२४ असार २०८१ सोमबार
image/svg+xml
समाज

मुग्लिन बस दुर्घटना मृतक २२ मध्ये २१ को सनाखत

चितवन- नारायणगढ-मुग्लिन सडक खण्डको चण्डिभञ्ज्याङ-५, कालिखोला जनिक शुक्रबार बिहान सबेरै भएको यात्रु बस दुर्घटनामा परेर निधन भएका २२ जनामध्ये २१ जनाको सनाखत भएको छ। सनाखत भएकामध्ये २० जनाको शब उनीहरुका परिवारलाई सतगतका लागि जिम्मा लगाएको चितवन जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

दुर्घटनाका मृतकमध्ये एकजना महिलाको मात्रै सनखत नभएको प्रहरीको भनाइ छ। त्यस्तै दुर्घटनामा निधन भएका बसका चालक कास्कि जिल्ला लेखनाथ-१, बस्ने ३३ वर्षीय लोकराज पौडेलको शव पनि परिवारलाई जिम्मा लगाउन बाँकी रहेकेा प्रहरीको भनाइ छ। रौतहटको गौरबाट पोखरा जाँदै गरेको ग १ ख ३७०९ नम्बरको यात्रु बस शुक्रबार बिहान साढे तीन बजे दुर्घटनाग्रस्त भएको थियो।

सडकबाट चिप्लेर भीरमा बजारिँदै लगभग दुई सय मिटर तल त्रिशुली नदीमा पुगेको बसमा ४२ जनाको हाराहारीमा यात्रु रहेको हुन सक्ने प्रहरीको अनुमन छ। दुर्घटनामा परेर निधन हुनेमा तीन महिला र १९ जना पुरुष छन्। त्यस्तै १६ जना घाइतेमध्ये नौजना पुरुष, दुईजना महिला, तीनजना बालक र दुईजना बालिका रहेको चितवन प्रहरीले जनाएको छ। केही यात्रु हराइरहेको प्रहरीको अनुमान छ।

घाइतेमध्ये १२ जनाको चितवन मेडिकल कलेज र चारजनाको पुरानो मेडिकल कलेजमा उपचार हुँदै गरेको चितवन प्रहरीको विवरणमा उल्लेख छ।

ट्रक त्रिशुलीमा खस्दा आठ घाइते

नारायणगढ मुग्लिन सडक खण्डकै जलबिरेमा शनिबार बिहान एउटा ट्रक सडकबाट तल त्रिशुली नदीमा खस्दा चालकसहित आठजना घाइते भएका छन्। चितवन जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना ३ ख ४५४६ नम्बरको ट्रक बिहान सात बजे तिर नदीमा खसेको थियो। हिजोको दुर्घटना स्थल कालिखोला नजिकै जलबिरे रहेको छ।

दुर्घटनामा परेर ट्रकका चालक चितवन माडी-१, घर भएका ३५ वर्षीय प्रकास थापालगायत ट्रकमा रहेका अन्य सातजना घाइते छन्। अरुको अवस्था सामान्य रहे पनि चितवनमा बस्ने भारतीय नागरिक २७ वर्षीया ज्योति शर्माको अवस्था केही गम्भिर रहेको चितवन प्रहरीले जानकारी दिएको छ।  

प्रकाशित: ११ भाद्र २०७३ ०५:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App