१९ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

गाड्न ठिक पारिएको शिशु रोएपछि...

नेपालगन्ज- मृत्यु भएको भन्दै खाल्डो खनेर गाड्ने तयारी गरिरहेको अवस्थामा रोएपछि एक नवजात शिशुले जीवन पाएको छ। शुक्रबार दिउँसो ३ बजेतिर जन्मिएको शिशुले धेरै बेरसम्म कुनै प्रतिक्रिया नजनाएपछि रुकुमको एक दम्पतीले मरेको ठहर गर्दै नेपालगन्ज– १७, बुलबुलियास्थित घाट पुर्‍याएको थियो।

रुकुम, रुघा–२ की १९ वर्षीया भावना ओली खड्काले घरैमा जन्माएको शिशु नचल्मलाएपछि पति चौखावाङ– ७ का २७ वर्षीय गोपाल खड्काले नजिकैको मेडिकल पुर्‍याएका थिए। मेडिकल सञ्चालकले बच्चा नरोएको, नचलेको, शरीर नीलो भइसकेको र श्वास नफेरेको भन्दै मृत घोषित गरिदिएका थिए। उनले तैपनि भेरी अञ्चल अस्पतालमा एकपटक देखाउन सुझाव दिएका थिए। तर, खड्का दम्पतीले शिशु मरेको भन्दै अपराह्न ४ बजेतिर गाड्न लगेको थियो।

घाटमा पुगेर सहयोग मागेपछि शिशुको दाहसंस्कारका लागि स्थानीयले सहयोग गरेको देवबहादुर बोहराले बताए। तर, खाल्डो खन्दै गर्दा शिशु रोएपछि स्थानीय छाँगोबाट खसेझैँ भएका थिए। उनीहरूले खड्का दम्पतीप्रति शंका गर्दै प्रहरीलाई खबर गरे। र, शिशुलाई प्रहरीको जिम्मा लगाए।

‘हामीले चिहान खन्न फरुवा खोज्दै थियौं तर नगाड्दै बच्चा करायो,’ बोहराले भने, ‘बच्चा कराएपछि सबै अचम्म पर्‍यौं, त्यसपछि प्रहरी बोलाएर जिम्मा लगायौं।’

अर्का स्थानीय अस्लम कसगरले खड्का दम्पतीले आफ्नो मरेको शिशु गाडिदिन सहयोग मागेपछि दाहसंस्कार तयारी गर्दै गर्दा रोएको जानकारी दिए। ‘नालसहितको शिशु हेर्दा निलो भइसकेको थियो, नकराएको भए जिउँदै गाडिने रहेछ,’ उनले भने।

वडा प्रहरी कार्यालयले खड्का दम्पतीसहित शिशुलाई तत्काल भेरी अञ्चल अस्पताल पुर्‍याएको थियो। शिशुको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको अस्पताल स्रोतले जनाएको छ। वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामबहादुर चन्दका अनुसार भावनाले शुक्रबार दिउँसो साढे ३ बजेतिर महिना नपुगेको (छोरी) शिशु जन्माएकी थिइन्।

शिशुले श्वास फेर्न छाडिसकेकाले मृत्यु भइसकेको ठानेर खड्का दम्पतीले दाहसंस्कार गर्न लगेको उनले जानकारी दिए।

‘बच्चा रोएपछि हामी पनि खुसी भयौं, जानीजानी जिउँदो बच्चालाई गाड्न खोजेका होइनौं,’ खड्का दम्पतीलाई उद्धृत गर्दै प्रहरीले भन्यो। गोपाल र भावना श्रीमान–श्रीमती नै रहेको घटनाको अनुसन्धानबाट पत्ता लागेको प्रहरी निरीक्षक चन्दले बताए।

प्रकाशित: १८ भाद्र २०७३ ०४:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App