुने भने सम्झौतापछि मात्रै थाहा हुने छ ।
पुनर्निर्माण गर्न नेपाल पनि सक्षम छ भन्ने पुष्टि गर्न परिसरभित्र नेपाल आफैंले नै पुनर्निर्माण गर्न आवश्यक रहेको टण्डनले बताए । परिसरभित्र कलात्मक ढंगबाट काम गर्ने कालिगढ आफूसँगै भएकाले जीर्णोद्धार गर्न कठिनाइ नहुने उनले तर्क गरे ।
कतिपयले भने भारतलाई परिसरभित्र पुनर्निर्माण जिम्मा दिँदा भारतमै अर्को पशुपतिनाथ खडा गर्ने सम्भावना रहेकाले पनि आफैंले पुनर्निर्माण गर्नुपर्ने बताउँदै आएका छन् । भारतले यहाँको पुनर्निर्माणपछि पशुपतिनाथको नक्कल बनाउन सक्ने सम्भावना रहेकाले पनि भारतलाई नदिनु उचित हुने उनीहरुको तर्क छ । दुई वर्षअघि नेपाल आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पशुपतिनाथ पुगेर पशुपति क्षेत्र विकासका लागि २५ करोड भारतीय रुपैयाँ सहयोगको घोषणा गरेका थिए । भारतीय सहयोग लिनेबारे विवाद उत्पन्न भएको थियो ।
त्यसबेला घोषणा गरेको सहयोग रकम समावेश गरेर पुनर्निर्माण एमओयू ड्राफ्ट तयार गरिएको टण्डनले बताए । पशुपति क्षेत्रको पुनर्निर्माण तथा जीर्णोद्धारमा करिब दुई अर्ब रुपैयाँ लाग्ने अनुमान छ ।
पर्यटन, संस्कृति तथा नागरिक उड्ययनमन्त्री जीवनबहादुर शाहीले पनि भूकम्पमा क्षतिग्रस्त पशुपतिनाथ मन्दिर परिसरका मठमन्दिर पुनर्निर्माण तथा जीर्णोद्धार नेपालले नै गर्ने तयारी गरिएको बताएका छन् । सम्पदाको मौलिकता नेपालीले मात्र कायम गर्नसक्ने भन्दै पशुपतिनाथजस्तो महत्वपूर्ण सम्पदाको कोर क्षेत्रको पुनर्निर्माण विदेशीलाई दिँदा नकारात्मक असर पर्नसक्ने भएकाले नेपाल आफैंले बनाउने मन्त्री शाहीले बताएका छन् । पशुपतिनाथ पुनर्निर्माणको एमओयू मस्यौदा मन्त्रालयमा छ । प्रधानमन्त्री पुष्पाकमल दाहाल भारत भ्रमणमा जाँदा एमओयूमा हस्ताक्षर हुनसक्ने संकेत कोषले दिएको छ ।
यसैगरी पुरातत्व विभागप्रमुख दाहालका अनुसार भारतले सेतो मछिन्द्रनाथको मन्दिर, पाटनको भीमसेन मन्दिर, अदालत भवन, टेकुको बमपिकटेश्वर मन्दिर, नापीचन्द्र महाविहार, रत्नाकर महाविहार, गोपीचन्द्र महाविहार, जेष्ठवर्ण महाविहार, बूढानीलकण्ठलगायत सम्पदा पनि पुनर्निर्माण तथा जीर्णोद्धार गर्दै छ । ‘२३ वटा सम्पदा पुनर्निर्माण तथा जीर्णोद्धार गर्न सहमति दिइसकेका छौं,’ दाहालले भने, ‘भारतले पनि त्यसका लागि १ अर्ब ४० करोड नेपाली रुपैयाँ बजेट छुट्याइसकेको छ ।’
अहिले देशभर भूकम्पमा क्षतिग्रस्त सम्पदामध्ये प्राधिकरणबाट ४९ वटा पुनर्निर्माण तथा जीर्णोद्धार गर्ने स्वीकृति पुरातत्वले पाएको छ । सम्पदा पुनर्निर्माण सम्झौताअनुसार देश र दाताले पुनर्निर्माण थालिसकेका विभागका प्रवक्ता रामबहादुर कुँवरले बताए । उनका अनुसार ४९ मध्ये केही सम्पदाको पुनर्निर्माण एक वर्षमा सकिँदैन । त्यस्ता सम्पदा समेत गरेर यस वर्ष १ सय ४५ सम्पदाको पुनर्निर्माण गरिनेछ । भूकम्पले ५ सय ३७ सम्पदामा क्षति पुर्याएको थियो । क्षतिग्रस्त सम्पदा पुनर्निर्माण गर्न विभिन्न देश तथा दातालाई दिइसकिएको र बाँकी सम्पदा पुनर्निर्माणका लागि पनि दातासँग छलफल भइरहेको पुरातत्वले बतायो ।
पशुपति प्रवेशको चारैतर्फ ढोका बनाइने
पशुपतिनाथ मन्दिरको चारैतर्फ कलात्मक ढोका बनाईने भएको छ । दाताको सहयोगमा पशुपति क्षेत्र विकास कोषले पूर्वमा उमाकाण्ड, पश्चिममा हालको प्रवेशद्वार, उत्तरमा जयबागेश्वरी र दक्षिणमा पिंगलास्थान छेउछाउमा कलात्मक ढोका बनाउने तयारी गरेको छ । सुविधासम्पन्न विशेष ढोका निर्माणपछिे मन्दिरको आकर्षण थपिने कोषले बतायो ।
ढोकामा शिवलिंगको पूर्वमा तत्पुरुष, पश्चिममा सद्योजात, उत्तरमा वामदेव र दक्षिणमा अघोर भगवान् विराजमान भएकाले भगवानका तिनै रूप देखिने गरी ढोका बनाइने छ ।
दक्षिणतर्फ पिंगलास्थान छेउछाउमा निर्माण गरिने ढोका भने एसबीआई बैंकले बनाउन सम्झौता गरिसकेको छ । बाँकी तीन ढोका बनाउन दातासँग कुराकानी भइरहेको कोषले बतायो ।
बैंकले करिब तीन करोड रुपैयाँ खर्चिएर ढोका निर्माण गर्ने सम्झौता भएको छ । बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत सवारी प्रवेश नियन्त्रण प्रणाली, टिकट काउन्टर, जुत्ताचप्पल कक्ष, सुरक्षा गार्ड कक्ष, फूलप्रसाद वितरण कक्ष, बैंकिङ कक्ष (इबैंकिङ टर्मिनल, एटीएम आदि) निर्माण गर्नेछ । ढोकाको नक्सा र डिजाइन पुरातत्व विभागलगायत अन्य सरकारी निकायबाट कोषमार्फत स्वीकृत हुनेछ ।
प्रकाशित: २६ भाद्र २०७३ ०३:०२ आइतबार