१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

मोबाइल टर्चको भरमा 'मन्दिरमा पूजा'

कर्णालीकै प्रसिद्ध चन्दननाथ मन्दिरमा यती बेला मोबाइलकै टर्चको भरमा पूजाआजा गर्नुपर्ने बाध्यता रहेको छ।

मन्दिरमा परिसरमा लाखौँको सोलार जडान गरिए पनि जडान गरेकै दिनदेखि बिजुली नबल्दा मन्दिरभित्र टर्च बालेरै पूजाआजा गर्नु परिरहेको पुजारी रमेश न्यौपानेले बताए।

उनका अनुसार मन्दिरमा ४० लाखको सौर्य ऊर्जा जडान गरिएको छ। मन्दिरमा पूजाआजा गर्न आउने धर्मावलम्बी उज्यालो भविष्यको कामना गर्दै पूजा आराधना गर्ने गर्दछन् तर विडम्बना भक्तजनहरु आफै अँध्यारोमै पूजापाठ गर्नुपर्ने बाध्यता रहेको छ।

उनले यस क्षेत्र लामो समयदेखि अन्धकारमा भएको सुनाए। गत जेठ महिनामा कर्णाली प्रदेश सरकारको उद्योग, वन तथा पर्यटन मन्त्रालयले डिभिजन वन कार्यालय हुँदै मन्दिरमा सौर्य ऊर्जा जडानको लागि रकम पठाएको थियो। वन कार्यालयले ठेकेदार मार्फत सौर्य ऊर्जा जडान पनि भयो तर बिजुली भने बलेन्। एक सय टहराको लागि बालिने भनिएको सौर्य ऊर्जा नबलेपछि मुख्य मन्दिर अन्धकार छ।

पुजारी न्यौपानेले गुनासो पोख्दै भने 'सिस्टममा खराबीका कारण बिजुली नआएको हुन सक्छ, सिस्टममा कहाँ, कहिले कसरी खराबी आइपुग्यो निगरानीसमेत गरेको देखिँदैन। ८ महिनादेखि अँध्यारोमै पूजाआजा चलाइरहेको छ। रातिको समय अँध्यारोमा पूजा गर्न निकै कठिन छ। मोबाइलमा चार्ज हुँदा मोबाइलको टर्च बालेर पूजाआजा गर्ने गरेका छौ। र चार्ज नहुँदा दियोको भरमा पूजा हुने गरेको छ।'

मन्दिरमा उज्यालोको व्यवस्था नहुँदा मोबाइलको टर्च बालेर जेनतेन पूजा चलाउनुको विकल्प नरहेको पुजारी न्यौपानेको भनाई छ।

स्थानीयका अनुसार मन्दिरमा राति ३ बजेदेखि पूजापाठ सुरु गर्नुपर्छ । तर त्यही बेलामा बत्ती हुँदैन। कहिलेकाहीँ सानो तिनो हावाहुरीले पनि बिजुली अवरुद्ध बनाउने स्थानीयहरूको गुनासो छ।आवश्यक पर्ने बेला बत्ती बल्दैन भने देखावटी रुपमा जडान भएको लाखौँ मूल्यको बिजुलीको कुनै काम नभएको पुजारी न्यौपानेले बताए।

चन्दननाथ भैरवनाथ गुठी समितिको कार्यालयका प्रमुख रत्नप्रसाद आचार्यका अनुसार गत जेठ महिनामा मात्र ४० लाख रुपैयाँ बराबरको सौर्य ऊर्जा जडान भए पनि काम भने गरेको छैन।

'न गुठी समितिमा वारेन्टी कार्ड नै दिइएको छ, न त कुनै ग्यारेन्टी। जोडेको दिनदेखि सौर्य ऊर्जाले काम नगर्नु राम्रो होइन्।' उनले भने।

यति बेला बिजुली नहुँदा मन्दिरमा जोडिएका सबै विद्युतीय उपकरण बन्द छन्। गुठी समितिले राखेका प्राविधिक चक्रबहादुर महतले इन्भटरले पनि काम नगर्दा बिजुली बाल्न नसकिएको बताए। 'इन्भर्टर बिग्रेको भन्दै मर्मत गरेर समेत ल्याइयो। तर बिजुली बल्न सकेको छैन।' उनले भने।

गुठी समितिले पटक पटक सौर्य ऊर्जा सञ्चालनका बारेमा डिभिजन वन कार्यालय जुम्लालाई पत्राचार गरेको थियो। तर वन कार्यालयबाट कुनै प्रतिक्रिया आएको छैन। बिजुली नहुँदा सिसी क्यामरा सञ्चालनमा छैनन्। मन्दिरको प्रभावकारी सुरक्षाको लागि भन्दै राखिएको सिसी क्यामरा नै बन्द हुँदा असुरक्षा बढ्दै गएको गुठी समितिले जनाएको छ।

समितिका प्रमुख आचार्यका अनुसार ८ वटा सिसी क्यामरा, एक ल्यापटप, डेक्सटप र फोटोकपी मेसिन पनि बिजुली अभावकै कारण सञ्चालनमा आएका छैनन्। जस कारण दैनिक कामकाज समेत प्रभावित बनेको छ। 

मन्दिरमा सुरक्षाका लागि चाहिने उपकरण सबै छन्। प्रहरी पनि खटाइएको छ तर विद्युतीय उपकरण चलाउने बिजुली नहुँदा समस्या देखिएको छ।

गुठी समितिले भने मन्दिरमा बिजुली नहुँदा हुने क्षतिको सम्पूर्ण जिम्मेवार वन कार्यालय र ठेकेदार हुनुपर्ने तर्क गरेको छ। बिजुली नभएको मौका छोप्दै २०७३ मंसिर ११ गते राति चन्दननाथ मन्दिरको मुख्य मूर्तिसहित २८ वटा मूर्ति चोरी भएका थिए। अहिलेसम्म पुरातात्त्विक महत्त्वका दुई मूर्ति भेटिएका छैनन्।

सोलारको रेखदेखका लागि भन्दै चक्रबहादुर महतलाई गुठी समितिले प्राविधिक कर्मचारीका रुपमा राखिएको छ। उनको तलब मासिक ८ हजार तोकिएको छ। तर बिजुली नबल्दा प्राविधिक कर्मचारीलाई तबल खुवाउने काम मात्रै भएको स्थानीयको आरोप छ।

प्रमुख जिल्ला अधिकारी तथा मन्दिरका संरक्षण मुकेशकुमार केसरीले भने आफूलाई मन्दिरमा बिजुली बले नबलेको कुनै जानकारी नभएको प्रतिक्रिया दिए। उनले नबलेको खण्डमा सौर्य ऊर्जा बाल्न तत्काल निर्देशन दिने बताए।

'मन्दिरमा बिजुली बालिनुपर्छ। झलमल्ल उज्यालोमा पुजारीले पूजापाठ गर्न पाउनुपर्छ। तत्काल म पहल गरिहाल्छु।' उनले भने।

गुठी समितिका प्रवक्ता जीतबहादुर महतका अनुसार बिजुली आएको बेला सोलार बन्द गर्ने र बिजुली नआएको बेला सौर्य ऊर्जाको प्रयोग गर्ने व्यवस्था मिलाइएको थियो। तर इन्भर्टर बिग्रँदा समस्या आएको हो। उनका बताए अनुसार डिभिजन वन कार्यालयले तत्काल अर्को इन्भर्टर किनेर राख्ने जनाएको छ।

प्रकाशित: १६ माघ २०७९ ०९:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App