१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

राजमार्गमा ‘एनिमल एम्बुस’

राजमार्गमा छाडा चौपाया । तस्विर: राजु अधिकारी

झापा–सडक असुरक्षा बढेकोमा सधैँ चिन्ता जाहेर गर्ने तर आफैं भने राजमार्गमा ‘चौपायाको एम्बुस’ थाप्ने सर्वसाधारणको कमजोरी दुर्घटना बढाउने अर्को कारक देखिएको छ। राजमार्ग नजिकै घर भएकाले जथाभावी छाडिदिने चौपायाकै कारण झापामा बारम्बार दुर्घटना भएका छन्। त्यसमा परेर ज्यान गुमाउनेको संख्या पनि धेरै छ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत झापाको माइधारदेखि लखनपुरसम्मको सडक क्षेत्र अत्यधिक दुर्घटना हुने खण्डका रुपमा चिनिन्छ। प्रहरीका अनुसार जंगल नजिकैको यो खण्डमा हुने दुर्घटनामा छाडा चौपाया नै मुख्य कारण हुने गरेका छन्। ‘त्यो खण्डमा सवारी दुर्घटनाको दर धेरै छ’, जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक ढुण्डीराज गिरी भन्छन् ‘त्यसमध्ये ९० प्रतिशतभन्दा बढी छाडा चौपायाले गर्दा भएका छन् ।’ उनका अनुसार यही साताको पाँच दिनमा पटक–पटक राजमार्गको चौपाया हटाउन प्रहरी नै खटाउनु परेको छ।

दुई महिना अघि मात्रै पश्चिमबाट पूर्वतिर गइरहेको एउटा यात्रु बसले माइधार नजिकै भैँसीलाई ठक्कर दियो । भैँसी ठहरै भयो । भरी यात्रु बोकेको र तीव्र गतिमा भएको बस तत्कालै नियन्त्रित हुन सकेन । अनियन्त्रित बस पश्चिमतिर गइरहेको बाइकलाई ठक्कर दिँदै रुखमा गएर ठोक्कियो । बाइकमा सवार दुई जनाको ज्यान घटनास्थलमै गयो

अनियन्त्रित गतिमा सडकमा हुइँकिने सवारीसाधन कहिले छाडा चौपाया जोगाउन खोज्दा अनि कहिले तिनै चौपायामा ठोक्किएर दुर्घटनामा परेका उदाहरण धेरै छन् । दुई महिना अघि मात्रै पश्चिमबाट पूर्वतिर गइरहेको एउटा यात्रु बसले माइधार नजिकै भैँसीलाई ठक्कर दियो । भैँसी ठहरै भयो । भरी यात्रु बोकेको र तीव्र गतिमा भएको बस तत्कालै नियन्त्रित हुन सकेन ।

अनियन्त्रित बस पश्चिमतिर गइरहेको बाइकलाई ठक्कर दिँदै रुखमा गएर ठोक्कियो । बाइकमा सवार दुई जनाको ज्यान घटनास्थलमै गयो, बसका एक दर्जन यात्रु घाइते भए । ‘त्यो दुर्घटना राजमार्ग छाडा छोडिएको भैँसीका कारण भएको देखिन्छ’, ट्राफिक प्रमुख गिरीले भने ‘आफ्नो गल्ती महसुस भएरै होला भैँसीधनी क्षतिपूर्ति दाबी गर्नसमेत आएनन् ।’

अघिल्लो वर्ष जिल्लामा भएका १ सय ९८ दुर्घटनामध्ये ४० प्रतिशत माइधार–पाडाजुँगी खण्डमै भएका छन्। त्यसको धेरै कारण छाडा चौपाया नै हुन् । मुलुकको प्रमुख राजमार्ग, त्यसको पनि सधैँ व्यस्त हुने सडकखण्ड अनि प्रहरीदेखि सवारीसाधनका चालकहरुसम्मैले ‘दुर्घटनाग्रस्त क्षेत्र’ स्वीकार गरेको ठाउँमै स्थानीयले लापरबाही गरिरहेका छन् ।

