२५ असार २०८१ मंगलबार
image/svg+xml
समाज

माछाखोला गुम्दा सडक: दुर्गमको दुःख देखाएर काम गर्दैनन् ठेकेदार

माछाखोला–गुम्दा सडक खण्ड

निर्माण व्यवसायीले काम नगर्न विभिन्न बाहना बनाउँछन्। कुनैपनि पूर्वाधारको जिम्मा लिँदा वा टेण्डर दाखिला गर्दा नै कस्तो ठाउँमा काम गर्नुपर्छ, योजना संचालन हुने ठाउँ कहाँ हो? त्यहाँ निर्माण सामग्री, कामदारको अवस्था कस्तो छ? भन्ने यकिन गरेर टेण्डर दाखिला गर्छन। टेण्डर लिएपछि समयमै काम नगर्ने कम्पनी र व्यवसायीले के बाहना बनाउँदा आफ्नो गल्ती ढाकछोप गर्न सकिन्छ भन्ने बाहना बनाउन थाल्छन्। यस्तै भएको छ गोरखाको धार्चे गाउँपालिकाको केन्द्र माछाखोलादेखि गुम्दा जोड्ने सडक।

२०७७ भदौ १ गते १७ किलोमिटर सडक ग्राबेल गर्ने जिम्मा लिएको अमर/पिआर/नाना जेभीले भौगोलिक बिकटताका कारण काम गर्न नसकेको जनाएको छ। गोरखा स्थित पूर्वाधार कार्यालयमा उसले दुर्गम भएकाले काम गर्न समस्या भएको, भु धरातल कमजोर भएकाले काम गर्न सहज नभएको भन्दै म्याद थप गराएको छ।

३२ करोड १० लाखमा ग्राबेल गर्ने जिम्मा लिएको कम्पनीले अहिले सम्म करिब ६० प्रतिशत मात्रै प्रगती गरेको छ। ‘समय सकिँदा यो प्रगती कम हो’ पूर्वाधार कार्यालय गोरखाका प्रमुख ओमराज ढुङ्गानाले भने ‘काम छिटो गर्न निर्माण कम्पनीलाई बारम्बार दवाव दिइरहेका छौँ।’

निर्माण कम्पनीका इन्जिनियर अमृत गौतमले भने,‘यो आर्थिक वर्षमा १० किलोमिटर ग्राबेल गर्ने लक्ष्य छ।’ सडक खण्डको भौगोलिक बनावट कमजोर रहेकाले काम छिटो गर्न नसकिएको उनले बताए। ‘दुर्गम छ, सँधै काम गर्न सकिँदैन, धरातल कमजोर भएकाले सहज किसिमले काम गर्न सकिएको छैन’ इन्जिनियर गौतमले भने। यो गोरखाको उच्च पहाडी भाग हो। अहिले पनि धार्चे र चुमनुब्री गाउँपालिकाको केन्द्रसम्म सहज सडक पहुँच छैन। गण्डकी प्रदेश सरकारले सबै पालिकामा सहज सडक पहुँच गत पाँचवर्ष भित्र पु¥याउने घोषणा गरेको थियो। गोरखाको चुमनुब्री गाउँपालिकाको केन्द्र सिर्दिबासमा सडक पुगेकै छैन भने धार्चेको केन्द्र माछाखोलामा सडक पुगे पनि सहज छैन।  

गुम्दाका वडा अध्यक्ष भिमप्रसाद गुरुङले गाउँपालिकाको केन्द्र आउजाउमै समस्या भएको बताए। ‘गत दशैँमा निर्माण सकिन्छ भनेका थिए, अहिलेसम्म पुरा भएको छैन’ उनले भने आउँदो जेठमा सकिन्छ भनेका छन् तर खै।’ गुम्दादेखि माछाखोला ट्याक्टर र मोटरसाईकल मात्रै आउजाउ गर्ने गरेको उनले बताए। ‘गाडी आउजाउ गर्न मुस्किल छ’ उनले भने ‘काम पहिल्यै सक्नुपर्ने थियो, हामीले भनेका भन्यै छौँ।’ वडाबासीलेपनि गुनासो गरिरहेको उनले बताए।

सडक सहज नहुँदा लाप्राक, गुम्दा लगायत ठाउँका सर्वसाधारणलाई गाउँपालिकाको केन्द्र माछाखोला आउजाउ गर्छ असहज भएको छ। बारपाकदेखि लाप्राक खण्ड र गुम्दादेखि माछाखोला खण्ड स्तरोन्नती हुने हो भने बारपाकदेखि माछाखोला जोडिनेछ। उक्त रुट भएर आउजाउ गर्न सर्वसाधारणलाई सहज हुनेछ। मनास्लु पदमार्ग जाने पर्यटक लाप्राक हुँदै जान सक्छन्। 

प्रकाशित: ८ माघ २०७९ १२:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App