१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

स्याउ बगैँचा स्याहार्न व्यस्त जुम्लाका किसान

यस वर्षको हिमपात पछि यती खेर जुम्लाका किसानहरू स्याउ बगैँचा स्याहार्न व्यस्त भएका छन्।

अधिकांश किसानहरू स्याउका बिरुवा काँटछाँट गर्ने, झारपात उखेल्ने, बोडोपेस्ट लगाउने, बोडो मिश्रण छर्ने देखी मल खादको व्यवस्थापनको काममा व्यस्त छन्।

यस वर्ष जुम्लामा पहिलो पटक भारी हिमपात भएको थियो। गत माघ ९ गते राति देखी जुम्ला हिउँ पर्न थालेको थियो। बगैँचा गोडमेल गर्दा स्याउको गुणस्तर वृद्धि हुने किसानहरूको अपेक्षा छ। माघ पहिलो सातादेखि नै किसानहरू स्याउको बिरुवा काँटछाँटमा लागेका सिंजा गाउँपालिकाका किसान दलबहादुर बुढा बताउँछन्।

उनी आफै एक महिनादेखि स्याउका हाँगाबिँगा व्यवस्थापनको काममा व्यस्त छन्। स्याउको बोट आसपासका क्षेत्रका झारपात हटाउने कामलाई तीव्रता दिँदै हिउँका डल्ला जम्मा गरी स्याउका बोट आसपासका क्षेत्रमा राख्ने गरेको उनले सुनाए।

यसो गर्नाले लामो समयसम्म चिस्यान कायम गर्न सहयोग पुग्ने उनको भनाइ छ। उनले गाउँका सबै किसान बिहान सबेरैदेखि राति अबेरसम्म बारीमै व्यस्त हुने गरेको सुनाए । उनले यस वर्ष धेरै हिउँ परेकाले स्याउको उत्पादन राम्रो हुने अपेक्षा राखेका छन् ।

उनले बगैँचामा घेराबार लगाउने कामलाई पनि तीव्रता दिइएको सुनाए। 'जुम्ली स्याउको माग देशभरि बढेपछि उत्पादनमा जोड दिएका छौं, गाउँ–गाउँमा सडक पुगेपछि न बजारको चिन्ता छ, न भाउको।' उनले भने।

जुम्लाका ८ वटै स्थानीय तह र ६० वटा वडामा बाटो पुगेको छ। कर्णाली राजमार्ग खुलेसँगै स्याउ खरिद गर्न व्यापारी बगैँचामै पुग्ने गरेका छन्। राजमार्ग सञ्चालनमा हुनु अघि प्रतिकेजी ५ रुपैयाँमा बिक्री हुन मुस्किल पर्ने स्याउ सिजनको समयमा ६० देखि ७० रुपैयाँमा बिक्री भइरहेको किसानहरू बताउँछन्।

कृषि प्राविधिकले बगैँचामा पुगेर किसानलाई बिरुवा काँटछाँटका उपायबारे सिकाउने गरेका कार्यालय प्रमुख गणेशबहादुर अधिकारीले बताए। उनका अनुसार स्याउ बगैँचा व्यवस्थापनमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको स्याउ सुपर जोन कार्यक्रमले पनि सहयोग गरिरहेको छ।

जुम्लामा एक घर, एक बगैँचा कार्यक्रम लागू भएपछि स्याउ खेती गर्ने किसानको संख्या बढ्न थालेको हाे।

प्रकाशित: १८ माघ २०७९ ०९:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App