राजमार्गमा कुखुरा मर्दा पनि गाडी रोकेर क्षतिपूर्ति माग्नेहरुले आफ्नो कमजोरी सुधार्ने पहल चाहिँ कहिल्यै नगरेको चालकहरु बताउँछन्। ‘यो सडकमा सधैँ चौपायाको एम्बुस हुन्छ’, धरान–काँकडभिट्टा रुटमा १३ वर्षदेखि बस चलाइरहेका झापा बुट्टाबारीका चालक काजीमान तामाङले भने ‘यहाँ पूरै होश गरिएन भने जुनसुकै बेला दुर्घटना हुनसक्छ ।’ उनका अनुसार यो यहाँको पुरानै समस्या हो । पूर्व–पश्चिम राजमार्ग आसपासमा रहेका झापाका सतासीधाम, तोपगाछी, लखनपुर, धरमपुर क्षेत्रका पशुपालक किसानले आाफ्ना चौपाया छाडै छोडिदिने गरेका छन्।

पूर्व–पश्चिम राजमार्गको माइधारदेखि लखनपुरसम्मैको लामो क्षेत्रफलमा फैलिएको रतुवामाई वृक्षारोपण आयोजनाको जंगल स्थानीयबासीको घाँस–दाउराको मुख्य स्रोत हो । त्यसबाहेक उनीहरुले पालेका चौपायाको मुख्य चरन क्षेत्र पनि यही जंगल हो ।

घरबाट डोरी खोलेर छाडेपछि आफै जंगल छिर्ने र अघाएर बासमा फर्कने चौपायाका कारण स्थानीयबासी सजिलै पशुपालन गरिरहेका छन् । तर, उनीहरुले भोगेको सजिलो अन्य धेरैलाई भने जीवनकै काल सावित हुँदै आएको छ । सडकमा छाडिएका हेरालु बिनाका छाडा चौपायाका कारणसवारी दुर्घटना हुने क्रम बढेको छ।

स्थानीयबासीको यस्तो अटेरीबाट रतुवामाई वन आयोजना तथा प्रहरी हैरान बनेको छ । ‘हामीले सधैँ चौपाया छाडा नछाड्न आग्रह गरेका छौं तर कोही मान्दैन’, रतुवामाई वनका एक कर्मचारीले भने ‘यस्तो थेत्तरोपनले सडक र वन असुरक्षा दुवै बढेको छ।’ ती कर्मचारीका अनुसार वन क्षेत्रमा चरनमा जाने चौपायाले बोटविरुवासमेत मास्ने गरेका छन् ।

तर, स्थानीयताको हवाला दिँदै सर्वसाधारण अटेरी गर्छन्। स्थानीयबासी चाहिँ उल्टै ठूलो कुरा गर्छन्। ‘नजिकै रहेको जंगलमा गाईवस्तु चराउन पनि नपाउने ?’, शिवसताक्षीका चन्द्र मगर भन्छन् ‘गाईवस्तु सडकमा देख्दा गाडीवालाले स्लो गरे भइहाल्छ नि !’ उनीहरुको यस्तै थेत्तरोपनले सडक असुरक्षा बढाएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्यांकमा सबैभन्दा बढी दुर्घटना बस, ट्रक बाइक र ट्याक्टरको छ । मुख्य राजमार्गका अधिकांश सडकखण्डमा दुर्घटना भएका छन् । तर, माइधारदेखि पाडाजुँगीसम्मको क्षेत्रमा भएका झण्डै शतप्रतिशत दुर्घटना सडकका छाडा चौपायाका कारण भएका छन् । राजमार्गको चौपाया अवरोध हटाउन भनेर अघिल्लो वर्ष अभियान नै चल्यो ।

प्रहरी, रतुवामाई वन, प्रशासन तथा स्थानीय य्ुवाको पहलमा थालिएको उक्त अभियान छ महिना पनि टिकेन । ‘हाम्रो क्षेत्रमा दुर्घटना घटाउने पवित्र उद्देश्यले थालिउको अभियानमा स्थानीयबासीकै गम्भीर असहयोग भयो’, पाडाजुँगीका युवा हेमन्त काफ्लेले भने ‘गाईवस्तु जथाभावी छाड्ने क्रम रोकिएन । दिक्दार भएर हामी पछि हट्न बाध्य भयौं ।’

 

प्रकाशित: १३ भाद्र २०७३ ०९:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App