३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml
समाज

पर्वले जोडिँदै पहाडी-मधेसी

काठमाडौ कालीमाटीकी ऐरिका क्षेत्री र जनकपुरबाट राजधानी आएर बसेकी अंजली झासंगै तस्बीर खिचाउँदै। तस्बिर : उपेन्द्र लामिछाने

काठमाडौं- पतिको दिर्घायु कामना गर्दै हिन्दु धर्मालवम्बी महिलाले हरेक वर्ष मनाउने हरितालिका तिज पर्व यसपालि भदौ १९ गते परेको छ। सन्तानको दिर्घायु कामना गर्दै तराईका महिला भने असोज ७ गते जितिया पर्वमा रमाउनेछन्। दुवै पर्व केही दिन टाढै छन् तर शनिबार काठमाडौंमा भेला भएका यी दुई समुदायका महिलाले एकै स्थानमा एकैपटक दुवै पर्वको रौनक भरे।

जनकपुरिया समाजद्वारा आयोजित 'तिज–जितिया दर तथा ओठगन कार्यक्रम' मा दरको मुख्य परिकार खिर र जितियाको 'मडुवा' खुवाइयो।

राजधानी बस्दै आएका जनकपुर क्षेत्रका पहाडी तथा तराईमूलका महिला सहभागी कार्यक्रममा दुवै समुदायका महिला आपसमा रमाउँदै नाचगान गरे।  

मैथिल समुदायका घुम्टो लगाएका महिलाले 'तिजको रहर आयो बरी लै' गीतमा पहाडी महिलासँगै कम्मर मर्काए। पहाडीमूलका महिलाले पनि जितिया पर्वबारे जानकारी लिनुका साथै उक्त समयमा 'प्रसादी' का रुपमा प्रयोग हुने ओठगनमा रमाए। पहाडी महिलाले तराईवासी महिलासँग मिलेर तस्बिर खिचाएको दृश्य होस् या आपसमा रमाउँदै कुराकानी गरेको माहोल, हेर्दै रहरलाग्दो देखिन्थ्यो।

साडी, ब्लाउज र लेहेंगामा सजिएका महिलाको सरोबरी हाँसोले सिंगो कार्यक्रम स्थलमा रौनक पोखियो। कार्यक्रममा धनुषा, महोत्तरी र सर्लाहीका महिलाको बाक्लो उपस्थिति थियो।

कार्यक्रम संयोजक सञ्जय ढुंगानाले संस्कृतिको माध्यमबाट पनि फरक समुदायका मानिस नजिकिन सक्ने सुनाए। 'सांस्कृतिक घुलनसँगै सामजिक सद्भाव बढाउने हाम्रो उद्देश्य हो,' उनले भने, 'यहाँ सबै समुदायका मानिस रमाए।'

२४ वर्षदेखि राजधानी बस्दै आएकी जनकपुरकी अञ्जली झाले यस्तो मेलले समाजलाई अगाडि बढाउने सुनाइन्। 'हामी त उता पनि यता पनि मिलेरै बसेका हौं,' उनले भनिन्, 'यस्ता कार्यक्रमले मिलापलाई झन् मजबुत बनाउनेछ।'

साथीभाइबाट अहिलेदेखि नै तिजको दर खाने निम्ता आइसकेको उनले सुनाइन्। 'हामी दर खान्छांै, अनि जितिया पर्वमा उनीहरुलाई पनि हाम्रो प्रसादी बाँड्छौं,' उनले भनिन्, 'चाडपर्व मिलेर मनाउँदा खुसी बढ्छ।'

राजधानीमा शिक्षण पेसामा संलग्न जनकपुरका दीपेन्द्रप्रसाद साहले तिज–जितिया पर्वको संघारमा गरिएको यो कार्यक्रमको महत्वपूर्ण रहेको सुनाए। 'आपसमा सुख–दुःख साटेर महिला रमाएको हेर्न पाउँदा खुसी लाग्यो,' उनले भने, 'कसैले हामीलाई फुटाउन खोजे पनि हामीलाई एकतामा बाँध्ने थुप्रै धागा छन्।'

नेपाल पत्रकार महासंघका पूर्वसभापति तथा जनकपुरियाका सल्हाहकार धर्मेन्द्र झाले यस्ता कार्यक्रमले समाजमा राम्रो सन्देश दिने  सुनाए। सामाजिक सद्भावका साथै सांस्कृतिक उत्थानका लागि यस्ता कार्यक्रमले सघाउने उनले बताए। कार्यक्रमको प्रायोजन लक्की ज्वेलर्सले गरेको थियो।

के हो जितिया?

मैथिल समुदाय र थारु जातिका महिलाले सन्तानको दिर्घायु कामना गर्दै  मनाइने यो पर्व  असोज कृष्ण अष्टमी तिथिबाट सुरु नवमीमा सकिन्छ। व्रत बस्नेले पानी पनि पिउन नपाउने, थुक पनि निल्न नपाउने र नवमी तिथिपछि मात्र भोजन गर्न पाइने नियम छ।

सप्तमी तिथिको उत्तरार्द्धमा खासगरी मध्यरात्रिको समयमा व्रतालु महिलाका साथै परिवारका सम्पूर्ण सदस्य दही–च्युरा, मिठाइ, फलफूललगायत भोजन सामग्री खाने गरिन्छ। यसलाई 'ओठगन' भनिन्छ।

के हो तिज?

तिज हिन्दु नारीले मनाउने एउटा महत्वपूर्ण चाड हो। यो चाड भा›शुक्ल द्वितीयादेखि पञ्चमीसम्म चार दिन मनाइन्छ। तिजमा भगवान शिवको आराधना गरिनुका साथसाथै नाचगान, मनोरञ्जनसमेत गरिन्छ।  यस पर्वमा पनि जितिया पर्वजस्तै एक दिन निराहार व्रत बसिन्छ। व्रतको अघिल्लो रात खाइने परिकारलाई दर भनिन्छ।

प्रकाशित: १२ भाद्र २०७३ ०२:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App