६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

पैसा तिरेर दर्शन गर्न नपाइने

काठमाडौं- आइतबार नेपाली नारीको महान पर्व हरितालिका तीज। पतिको दीर्घायूको कामनासहित व्र्रत बसी भगवान शिवको दर्शन गर्न राजधानीस्थित पशुपतिनाथलगायत देशभरका शिव मन्दिरमा सबेरैदेखि नारीको घुइँचो हुन्छ। राजधानीमा सबैभन्दा बढी दर्शनार्थीको घुइँचो राजधानीको पशुपतिनाथ मन्दिरमा हुने गर्छ। यस वर्ष तीजमा करिब १० लाख महिलाले पशुपतिनाथ दर्शन गर्ने अनुमान पशुपति क्षेत्र विकास कोषले गरेको छ।

आइतबार सबेरै ३ः३० बजेदेखि पशुपतिनाथ मन्दिरको चारै ढोका खोलिने छ। 'साढे ३ बजे सबेरैदेखि दर्शन गर्ने व्यवस्था मिलाएका छौं,' कोषका सदस्यसचिव गोविन्द टण्डनले भने 'लाम बसेर पालैपालो दर्शन गर्न सहज बनाउने व्यवस्था मिलाएका छौं।' कोषले गत वर्ष लाम नबस्न चाहनेलाई एक हजार रुपैयाँ लिएर तत्कालै दर्शन गराउँदै आएको थियो। यस वर्ष भने शुल्क लिएर दर्शन गराउने व्यवस्था नराखी सबैले अनिवार्य लाम बस्नैपर्ने भएको छ। 'बितेका केही वर्षदेखि लाम बस्न नचाहनेले एक हजार रुपैयाँ शुल्क बुझाएर तुरुन्तै दर्शन गर्न सक्ने पास पाउँथे,' टण्डनले भने, 'यस वर्ष कसैलाई पासको सुविधा छैन।' टण्डनका अनुसार शुल्क लिएर पास उपलब्ध गराउँदा गलत सन्देश गएपछि यस वर्ष त्यस्तो व्यवस्था हटाएको हो।

कोषले पैसा लिएर पास उपलब्ध गराउने व्यवस्था हटाएकोमा महिलाहरूले खुसी व्यक्त गरेका छन्। 'भगवान सबैका बराबर हुन्, आस्था सबैको उस्तै हो,' महिला उद्यमी मिना न्यौपाने रिमालले भनिन्, 'सयौं महिला घन्टौं लाम बस्दा दर्शन गर्न नपाइरहेका बेला हजार तिर्नसक्नेले छिनभरमै दर्शन गर्दा कसको मन नदुख्ला र? कोषले गरिबमाथि भेदभाव गर्दै आएको थियो, यसपल्ट न्याय गरेछ।' उनले सबैलाई समान रुपले हेरेकोमा खुसी व्यक्त गरिन्। कोषले ५ वर्षयता शुल्क लिएर पास उपलब्ध गराउँदै आएको थियो। पास लिएकाले तुरुन्तै दर्शन गर्न पाउने व्यवस्था थियो। धनी गरिबबीच भेदभाव गरेको भन्दै विरोध भएपछि कोषले यसवर्ष यो व्यवस्था हटाएको हो।

कोषले यस वर्ष चार वटा बाटोबाट पशुपति दर्शनको व्यवस्था मिलाएको छ। पहिलो बाटोअन्तर्गत मित्रपार्कबाट उमाकुण्ड, दक्षिणामूर्ति, रुद्रगाडेश्वरबाट बासुकी मन्दिर हुँदै उत्तरढोकाबाट दर्शन गर्न पाउनेछन्। दोस्रो बाटो जयवागेश्वरीबाट दतुरटोल, पाचुटोलहुँदै भुवनेश्वर मन्दिर अगाडिको ढोकाबाट पशुपति मन्दिर परिसर भएर पश्चिमी सानो ढोकाबाट दर्शन गर्न सक्नेछन्। त्यसैगरी अर्को बाटो तिलगंगाबाट चाराशिवालय, पञ्चदेवल हुँदै दक्षिणढोकाबाट दर्शन गर्न पाउनेछन्। चौथो बाटो भने तिलगंगा हुँदै पूर्वढोकाबाट मन्दिर प्रवेश गर्न पाउनेछन्। तर यो बाटो भने सर्वसाधारणभन्दा पनि विशिष्ट व्यक्तिहरूका लागि हुनेछ। दानदाता परिचयपत्र भएका, पुजारी, भण्डारी र विशिष्ट व्यक्तिले मात्रै यो बाटो प्रयोग गर्न पाउनेछन्।

गत वर्ष तीजमा करिब सात लाखले पशुपतिनाथको दर्शन गरेका थिए। यस वर्ष भने करिब १० लाखले दर्शन गर्ने अनुमान कोषको छ। 'भूकम्प नाकाबन्दीको कारणले गत वर्ष दर्शनार्थी घटे पनि यस वर्ष १० लाखले दर्शन गर्ने अनुमान गरेका छौं,' टण्डनले भने, 'सक्दो छिटो दर्शन गराउने प्रयास कोषले गरेको छ।' यस वर्ष मन्दिर परिसरभित्र सुरक्षाको जिम्मा नेपाल प्रहरीले लिएको छ। प्रहरीलाई उद्धृत गर्दै कोषले जनाए अनुसार परिसरभित्र पसेपछि आधा घन्टामा दर्शन गराइनेछ। नेपाल स्काउट तथा अन्य स्वयंसेवकले भने परिसरबाहिर लाम व्यवस्थित गर्नेछन्। ६ बजेपछि भने पुरुषलाई मन्दिर परिसरभित्र जान रोक लगाइएको पनि कोषले जनायो। कोषले आपराधिक क्रियाकलाप हुन नदिन गत वर्षको तुलनामा यस वर्ष सिसिटिभीको संख्या वृद्धि गरेको बताएको छ।

प्रकाशित: १९ भाद्र २०७३ ०२:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App