८ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

'अति भार'ले बस खस्यो, ३३ को मृत्यु

बनेपा- खचाखच यात्रु, भरिभराउ सामान। भिरमाथिको पहरे साँघुरो कच्ची बाटो।  त्यसमाथि लगातारको वर्षाले चिप्लो न चिप्लो। काठमाडौंबाट काभ्रेको कोसीपारि, मादनकुँडारीका लागि गुडेको बसले बिर्तादेउराली–९, खहरेखोला गाउँनजिकैको उकालो तान्न सकेन।

बस अगाडि बढ्नुसाटो पछाडि हट्न थालेपछि चालक आत्तिए। हत्तपत्त उनले सहचालकलाई ओट हाल्न अह्राए।

सहचालक ओर्लिएर भित्तातिर ओट खोज्न थाले, फर्केर हेर्दा देखे– बस छेउबाट उल्टा खान थालिसकेको थियो।

राजधानीको पुरानो बसपार्कबाट सोमबार बिहान ७ बजे छुटेको अरिनको यातायात सेवा समितिको बस ओभरलोडले अनियन्त्रित भई अपराह्न १ बजे खहरेखोला गाउँको भिरबाट खस्दा ३३ जनाको मृत्यु भएको छ। घटनामा ३९ घाइते छन्।

प्रहरीले घटनास्थलबाट ३३ जनाको शव संकलन गरेको जिल्ला प्रहरी प्रमुख राजेशनाथ बास्तोलाले जानकारी दिए।

काभ्रे प्रशासनले चिकित्सकलाई घटनास्थलमै बोलाएर पोस्टमार्टम गरिने बताएको छ। गम्भीर घाइते २६ जनालाई नेपाली सेनाको हेलिकप्टरबाट राजधानीस्थित त्रिवि शिक्षण अस्पताल, ट्रमा सेन्टर र दिर्घायु अस्पताल लगिएको छ।

बाँकी १३ घाइतेको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ। घाइते हुनेमा अढाई वर्षीया बालिकादेखि ८५ वर्षे वृद्धसम्म छन्। अधिकांशको मेरुदण्ड, टाउको, हातखुट्टामा चोट छ।

दिनभर पानी परेकाले शव संकलन र सनाखत गर्न कठिनाइ भएको घटनास्थलबाट प्रजिअ बालकृष्ण पन्थीले जानकारी दिए।

'राति अबेरसम्म भए पनि खोजी कार्य जारी राख्छौं तर भूधरातल ठाडो भिर भएकाले काम गर्न कठिनाइ भइरहेको छ,' उनले भने।

मादनकुँडारीसम्म प्रत्येक दिन एउटा मात्र बस चल्ने भएकाले यात्रु खचाखच रहेको स्थानीय शिक्षक नेत्रप्रसाद खरेलले जानकारी दिए। बस खसेको खबर आएलगत्तै स्कुलबाट घटनास्थलमा उद्धारका लागि पुगेको उनले बताए।

धेरै ठाउँ पहरो फोरेर बनाइएको साँघुरो बाटो भएकाले कोसीपारि यात्रा सधैं जोखिमपूर्ण रहेको बिर्तादेउराली गाविस पूर्वअध्यक्ष बाबुकृष्ण पन्तले जनाए। त्यसमाथि एउटै मात्र बस चल्ने भएकाले सधैं भिड हुन्छ। 

'सोमबारको दुर्घटनामा समेत बसमा ७० भन्दा बढी यात्रु रहेछन्। जनजागृति प्रावि कटेर खहरेखोला गाउँ पुग्दानपुग्दै दुर्घटना भएछ', पन्तले थपे, 'अत्यधिक यात्रु बोकेको बस अनियन्त्रित भएर खहरे खोलानजिकै सडकबाट तल खसेको रहेछ,' उनले भने।

काठमाडौं पुरानो बसपार्कबाट बिहान ७ बजे छुटेको सो बस अपराह्न १ बजे दुर्घटनामा परेको हो। बनेपामा पुगेपछि बसभित्र चामल, मैदा र सिमेन्ट लोड गरिएको थियो। खहरे खोलाको उकालो लाग्दै गर्दा ओभरलोडका कारण बसले नतानेपछि चालकले ब्याक गरेर हुत्याउन खोज्दा बस खसेको बिर्तादेउराली–६ का घाइते विनोद न्यौपानेले बताए।

'बस खचाखच र छतमा १० जना जति यात्रु थिए। मान्छेसँगै धेरै सामान पनि बसभित्र र छतमा थियो। ओभरलोड भएरै बसले तान्न नसकेको हो,' उनले भने। न्यौपानेका अनुसार छतमा रहेका यात्रु हाम्फालेर बाँच्न सके पनि बसभित्रका यात्रुले निस्कने मौकै पाएनन्।

काभ्रेको दोलालघाटसम्म पीच सडक भए पनि कोसीपारिको सबै सडक कच्ची छ। यही ग्रामीण सडक लक्षित गर्दै अरनिको यातायातले दोलालघाट हुँदै दुई वटा मुख्य सडकमा बस सञ्चालन गर्दै आएको छ।

माथिल्लो बाटो सुरक्षित भए पनि वर्षायाममा चिप्लो र अप्ठेरो हुने भएकाले समितिले तल्लो बाटो कोलाँतीभुम्लु–बिर्तादेउराली–कात्तिकेदेउराली हुँदै मादन–कुँडारीसम्म नियमित बस चलाउँदै आएको छ।

समितिले दशकअघिदेखि कोसीपारिका विभिन्न रुटमा बस चलाउँदै आएको छ। कच्ची र साँघुरो बाटो भएकाले उक्त रुटमा सन् २०१० भन्दा पुराना मोडेलका बस चलाउन नदिने नियम रहेको समितिले जनाउँदै आएको छ।

'आज दुर्घटना भएको बस सन् २०११ मोडेलको हो। बसचालक नै बसधनी थिए। हामीले जुन रुटमा बस चल्ने गरेको हो, सोही रुटका धनी, चालक र सहचालकलाई प्राथमिकता दिँदै आएका छौं,' समितिका अध्यक्ष जितबहादुर भारतीले भने।

दुर्घटना भएको बसका चालक र धनी रामेछाप, लखनपुरका अर्जुन गौतम हुन्। चार वर्षदेखि मादनकुँडारी रुटमा बस चलाउँदै आएका उनका सहचालक सहोदर कमल हुन्। दुर्घटनामा अर्जुनको हात भाँच्चिएको छ भने कमल सकुशल छन्।

प्रकाशित: ३२ श्रावण २०७३ ०१:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App